ताजा अपडेट »

आईएमई लाइफ इन्स्याेरेन्सकाे प्रिमियम आईपीओ बिहीबारबाट खुल्ने

बुधबार, २० असार २०८०, १० : ५८
20 Shares
बुधबार, २० असार २०८०
20 Shares

काठमाडौ २० असार । आईएमई लाइफ इन्सुरेन्सले बिहीबारदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला गर्ने भएको छ । यसअघि कम्पनीले बुधबार (आज)देखि आईपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण जनाउँदै बुधबार एक सूचना जारी गरेको छ । यसआधारमा अब बिहीबारबाट आवेदन खुला हुनेछ । 

कम्पनीले अन्तिम प्रहरमा आएर एकाएक आइपीओ स्थगित भएको बताएको छ । यसबाट सर्वसाधारण लगानीकर्ता भने अलमलमा परेका छन् । आईपीओ सार्नुको स्पष्ट कारण पनि खुलाइएको छैन । प्राविधिक कारणले मात्र आईपीओ भर्ने म्याद सारिएको बताइएको छ । 

यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । 

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्री गर्दै छ । यसमध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ५% अथवा ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । 

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा असार २५ गतेसम्म आवेदन दिन  सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।  

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० जेठ २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।