पुष्पलाल भनेको एउटा जनमतको नाम हो । अहिले नेपालको वैचारिक मूल धार मध्ये एक हो । हिजो निरङ्कुश राजतन्त्र बिरूद्ध आन्दोलनको नाम थियो पुष्पलाल । पुष्पलालको पुस्ता सामन्तवाद बिरोधी बलिदानी पुस्ता थियो । त्यही पुस्ताको नेतृत्व गर्दै उनले नेपाली श्रमजीवी मजदूर किसान र सर्वहारा वर्गको पक्षपोषण गर्थे ।
उनले विश्व कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपमा कम्युनिष्ट घोषणा पत्रलाई नेपालीमा अनुवाद गरी भूमिका सहित प्रकाशनमा ल्याएर विधिवत नेपालमा कम्युनिष्ट आन्दोलन प्रवेश गराउने काम गरेका हुन् । उनकै नेतृत्वमा २२ अप्रील १९४९ मा नेपाल कम्युनिष्ट पार्टी गठन भयो । निरङ्कुश शासनको कडा निगरानीको समयमा बनारसको राष्ट्रिय काँग्रेस परित्याग गरी कलकत्तामा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो । त्यसको एक वर्ष पछि नेपालमा बि स २००७ सालको क्रान्तिको थालनी भयो । नेपाली काँग्रेस र राजा समेत मिलेर राणाशाही बिरूद्ध लक्षित शसस्त्र क्रान्तिमा गणतन्त्रवादी कम्युनिष्टसँगै उत्रेका थिए । सपरिवार दिल्ली भागेका राजा त्रिभुवन राजा राणा काँग्रेसको दिल्ली सम्झौता पछि फागुन सात गते नेपाल फर्किए ।
सशस्त्र क्रान्तिका म्युडिहवा–भैरहवा नाकाका नायक के आई सिंहले दिल्ली सम्झौता अस्वीकार गरे । दिल्ली सम्झौता धोखा हो भन्ने नेपाल कम्युनिष्ट पार्टीलाई राजा– राणा–काँग्रेसको सरकारले प्रतिबन्ध लगाउन पुग्यो । गणतन्त्रवादी पार्टीबाट राजतन्त्रलाई खतरा ठानेर प्रतिबन्ध लगाइएको जगजाहे छ । कतिपय ईतिहास नकार्ने माउखाने प्रबृत्तिकाहरूले आफूलाई गणतन्त्रका अधिकारी भएको बकवास छाँट्ने नाकाम कोशिस गरेको पाइन्छ । पूर्व र पश्चिमका कतिपय अतिवादीहरूले पुष्पलाललाई “गद्दार“ भनेर किताब छापे,गीत गाए । धरातलीय यथार्थमा जनतामा पुष्पलालको उचाइ र गहिराइको जनमत देखेर उनीहरू लत्रँदै आक्रमण गर्नबाट बल्ल पछि सरेका हुन् ।
उग्रपन्थको स्वभाविक गन्तव्य दक्षिणपन्थ हुने हुँदा सोही मार्गमा हिड्ने धर्म निर्वाहा गरेका छन् । नेपाली राजनीतिमा पुष्पलालको चर्चा १९९७ को शहीद परीवारसँग जोडिएर आयो । बंशको शासनका पक्षधर उनी कहिलै रहेनन् । जाहानीया राणाशाही मात्रै होइन दुइहजार वर्षदेखिको राजाशाही प्रणालीकै अन्त्य गर्नु पर्नेमा पुष्पलाल थिए । एकमुष्टमा उनी नेपालका पहिलो गणतन्त्रवादी कम्युनिष्ट नेता थिए । राजनैतिक परिस्थिति भने राजालाई पनि आफैले प्रदान गरेको पगरी श्री ३ बाट मुक्ति चाहिएको थियो ।
राजा त्रिभुवन भारत र नेपाली काँग्रेसको सहयोगमा संविधान सभाले गणतन्त्र नेपालको संविधान बनाउने घोषणा गर्दै कार्यकारी श्री ५ को उपाधीमा बहाल भएका थिए । बि स १९९७ देखि २००७ सालसम्म आउँदा नेपाली समाज परम्पराको राजा मान्ने बंशवाद, वी पी कोइरालको प्रजातान्त्रिक समाजवाद र पुष्पलालको वैज्ञानिक समाजवाद तीन थरिका वीचारधारा गतिशील हुँन थाले । यिनीहरूको निर्माण र संचालनको आधार समाजमा विद्यमान थियो । नेपालका जमीनदार र दलालखाले पूँजीपती राजा र काँग्रेसका जग भएकाले लामो समयसम्म राजा काँग्रेसमा मेलमिलाप र संघर्षको अवस्था रह्यो । श्रमजीवि वर्गको हिमायती कम्युनिष्ट पार्टीसँग राजा र काँग्रेस दुबैथरीले फराकिलो दुरी बनाउन र किनारा लगाउने ताकमा रहन्थे । यो क्रम राजाको प्रत्यक्ष शाशनकाल पञ्चायत र २०४६ सलसम्म रह्यो ।
नेपालमा गणतन्त्र पक्षधरलाई अगाडि आउन नदिन राजाले गणतान्त्रिक संविधान टार्ने खेल खेले भने कम्युनिष्ट पार्टीको नेतृत्वमा घुस्नपुगेका जमीनदार तथा बुर्जुवा सोंचका नेताहरूले गणतन्त्रवादी नेता पुष्पलाललाई महासचिव हुन नदिने काम गरे । दोश्रो माहाधिवेशनका माहामन्त्री समेत बहुमत नेताहरू त २०१७ सालमा निर्वाचित सरकार अपदस्त गरेका निरङ्कुश राजाको पक्षमा उभिए । उता कम्युनिष्ट पार्टीका सँस्थापक पुष्पलाल राजाले विघटन गरेको संसदको पुनस्थापनाका पक्षमा उभिए ।
पुष्पलालको मिलेर संसद पुनस्थापनाको आन्दोलन गरौं भन्ने आवाहनलाई वी पी काइरालाले इन्कार गरे भने तेश्रो माहाधिवेशनमा पुगेका प्रतिनिधिहरूले चर्का नाराका आडमा पुष्पलालको वीचारलाई अस्वीकार गरे । यही बेमेलमा राजाले तीस वर्ष मनग्य खेल्न पाए । त्यस पछि मनमोहन अधिकारी र मोहन बिक्रम सिंहले अलग अलग समूह बनाउन थाले पछि पुष्पलालले २०२५ साल जेठमा तेश्रो माहाधिवेशनको तेश्रो सम्मेलन गरी नयाँ जनवादी कार्यक्रम अगाडि सारेर पार्टी पुनर निर्माणको घोषणा गरेका हुन् । पुष्पलालसँग धेरैथरी जोडिए धेरैथरी चुँडिए आन्दोलनका दौरानमा ।
संगठनमा उतार चढाव भइरह्यो । नेपालमा समाज परिवर्तनमा उनका विश्लेषण र विचार नै सहि रहेछन् भन्ने समयले ठहर गर्यो । त्यसलाई नयाँ पुस्ताले आत्मसात गर्यो । मिलेर गरेको २०४६ सालको जनआन्दोलन सफल भयो । राजाले पनि संविधान मान्नु पर्ने मान्यता नीतिगत रूपमा स्थापित भयो । पुष्पलालको नागरिक हकको नारालाई मदन भन्डारीले व्याखा गरे । संविधानमा जनताको पक्षधरतालाई २०४७ को संविधानमा २७ बूँदे फरक मतद्वारा पुष्पलालको वीचारलाई स्थापित गर्नेकाम गरे । यसरी मदन भन्डारी पुष्लालका वीचारलाई स्थापित तथा कार्यान्वयन गर्न र वामखेमा निर्माण गर्न व्यवहारमै सफल भए ।
नेपालका तीन धारमा बंशवादी धारले २००७ सालको गणतान्त्रिक संविधान बनाउने कुराबाट जनबिस्वास गुमाउन थालेको हो । २०४६ सालमा संविधान मान्ने कबूल पछि राजा प्रत्यक्ष शासनमा गएर बिस्वास गुमाए । यति हुँदा पनि देशको भौतिक बिकास र राष्ट्रियताकाको पक्षमा गरेको योगदानलाई सम्झेर जनचाहना अनुसार राजाको कार्यकारी हैसियत परित्याग गरी जनताले राखेको ठाउँमा बस्न आन्दोलनकारीका पक्षबाट गिरिजा प्रसाद कोइरालाले राजालाई सार्वजनिक रूपमै भनेको स्मरणीय छ । राजतन्त्र जनता सामु झुकेर नवीकृत हुन नचाहेरै टुटेको हो ।
यसरी नेपालको बंशवादी धार किनारा लागे पछि वी पी गणेशमानका प्रजातान्त्रिक समाजवादी धार र पुष्पलाल मदन भन्डारीको वैज्ञानिक समाजवादी दुइ मूल धारले नेपाली राजनीतिलाई डोर्याएको आजको अवस्था हो । हिंसात्मक अपवादलाई छाडेर यी दुई धारले आजसम्म शंकटकमा मिलेर पार लगाउने र सहज परिवेशमा प्रतिष्पर्धा गर्दै आएकाछन् । जनहत्यालाई मान्यता र असंलघ्नताको उल्लङ्नले देशमा गम्भीर शंकट स्रिजना गर्नेछ । यस तर्फ नागरिक तहबाट निगरानी गरिएन र खबरदारी भएन भने सत्ताका गणीतीय भष्मासुरहरूले कुन भीरमा लगेर हामीलाई खसाल्ने हुन त्यो अकल्पनीय हुन सक्छ !
यी दुबै धारलाई मतदाताले मूलधार मानेको कानून भन्दा माथि बसाल्न वा श्री पेच विनाका राजा बनाउन होइन । न्याय समानता र स्वतन्त्रताको रक्षा गर्दै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय कार्यभार वहन गर्नलाई हो । नेपाली राजनीतिक परिदृश्यमा पुष्पलाल वर्तमानका जनमत हुन ! चेतना भया !
प्रतिक्रिया