ताजा अपडेट »

एसईई: गणितमा धेरैजसोको कम नम्बर किन आयो ? सुधार्ने कसरी ?

शनिबार, २३ असार २०८०, १३ : २४
80 Shares
शनिबार, २३ असार २०८०
80 Shares

काठमाडौं । यो वर्षको एसईई परीक्षाको परिणाम सार्वजनिक भएसँगै शिक्षणशैली, विद्यार्थीको सिकाइ क्षमता र त्यसको मापनमा कैयौँ प्रश्न उब्जिएको शिक्षाविद् र सरोकारवालाहरूले बताएका छन्। यसका लागि आधारभूत तहबाटै शिक्षण सिकाइमा सुधार ल्याउनुपर्ने उनीहरूको सुझाव छ।

नयाँ पाठ्यक्रम परिवर्तन हुनुभन्दा अघिको कक्षा १० को अन्तिम परीक्षामा अधिकांश विद्यार्थीहरूले प्रयोगात्मक र आन्तरिक मूल्याङ्कन नभएका विषयमा कम जीपीए पाएका छन्। उदाहरणका लागि ४ लाख ८५ हजार विद्यार्थीमध्ये १०० पूर्णाङ्ककै अन्तिम परीक्षा दिनुपर्ने गणित विषयमा १ लाख ५५ हजार विद्यार्थीले ‘ई’ ग्रेड ल्याएका छन्। एसईईको परीक्षा लिने राष्ट्रिय परीक्षा बोर्डले उत्तर पुस्तिका मापनमा प्रयोग गर्दै आएको लेटर ग्रेडिङ प्रणाली अनुसार २० भन्दा कम अङ्क ल्याउने विद्यार्थीहरूलाई ई ग्रेड दिइन्छ।

बोर्डका अध्यक्ष महाश्रम शर्मा गणितमा ई ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या “निकै ठूलो” देखिएको बताउँछन्। गणितजस्तै सबैभन्दा कम जीपीए ल्याउने धेरै विद्यार्थीहरूको सङ्ख्या आन्तरिक मूल्याङ्कन वा प्रयोगात्मक नहुने अर्को विषय अर्थशास्त्रमा पनि देखिएको छ।

किन आयो गणितमा कम अङ्क

विगत २९ वर्षदेखि विद्यालय तहमा गणित पढाउँदै आएका हरेराम ठाकुर अन्तिम परीक्षामा १०० पूर्णाङ्ककै परीक्षा दिनुपर्ने र आन्तरिक मूल्याङ्कन नहुने प्रणालीकै कारण गणितमा धेरै विद्यार्थीहरूले कम अङ्क पाएको बताउँछन्। उनका अनुसार बाँकी धेरै विषयहरूमा प्रयोगात्मक वा आन्तरिक मूल्याङ्कनमा २५ अङ्क छुट्ट्याइएको हुन्छ। जस कारण विद्यार्थीहरूले सैद्धान्तिक परीक्षामा कम अङ्क पाए पनि समग्रमा उनीहरूले पाउने जीपीए धेरै हुन्छ।

राजधानीको एक निजी विद्यालयमा गणित विभागको प्रमुख रहेका ठाकुरका अनुसार प्रश्नपत्रको ढाँचाका कारण पनि गणित विषयको परीक्षामा विद्यार्थीहरूले कम प्राप्ताङ्क पाएका हुन सक्छन्। “अब मानवीय त्रुटिका कारण पनि गणितमा विद्यार्थीले प्रश्न बिगार्न सक्छन्। तर गणित भनेको यस्तो विषय हो त्यहाँ प्रश्न नै गल्ती पढेर उत्तर लेखे पनि समस्या हुन्छ। त्यस्तो भयो भने उत्तर दिए पनि शून्य अङ्क आउँछ,” उनले भने। हालै नतिजा आएको एसईईको प्रश्न पत्रमा एउटै प्रश्नको पाँच अङ्क पूर्णाङ्क हुने व्यवस्था थियो। ठाकुरका अनुसार त्यस्तो अवस्थामा एउटा प्रश्नको उत्तर बिग्रिँदा विद्यार्थीहरूले पाँच नै अङ्क गुमाउने अवस्था हुन्छ।

लामो समय विज्ञान विषयमा शिक्षणको अनुभव भएकी टेकुस्थित सरस्वती निकेतन विद्यालयकी प्रधानाध्यापक रविना महर्जन प्रयोगात्मक विषयहरूको शिक्षण पनि अधिकांश विद्यालयहरूमा स्रोत साधनको अभावमा पुस्तकमै आधारित हुने गरेको बताउँछिन्। “हाम्रो शिक्षण सिकाइ क्षमता बढाउने, प्रश्नोत्तर गर्ने खालको गरिहालेको अवस्था छैन। तर प्रश्नपत्र चाहिँ त्यो आधारमा बनिसक्यो। त्यस कारण पनि नतिजा चाहिँ कमजोर आएको हुनसक्छ,” उनी भन्छिन्।

उनका अनुसार विज्ञान जस्ता विषयलाई अप्ठ्यारो पढाइ मानेर सिक्ने र सिकाउने दुवै पक्ष यसबाट पन्छन खोज्ने प्रवृत्ति पनि छ। यसलाई हाम्रो दैनिकीसँग वरपरको वातावरणसँग जोडेर सहज र सरल रूपमा बुझाउन सकियो भने रुचिको विषय पनि हो,” उनले भनिन्।

कम अङ्क आउँदाको असर

अहिले कक्षा १२ मा विज्ञान पढ्नका लागि गणितमा न्यूनतम सी प्लस ग्रेड अर्थात् कम्तीमा ५० प्रतिशत नम्बर ल्याएको हुनुपर्ने अनिवार्य गरिएको छ। जस कारण यो वर्ष पनि गणितको परीक्षामा राम्रो नतिजा नल्याएका कारण धेरै विद्यार्थीहरूले आफूले रोजेको विषय अध्ययन गर्न नपाउने अवस्था छ। कक्षा ११ मा भर्नाका लागि मात्रै नभएर विश्वविद्यालयमा भर्नाका लागि पनि निश्चित विषयहरूमा निश्चित ग्रेड ल्याउनुपर्ने नियम छ।

ठाकुर यस्तो नियम गलत भएको बताउँछन्। “भोलि विद्यार्थी जीवविज्ञान पढ्न गयो भने उसलाई गणितको आवश्यकता नै पर्दैन त्यस कारण यस्तो नियम बनाउनु उचित होइन,” उनी भन्छन्।

यसपालि नतिजा कस्तो ?

३.६ देखि ४ जीपीए ल्याउने २२,४७५ (४.६३ प्रतिशत)

३.२ देखि ३.६ जीपीए ल्याउने ५५,०६९ (११.३६ प्रतिशत)

२.८ देखि ३.२ जीपीए ल्याउने ७२,३६२ (१४.९२ प्रतिशत)

२.४ देखि २.८ जीपीए ल्याउने ८९,३३१ (१८.४२ प्रतिशत)

२ देखि २.४ जीपीए ल्याउने १,०२,२९३ (२१.०९ प्रतिशत)

१.६ देखि २ जीपीए ल्याउने ८८,४८७ (१८.२४ प्रतिशत)

१.२ देखि १.६ जीपीए ल्याउने ३८,७७० (७.९९ प्रतिशत)

०.८ देखि १.२ जीपीए ल्याउने २,२०० (०.४५ प्रतिशत)

को को जिम्मेवार?

परीक्षा नियन्त्रक
तस्बिरको क्याप्शन, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गत वर्षभन्दा यस पटकको नतिजा धेरै हिसाबले राम्रो रहेको दाबी गरेका छन्

हरेक वर्ष एसईई परीक्षाफलसँगै नेपालमा विद्यालय शिक्षाको प्रभावकारिताबारे बहस र छलफलहरू हुने गर्छन्। सरकार, अभिभावक, विद्यार्थी र विद्यालयहरू सबैको प्राथमिकतामा भए पनि यो परीक्षाको नतिजा सन्तोषजनक नभएको सरोकारवालाहरू बताउँछन्। एसईई नतिजा सन्तोषजनक नहुनुमा विद्यार्थी, शिक्षक, अभिभावक र पाठ्यक्रम सबै कुनै न कुनै हदसम्म जिम्मेवार रहेको ठाकुर बताउँछन्।

तर शिक्षाविद् धनञ्जय शर्मा विद्यार्थीहरूलाई भन्दा बढी दोष पढाउने तरिकामा रहेको ठान्छन्। “हाम्रो पढाउने तरिका नै दोषी हो। हामीले पढाउनलाई पढाएका छौँ। सिकाएकै छैनौँ। विद्यार्थी गरेर सिक्न चाहन्छन् हाम्रो अध्यापन पद्धति भनेर सिकाउने छ,” उनले बीबीसी न्यूज नेपालीसँग भने। “त्यस कारण मलाई लाग्छ हाम्रा विद्यालयमा शिक्षकहरूले विद्यार्थीलाई नसिकाएकै कारण प्रयोगात्मक अङ्क नभएका विषयमा विद्यार्थीहरूले कम नम्बर पाए वा अनुत्तीर्ण भए।”

उनका अनुसार सबै विद्यार्थीहरूले जानेरै प्रयोगात्मक परीक्षामा चाहिँ राम्रो अङ्क पाएको ठान्नु पनि गलत हुनसक्छ। “साँच्चिकै प्रयोगात्मक गराएर मूल्याङ्कन गराएर भन्दा पनि कार्यालयमा बसेर प्राप्ताङ्क भर्छन्। गुरु कृपा गरेर हाल्दिएको जस्तो भयो के प्रयोगात्मक अङ्क पनि,” उनले भने। प्रधानाध्यापक महर्जन प्रणालीसँगै शिक्षक र सरोकारवालाहरू पनि शिक्षण सिकाइमा सुधारका लागि पहल गर्न चुकिरहेको बताउँछिन्।

सुधारका लागि के गर्नुपर्छ ?

विद्यार्थी
तस्बिरको क्याप्शन, कतिपय विद्यालयहरूमा प्रयोगात्मक सिकाई पद्दतीलाई प्राथमिकता दिइने गरिएको बताइन्छ

लामो समय सरकारी विद्यालयमा शिक्षणको अनुभव भएका शर्मा कक्षा १० मात्र नभएर समग्र विद्यालय तहको नतिजा सुधारका लागि पढाइको शैली नै परिवर्तन गर्नुपर्ने बताउँछन्। “हाम्रो पाठ्यक्रम परिवर्तन भयो। हाम्रा विद्यालयहरूमा लामो समय पढाएका शिक्षक छन् तर उनीहरू अद्यावधिक छैनन्। वर्षौँ देखि घोक्ने र घोकाउने पद्धतिबाट आएका परम्परागत छन्,” उनी भन्छन्।

“सूचना प्रविधिमा उनीहरूको पहुँच बढेकै छैन। बरु हालै आयोग पास गरेर आएका शिक्षकहरू दक्ष देखिएका छन्। त्यस कारण पुरानालाई अवकाश दिएर नयाँलाई प्रवेश नगराएसम्म सुधार हुँदैन,” उनले भने। “जो दक्ष छन् उनीहरूलाई यो पेसा आकर्षक बनाउनुपर्‍यो। सेवा सुविधा दिएर हुन्छ कि के गरेर हुन्छ।” उनका अनुसार कक्षा तीन सम्मका विद्यार्थीबाटै पढाइको जग बसाल्नका लागि शिक्षण पद्धतिमा सुधार गर्न आवश्यक छ र त्यसका लागि सरोकारवालाहरूको ठूलो मेहनत जरुरी छ।

सरस्वती निकेतन विद्यालयकी प्रधानाध्यापक महर्जन पनि आधारभूत तहबाटै सुधार गर्नुपर्ने मतसँग सहमत छिन्। “हामीले एसईईको नतिजामा मात्रै नहेरेर कक्षा १ वा २ देखि नै विद्यार्थीहरू कुन विषयमा राम्रो र कुनमा कमजोर छ भन्ने बुझेर सुधार गर्दै जाँदा राम्रो हुँदै जान्छ कि,” उनले भनिन्। गणित शिक्षक ठाकुर सरकारी विद्यालयका शिक्षकहरूलाई परीक्षाको नतिजाप्रति जबाफदेही बनाएर उनीहरूको पेसामा हुने वृत्ति विकासदेखि निरन्तरतासम्म त्यसका आधारमा निर्धारण हुनुपर्ने धारणा राख्छन्।

“एसईईको नतिजा राम्रो नआउँदा आफ्नो जागिरलाई फरक पर्छ भन्ने डर सरकारी विद्यालयका शिक्षकहरूमा नहुने भएका कारण पनि गर्नुपर्ने मेहनत नगरेका हुन् कि भन्ने मलाई लाग्छ,” उनी भन्छन्।

एसईईमा अब कस्तो परिवर्तन हुँदैछ ?

पाठ्यक्रम विकास केन्द्रले यो शैक्षिक सत्रबाट कक्षा दशको पाठ्यक्रम र प्रश्नपत्रको ढाँचा दुवै परिवर्तन गर्न लागेको बोर्डका अध्यक्ष शर्माले बताए। उनका अनुसार अब सबै विषयमा २५ प्रतिशत प्रयोगात्मक वा आन्तरिक मूल्याङ्कन हुनेछ। “अब आगामी वर्ष नयाँ लेटर ग्रेडिङ निर्देशिकाले ज्ञान, क्षमता जस्ता प्रश्नहरू सोध्ने र ३५ भन्दा कम अङ्ग आउनेलाई नन ग्रेड गर्ने व्यवस्था गरेको छ,” उनले भने।

उनका अनुसार यो वर्षबाट एसईई परीक्षा दिने विद्यार्थीहरूले ३५ भन्दा कम अङ्क आएको अवस्थामा कक्षा दश उत्तीर्ण हुन पुनः परीक्षा दिनुपर्ने हुन्छ। यो वर्षबाट लागु भएको नयाँ पाठ्यक्रम अनुसार अब हुने एसईईमा गणित विषयमा एउटा प्रश्नको अधिकतम तीन अङ्क मात्रै राख्नेबारे पनि छलफल भइरहेको बताइएको छ। -बीबीसी नेपाली

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।