बुटवल । नेपाल क्रिकेट संघ क्यानले श्रीलंकामा हुने एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेटका लागि १६ सदस्यीय टिमको घोषणा गरेको छ । घोषण गरिएको टिममा स्पिनर सन्दीप लामिछाने र भर्सटाइल्स अलराउण्डर प्लेयर दिपेन्द्रसिंह ऐरी परेका छैन । यसैगरी करण केसी र ज्ञानेन्द्र मल्ल पनि बाहिरिएका छन् । सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले टिममा नपरेका हुन् ।
अण्डर नाइन्टिनका कप्तान देव खनालसहित श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन् । यस्तै रोहितकुमार पौडेल कप्तान रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो यथावत् छन् ।
इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्नेछन् । नेपाल प्रिमियर कपको विजेता बनेको थियो । इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् । नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।
प्रतिक्रिया