भैरहवा । कोटहिमाइ गाउँपालिकाको १२ औ गाउँ सभा आइतबार सम्पन्न भएको छ । निर्धारित समय भन्दा केही ढिला गरि गाउँसभा सम्पन्न गरेको हो । असार १० गते भित्र गाउँसभा गर्नुपर्नेमा पालिकाको आन्तरिक कारणले गर्दा ढिलो गरि असार ३१ गते मात्र भएको हो । पालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम एवम अनुमानित आय ब्यय समेत सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले कोटहिमाइको समस्याको रुपमा रहेको सिंचाइलाई दिर्घकालिन ब्यवस्थापनमा जोड दिइने बताए ।
"यसको लागि विद्युत प्राधिकरणको सहकार्यमा सिंचाइको लागि निशुल्क विद्युतको ब्यवस्था गरिनेछ ।" त्रिपाठीले भने उनले पालिकाको समग्र बिकासको लागि भौतिक पुर्वाधारमा मात्र नभइ कृषि, स्वास्थ्य, शिक्षा एवम सामजिक बिकासको नितिलाइ पनि अगाडी बढाएको बताए । उनले गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइने एवम गाउँपालिका भित्रका बर्थिङ सेन्टरमा सुत्केरी गराउने गर्भवती महिलालाई सुत्केरी हुन स्वास्थ्य संस्थामा जाँदा र सुत्केरी पश्चात घरमा फर्कदा एम्बुलेन्स शुल्क नलाग्ने व्यवस्था मिलाईने बताए ।
"आमा र शिशुको स्वास्थ्यलाई ध्यान राखि बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन गर्ने र बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसुति गराइएका गाउँपालिका भित्र स्थायी बसोबास भएका सुत्केरी महिलालाई कार्यविधि बनाई श्रावण १ गते देखि नै कार्यान्वयन गर्ने गरी उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम संचालन गरी पोषण सामाग्री उपलब्ध गराउने नीति लिईनेछ ।" त्रिपाठीले भने "गुणस्तरीय शिक्षा कोटहीमाईको प्रतिबद्धता" भन्ने मुल ध्येय सहित सबै बालबालिकालाई विद्यालयमा अनिवार्य पठाउँ, सिकाउँ र टिकाउँ भन्ने अभियान सहित सामुदायिक तथा धार्मिक विद्यालयहरुमा भौतिक पुर्वाधार विकाससँगै गुणस्तर वृद्धिमा जोड दिइने उनले बताए ।
कक्षा १० मा अध्ययनरत छात्राहरुलाई पठनपाठनमा प्रोत्साहन गर्न साईकल वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने एवम एसइइ परिक्षामा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ठ अंक ल्याउने विद्यार्थिहरुलाई पुरस्कारको व्यवस्थालाई निरन्तरता दिईने नीति पालिकाले लिएको छ । यस्तै गाउँसभाबाट कोटहीमाइ गाउँपालिकाले ४८ करोड ५७ लाख ५० हजार बराबरको बजेट पनि सार्वजनिक गरेको छ ।
बजेट सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले नेपाल सरकारको निशर्त वित्तिय समानिकरण अनुदान १२ करोड ६५ लाख, राजश्व बाँडफाँडबाट ९ करोड ८४ लाख ६२ हजार ४ सय, आन्तरिक आय तर्फबाट ५० लाख, वैंक मौज्दात अनुमानित आय रु २ करोड ६० लाख ८० हजार पाँच, संघीय सशर्त चालु अनुदान १७ करोड १२ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदानबाट ९१ लाख ९७ हजार, शसर्त अनुदानबाट रु ९१ लाख ५० हजार, प्रदेश सरकारको राजश्व बाडफाडबाट रु ५० लाख ६० हजार ५ सय ९५, नदीजन्य श्रोतको वाडफाडबाट ५१ लाख र समपूरक अनुदान संघबाट ५० लाख, प्रदेश सरकार समपूरक अनुदानबाट १ करोड र जिल्ला समन्वय समिति अनुदानबाट १ करोड ५० लाख गरी कुल जम्मा रकम रु ४८ करोड ५७ लाख ५० हजारको बजेट रहेको बताए ।
कुल अनुमानित आयबाट पालिकाको प्रत्येक वडालाई १ करोड १५ लाखको दरले जम्मा ८ करोड ५ लाख विभिन्न शाखाहरुमा १ करोड ६६ लाख प्रशासनीक खर्च तर्फ ६ करोड ९५ लाख, समपूरक कोषको लागि ४ करोड ५ लाख र पालिका तर्फ रु ६ करोड ८३ लाख, सशर्त तर्फ १९ करोड ५३ लाख ५० हजार र जिल्ला समन्वय तर्फ १ करोड ५० लाख गरी कुल जम्मा ४८ करोड ५७ लाख ५० हजार रुपैया विनियोजन गरेको उनले बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उप प्रमुख राम कृपाल धवलले नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजान आग्रह गरे । गाउँपालिकाले उत्कृष्ट नीति एवम कार्यक्रम ल्याएकोले यो कार्यान्वयन भए मात्र यसले सार्थकता पाउने उनले बताए ।
उनले आवश्यकताको आधारमा बजेट बनाउन सुझाव दिए । "बिद्यार्थीलाई कपिको आवश्यकता हुन्छ, उसलाइ डेस्क बेन्च दिइएको हुन्छ र त्यसको प्रयोग हुदैन।" धवलले भने " यसैले कसलाइ के आवश्यक छ सो बुझेर मात्र कार्यक्रम बनाउ ।" कार्यक्रममा पालिकाका उपाध्यक्ष शुसिला कुमारी यादव, प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्तव, स्थानिय गुरुवचन यादव, रामगणेश पाल, बिपद ब्यवस्थापन सन्जालका राष्ट्रिय अध्यक्ष जगन्नाथ यादव, वडा नम्बर १ का वडा अध्यक्ष राजेश गुप्ता, वडा नम्बर ५ का वडा ,अध्यक्ष सन्जय कुमार सैनी लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन अजय सिंह एवम स्वागत सनोज कुमार चौधरीले गरेका थिए ।
प्रतिक्रिया