काठमाडौँ । श्रीलंकामा आज (बिहीबार) बाट एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप २०२३ प्रतियोगिता सुरु हुँदैछ ।
प्रतियोगिताको पहिलो दिन समूह 'ए' का दुई खेल हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा श्रीलंका 'ए' ले बंगलादेश 'ए' को सामना गर्दै छ । खेल सिंहालिस स्पोर्टस क्लब कोलम्बोमा हुँदैछ ।
त्यस्तै, दोस्रो खेलमा अफगानिस्तान 'ए' र ओमान 'ए' भिड्दै छन् । खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा हुनेछ । दुवै खेल नेपाली समय अनुसार बिहान सवा १० मा सुरु हुनेछ ।
समूह 'बी' मा रहेको नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा पाकिस्तान 'ए' सँग खेल्नेछ । नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ।
दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।
अघिल्ला संस्करणमा एसिसीले टेस्ट राष्ट्रका यू-२३ टिमलाई सहभागी गराउने गरेको थियो। यसपटक भने टेस्ट राष्ट्रसहितका टिमले युवा खेलाडी समेट्दै 'ए' टिम बनाएका छन्। यो प्रतियोगिताका कुनै पनि खेललाई एकदिवसीय खेलको मान्यता हुनेछैन।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा।
समूह 'ए': श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह 'बी': पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए
प्रतिक्रिया