भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त (नो होम डेलिभरी) स्थानीय तह घोषणा भएको छ । यो भनेको यो पालिकामा घरमा प्रसुति हुने महिलाको संख्या शून्य हुनु हो । शुक्रबार एक कार्यक्रमका बिच जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले सम्मरीमाइलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त (नो होम डेलिभरी) स्थानीय तह घोषणा गरेको छ ।
कार्यक्रममै सम्मरीमाई गाउँपालिकालाई पुर्ण खोप दिगोपना सुनिश्चितता, पोषणमैत्री स्वास्थ्य संस्था पनि घोषणा गरेको छ । पालिकामा रहेका असुरैना स्वास्थ्य चौकी, रोइनिहवा स्वास्थ्य चौकी र फरेना स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएका हुन। स्वास्थ्य कार्यालय रुपन्देहीका रतनलाल शर्माका अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिलाहरु कम्तिमा ९० प्रतिशत हुनुपर्ने, सुत्केरी भएका मध्ये कम्तिमा ९५ प्रतिशत महिलाहरूले दक्ष प्रसूतिकर्मीहरुको उपस्थितिमा स्वास्थ्य संस्थामै प्रसूति गराएको हुनुपर्ने, घरमा हुने प्रसृति शून्य हुनुपर्ने, तीन पटक सुत्केरी जाँच कम्तीमा ९० प्रतिशत गराएको पालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानिय तह घोषणा गर्न सकिन्छ । “यो सबै मापदण्ड सम्मरीमाइले पुरा गरेको कारण उसलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानिय तह घोषणा गरिएको हो ।” शर्माले भने
नेपालको संविधान तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ द्वारा प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हकको कार्यन्वयन गर्ने उद्देश्य सहित नो होम डेलिभरीको अवधारणा ल्याईएको जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले बताए । यस्तै यसको उद्देश्य गर्भावस्थादेखि सुत्केरी अवस्थासम्मको हेरचाह तथा सेवाको पहुँच, प्रयोग तथा गुणस्तर अभिवृद्धि गरी यसलाई निरन्तरता दिने पनि रहेको उनको भनाई छ । “घरमा हुने सुत्केरीलाई निरुत्साहित गर्दै शुन्यमा झार्ने तथा सुरक्षित प्रसूतिलाई संस्थागत गर्दै त्यसको दिगोपनाको सुनिश्चितता कायम गर्छ ।” चपाईले भने “दक्ष स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामै गुणस्तरीय सुत्केरी सेवा प्रदान गरी मातृ तथा नवजात शिशुको मृत्युदरलाई घटाउन पनि मद्दत पुग्छ ।” उनले अरु क्षेत्रमा पिछडिएको भए पनि स्वास्थ्य क्षेत्रमा मर्चवारले आफुलाई अब्बल बनाएको बताए ।
संस्थागत प्रसुति सेवाको लागि पालिकाले आकर्षक योजनाहरु लागु गरेको छ । स्वास्थ्य संस्थामा प्रसुती हुने महिलालालाई घ्यु लगायतको पोषण सामाग्री प्रदान गर्ने गरिएको छ । यसले पनि गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्था प्रति आकर्षित गरेको गाउँपालिकाका अध्यक्ष बिनोद श्रीवास्तवको दावी छ । यस बाहेक पालिकाले महिला स्वास्थ्य सेविका, स्वास्थ्यकर्मिहरु मार्फत गर्भवती महिला, सुत्केरी महिलाहरुको जानकारी लिई उनीहरुलाई सचेतना गराएको कारण पनि यो उपलब्धि पाईएको उनले बताए । सम्मारीमाइले गाउपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिएको श्रीवास्तावले बताए । रुपन्देहीमा सिद्धार्थनगर नगर पालिका पछि दोश्रो पालिका रहेको उनले बताए ।
चालु आर्थिक बर्षको जेठ मसान्त सम्ममा पालिकामा ७ सय १४ जना बालबालिकाको जन्म भएको सम्मरीमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले जानकारी दिए । यस्तै प्रोटोकल अनुसार ३ पटक प्रसुती जाँच गराएका महिलाको संख्या ६ सय ९८ जना रहेको उनले बताए । यस अवधिमा पालिकामा घरमा प्रसुती हुने महिला कोही नरहेको माझीले दावी गरे ।
पालिकाको उपाध्यक्ष कुमारी प्रियंका शाही सिंहको स्वागत एवम स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीको सन्चालनमा सम्पन्न कार्यक्रममा फेयरमेडका तुलसीराम खनाल, नेपाल रेडक्रस सोसाइटी मर्चवारका निरन्जन पाठक, बिपद प्रकोप ब्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कुर्मी, कार्यपालिका सदस्य बिक्रमजित लोध, वडा नम्बर ३ का वडा अध्यक्ष अदहम अलि देवान, वडा नम्बर १ का वडा अध्यक्ष शिव कुमार यादव लगायतले बोल्दै मर्चवार क्षेत्रले स्वास्थ्य सेवामा प्रदेशमै नमुना काम गरेको बताए ।
प्रतिक्रिया