बुटवल । वर्षायाम सुरु भएसँगै बुटवल–१७ दुर्गा टोलकी ७० वर्षीया लिला देवी मगरको निद हराउन थालेको छ । पाल्पा र रुपन्देहीमा एकसाथ भारी वर्षा भयोभने कुन दिन तिनाउमा आउने बाढीका ढुङ्गामुढा सरह आफू पनि बग्ने हो उनको मुटु वर्षाको चापसँगै बढ्दै जान्छ । भर्खर वर्षायाम सुरु भएको छ । तिनाउँले विस्तारै तटीय क्षेत्रमा कटान गर्न सुरु गरेको छ । भित्ताका ढुङ्गामाटालाई बाढी बनाउने तिनाउले आफ्नो घर पनि त्यसैमा मिसाउने डरले दुर्गाटोलकी लिला वर्षा भयो की छाता ओढेर तिनाउ किनारमा टोलाउन आइहाल्छिन् ।
सोही टोलकी रेखा चमारको वर्षा सुरु भएपछि हरेक दिन आँखा रसाउन सुरु गरेका छन् । रातदिन तिनाउको छाल हेरेर पनि नपुग्ने, साँझ विहान हात मुख जोड्नका लागि मजदुरी गर्न जानै पर्यो । यसैगरी लगातर उर्लियो भने आफ्नो बास त तिनाउले बगाउँछ नै त्योसँगै आफू र आफ्नो परिवारलाई पनि बाढीले लैजाने हो की भनेर उनको मन पोलिरहेको छ । ‘वर्षा भएपछि सबै सुरक्षित ठानेर घरभित्र पस्छन् हामी भने वर्षा हुने वित्तिकै रुझ्दै तिनाउ किनारमा बाढी नियाल्न आउनु पर्ने बाध्यता छ ।’ आँखाबाट एक्कासी खसेका आँसुले गाला रुझ्न नपाउँदै हत्तपत्त पुछेर उनले भनिन् ।
उनको घरसँगै जोडिएको एक घरलाई आधा जसो तिनाउले पोहोर साल नै बाढीमा मिसाई सकेको छ, यसपाली अलि ठूलो बाढी आयो भने आधा बचेको घरसँगै रेखाको घर पनि जाने छ । बाढीबाट सुरक्षित हुन अर्को बासस्थानको खोजीमा रहेकी रेखाले कोठा समेत पाउन नसक्दा अर्को समस्या थपिएको छ । २०५९ सालदेखि सुकुम्बासी जग्गा किनेर बस्न थालेका उनको परिवार यसैगरी हरेक वर्षको वर्षायाममा तिनाउसँग तर्सिदै दिन काट्नु परेको छ ।
मँगलबार विहानैदेखिको वर्षाले तिनाउ उर्लिएर सतर्कता तह पार गरेको जानकारी बुटवल बाढी सुचना केन्द्रले गराइसकेको थियो । दुर्गाटोलका आधा दर्जन बढी घरका परिवार एकाविहानै छाता ओढेर उर्लिएको तिनाउ नियाल्दै थिए । सोही क्रममा भेटिएकी सरस्वती दर्जीले आफूहरु असुरक्षित भएको कुरा कसैले नदेख्ने गुनासो गरिन् । घर छाडेर जाउँ कहाँ जाउ, भएको त्यही एउटा बुकुरो हो । जीविको पार्जनका लागि हरेक दिन बजारमा व्यापार गर्दै तरकारी डुलाउने उनले आफूहरुलाई सरकारले नै बेवास्ता गरेको गुनासो गर्छिन् । ‘चुनावका बेला भोट हाल्दा भर्खरनै हाम्रो समस्या समाधान गर्ने हुन् की जस्तो गरेका थिए, अहिले उनीहरुको नाकमुख देख्न पनि पाइँदैन ।’–जनप्रतिनिधिप्रति आक्रोश पोख्दै उनले भनिन् ।
उनले पनि २०५९ साल तिर तिनाउको छेउवा घडेरी किनेर बसेकी थिइन् । उनले घडेरी किन्ने समयमा तिनाउ नदी घरभन्दा करिब ५ सय मिटर पूर्वबाट बहन्थ्यो । उनका अनुसार हरेक वर्ष वर्षायाममा हुने नदी कटान र नदी उत्खनन्ले तिनाउको वहाव पनि बिस्तारै उनको घरतर्फ नजिकिँदै आयो । अहिले घर बगाउने अवस्थामा छ । हुन त तिनाउ नदीले मात्रै होइन अहिले बन्दै गरेको तिनाउ कोरिडोरले पनि उनीहरुलाई त्यहाँबाट बिस्थापित गर्ने छ । सरकारले भनेअनुसार नै जति छिटो कोरिडोरको काम अघि बढेर आफूहरुलाई अन्यत्र बासका लागि विकल्प दिएमा आफूहरुलाई न्याय हुने बताउँछिन् रेखा चमार र सरस्वती दर्जी ।
वर्षायाम सुरु भएपछि उनीहरुको मात्र होइन तिनाउ तटीय क्षेत्रमा रहेका अन्य बस्तीको पनि निद हराम भएको छ । तिनाउले बढी प्रभावित पार्ने देखिएका दुर्गाटोलसहित प्रगतिनगर, गाणेश टोल, मझुवा, पवित्रनगरका जनतालाई निद लाग्न छाडेका छन् । एकाविहानै तिनाउको बाढी अवलोकन गर्न पुगको बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले जोखिम क्षेत्रहरुलाई जोगाउन २४ सै घण्टा सतर्कता अपनाउनु पर्ने अवस्था रहेको बताए । बगरमा बस्ती बढ्दै गएपछि तिनाउले आफ्नो बास्तविक बहावक्षेत्रमा जान नपाएका कारण पनि जोखिम हरेक वर्ष बढ्दै गएको उनले बताए । आफ्नै बाटोमा तिनाउ नदीले बग्न पाउने हो भने बाढीबाट हुने क्षति पनि कम हुने बताउँदै उनले मानवीय गल्तीकै कारण हरेक वर्ष क्षति व्यहोर्नुपरेको उल्लेख गरे ।
बुटवल उपमहानगर विपद व्यवस्थापन शाखा प्रमुख योगेश चापागाईले भने विगतका वर्षमा जस्तो यो वर्ष नदी कटान र क्षतिको सम्भावना केही कम हुने अनुमान गरिएको बताएका छन् । गत वर्ष बाढी प्रभावित क्षेत्रहरुमा जनताको तटबन्ध कार्यक्रम, कोरिडोर निर्माण योजना तथा केही ठाउँमा उपमहानगरले जाली तथा ड्याम निर्माण गरेका कारण क्षति न्युन हुने उल्लेख गरे । ‘पछिल्लो केही दिनको वर्षा र बाढीको अवस्था हेर्दा विगतमा जस्तो क्षति नहोला भन्ने अनुमान रेहेका छ ।’ उनले भने ।
तिनाउ नदीले विभिन्न वर्षहरुमा मानवीय तथा भौतिक क्षति पुर्याउँदै आएको छ । २०२७ सालमा तिनाउमा ठूलो बाढी आयो । असार ४ गते आएको बाढीबाट ९२ जना बेपत्ता भए । १९ पशुको नोक्सान भयो । दाउरे टोलका २४ घरमा पूर्ण र आंशिक क्षति पुग्यो । त्यसको ११ वर्षपछि अर्थात् वि.सं. २०३८ असोज १३ गते तिनाउमा मिसिने दोभान र झुम्सा खोलामा उर्लेर बाढी आयो । दोभानमा २९ जनाको ज्यान गयो । डेढ दर्जन घर बगे । यता बुटवलमा ३५ जनाको ज्यान गयो । २ सय ५० घर बगे । बाढीले पूर्व–पश्चिम राजमार्गको गोलपार्कको पक्की पुल बगायो । भर्खर पसाउन लागेको धान सोत्तर पार्दै सयौं हेक्टर खेत बगरमा परिणत भयो । बुटवलका पूर्व उपमेयर विमलबहादुर शाक्यको भनाईमा तिनाउबाट बुटवलले बेहोर्नुपरेको सबैभन्दा ठूलो क्षति थियो, त्यो ।
हरेक बाढीमा तिनाउले कहिले दायाँ र कहिले बायाँ धार फेर्दै आएको छ । २०५९ सालमा आएको बाढीका कारण तिनाउले धार फेर्दा बुटवल पवित्रनगरमा पक्की घर नै गर्लम्म ढल्यो । २०६४ भदौ १३ मा पनि तिनाउ निकै उर्लियो । नदी किनारका धेरै कच्ची घर बगे । २०६६ सालमा आएको बाढीले उद्योग वाणिज्य संघको छेउतिर रहेका झण्डै सय सुकुम्बासीका घर बगे । २०७३ साल साउन ११ गते बिहान आएको बाढीले दर्जन घर बगे । बुटवल देवीनगरमा रहेको झोलुंगे पुल पनि बग्यो ।
तिनाउमा गएका पाँच दशकमा आएका ठूला बाढीको प्रवृत्ति हेर्दा लाग्छ, नदी उकासमा बसेका बस्तीहरु बसोबासका लागि सुरक्षित छैनन् । नदी अतिक्रमणको चपेटामा पर्दा बुटवल क्षेत्रमा बर्खामासको सामान्य बाढी बग्ने ठाउँ छैन ।
यसैगरी वर्षाको समयमा बुटवलको बजार जलमग्न हुने गर्छ । यसो हुनुमा सार्वजनिक कुलोहरु अतिक्रमण हुनुनै प्रमुख रहेको जानकारहरु बताउँछन् । कुनै समय बुटवललाई सिञ्चित गर्ने कुलो बुटवलको सिन्दुर होटलबाट अतिक्रमण भई साघुरिएर होटल दार्सिस हुँदै बसपार्क तथा होटल पाम इन्टरनेशनमा गुमनाम हुन पुगेको छ भने भिमसेन मन्दिरबाट छुट्टिएर दक्षिण तर्फ लागेर क्लब डेनोभोले गुमनाम भएको कुलो पनि अस्तित्वविहिन बनेको छ । यसरी तिनाउ तटीय क्षेत्रमा मात्र नभई बजार क्षेत्रमा पनि प्रतिष्ठित व्यक्ति तथा संघ संस्थाको नाममा सार्वजनिक जग्गाहरु अतिक्रमित हुँदा विपदको जोखिम बढीरहेको जानकारहरु बताउँछन् ।
वातावरणविद युवराज कंडेलका अनुसार पछिल्लो समय विकास निर्माण लगायत भौतिक संरचनाहरु निर्माणसँगै बुटवलको जमिनले पानी सोस्न मिल्ने ठाउँको अभावले पनि बाढीको समस्या थप जटिल बनेको छ । ‘जमिने राम्रोसँग पानी सोस्ने ठाउँ छैनन्, भएका कुल–कुलेसाहरु पनि मिचेर संरचना बनाइएका छन्, आकाशको पानी जमिनमा पर्नासाथ सिधै भेल बनेर नदीमा जानेहुँदा बाढीको समस्या बढेको छ ।’–उनले भने । यसैगरी मानवीय बस्तीको अतिक्रमणले तिनाउको बहाव क्षेत्र खुम्चिँदै जाँदा विपदको जोखिम बढेको छ । वर्षायाममा छिमेकी जिल्ला पाल्पामा निर्माण भैरहेका बिकासका कामले तिनाउ नदी एक्कासी रोकिन गई ठूलो बाढी बन्ने खतरा पनि बढ्दै गएको उनले बताए ।
‘तिनाउका तटीय क्षेत्रमा बाढी पसेको नभई बाढीमा बस्ती पसेको हो ।’–कंडेलले भने मानवीय प्रवृत्तिकै कारण प्रत्येक वर्ष हामीले विपत्ति निम्त्याइरहेका छौं । समस्या समाधानका लागि स्थानीय, प्रदेश तथा केन्द्र सरकारले नदीको बहाव क्षेत्र निर्धारण गर्नुपर्ने, तटीय क्षेत्रमा हरियाली प्रवर्द्धनलाई अघि बढाउनु पर्ने तथा तिनाउको उत्पत्तिविन्दूदेखिकै स्थानबाट जलाधार क्षेत्रको संरक्षणका कार्यक्रम अघि बढाउनु पर्ने उनको सुझाब छ ।
प्रतिक्रिया