ताजा अपडेट »

तिलोत्तमाका भित्री सडकहरु पनि हरियाली र फूलले ढकमक्क बनाइँदै (फोटोसहित)

मंगलबार, १९ असार २०८०, १३ : ३७
92 Shares
मंगलबार, १९ असार २०८०
92 Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने रूपन्देहीको तिलोत्तमा नगरपालिका भित्रको ६ लेन सडक डिभाइडरमा लगाइएका विभिन्न प्रकारका वोटविरुवा र फूल फूलेर रंगीचंगी देखिन्छ ।

त्यति मात्रै होइन, नगरपालिकाले आफ्नो क्षेत्र भित्रको ६ लेन सडकमा राखिएको बत्तीले रातिको समयमा झिलिमिली देखिने सडक दिउँसोको समयमा हरियाली र ढकमक्क फूलेका रंगीचंगी फूलहरूले नगरको सौन्दर्यलाई थप आकर्षक र मनमोहक बनाएको छ ।‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नारासहित नगर क्षेत्रलाई सरसफाइसँगै हरियाली बनाउने अभियान सुरू ६ लेन सडक हरियाली बनाएको तिलोत्तमाले अब भित्री सडकहरु आकर्षक विभिन्न प्रकारका वोट विरुवा फूल लगाएर भित्री सडकलाई पनि फूलले ढकमक्क बनाइँदै छ ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले अहिलेको अवस्थामा भौतिक विकासलाई मात्रै विकास नभनी सरसफाई र हरियाली पनि विकासको महत्वूर्ण सुचक भएकाले नगरपालिकालाई हरियाली बनाउन भित्रि सडकमा गमलामा फूल राखिएको बताए । साथै प्रमुख खाँणले सरसफाई र हरियाली भएमा नागरिकहरुको औसत आयुमा पनि बृद्धि हुने भएकाले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर नगरका सबै भित्रि सडकहरुलाई पनि हरियाली बनाउनु पर्ने बताउँछन् ।

भौतिक विकास भएमा मात्रै हामी विकास भएको मान्छौँ । खासगरी भौतिक विकास मात्रै विकासको सूचक होइन । भौतिक विकाससँगै सरसफाई पनि विकासको सुचकको रुपमा लिनु पर्छ ।’–उनले भने ‘नगर साफा र हरियाली भएमा नागरिकहरुको औसत आयू पनि बृद्धि हुन्छ । यसकारणले नगरवासीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा रोखर नगर भित्रका भित्रि सडकहरुलाई पनि हरियाली बनाउन लागेका हौँ ।’

तिलोत्तमा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन इकाईका इन्जिनियर युवराज पन्थीका अनुसार शंकरनगरदेखि वनवाटिकाको करिब साढे २ किलोमिटर सडकमा, वडा नम्बर १२ को महनाचोक मन्दिर परिसरको सडकमा, तिलोत्तमा ६ को पार्क लगायत सडकमा, वडा नम्बर २ का सडक र वडा नम्बर ८ को ४ नम्बर क्षेत्रमा विभिन्न प्रकारका फूलका विरुवा र फलफूलका विरुवा सडकको दायाँबाँया गमलामा राखिएको बताउँछन् ।

‘लुम्बिनी प्रदेश सरकारको उद्योग वन तथा वातावरण मन्त्रालयको करिब १४ लाखको सहयोगमा शंकरनगरदेखि वनवाटीकासम्मको साढे २ किलोमिटर सडकमा १२ महिना नै फूलले विभिन्न प्रकारका फूलका गमलाहरु सडकको दायाँ बाँया दुबैतर्फ राख्ने काम सम्पन्न भएको छ।’– इन्जिनीयर पन्थीले भने । सडकमा राखिएका ती फूलहरुले त्यँहाको दृश्य आकर्षक भएपछि वनवाटीका जाने पर्यटकहरुको संख्यामा केही मात्रामा भए पनि बढ्नुका साथै त्यस क्षेत्र आकर्षक हुने बताए ।

यस्तै नगरपालिकाले वडा नम्बर १२ को महनाचोक मन्दिर परिसरको सडकमा फलफूल प्रजातिका विरुवा र फूल लगाएको छ । त्यहाँ आँप, लिचि अनार विभिन्न प्रकारका फूल लगाइएको छ । उक्त क्षेत्रमा नगरपालिकाले काठमाडौँ विश्वविद्यालयको वातावरण अध्ययन गर्ने विद्यार्थीहरुसँग नगरपालिकाले समन्वय गरी फलफुलका विरुवा र फूलहरु लगाइएको इन्जिनीयर पन्थीले बताए ।

साथै तिलोत्तमा ६ को र्पाकमा लगायत सडक विभिन्न संघ संस्थाहरुको सहयोगबाट कलकी, धुपि लगायतका १ हजार २५० विरुवा लगाइएको छ । त्यहाँ विरुवा लगाउनका लागि नगरपालिकाले ५० हजार सहयोग गरेको इन्जिनीयर पन्थीले बताए । वडा नम्बर ८ गते ४ नम्बरको सडकमा पनि नगरपालिकाले विभिन्न प्रकारका फूलहरु राखिएको छ ।

नगरपालिकाले वडा नम्बर ४ को विभिन्न सडकहरुमा पनि विभिन्न प्रकारका फूलहरु लगाउने र त्यसको सम्पूर्ण तयारी भइसकेको उनले बताए। भित्रि सडकमा लगाइएका फुलहरुको संरक्षणको जिम्मा टोल विकास संस्था, विभिन्न स्थानीय संघसंस्थाहरुलाई नगरपालिकाले जिम्मा दिएको छ । प्रत्येक वडामा २/२ जना कर्मचारीहरु खटाउनुका साथै सडकमा लगाइएको फुल र वोटविरुवाहरुको संरक्षण र रेखदेखका लागि टोल विकास संस्था र विभिन्न स्थानीय संस्था संस्थाहरुलाई अख्तियारी दिएको नगरपालिकाका इन्जिनियर पन्थीले बताए ।

‘नगरपालिकाले सडकको सरसफाइका लागि प्रत्येक वडामा २ जना कर्मचारी परिचालन गर्ने गरेको छ । ती कर्मचारीहरुलाई नगरपालिकाले तलब नै खुबाएर सरसफाइको लागि परिचालन गरेको हो।’–उनले भने ‘यसका साथै सडकमा लगाइएको वोट विरुवा र फूलहरुको संरक्षण र रेखदेख गर्ने काम सम्बन्धीत टोल विकास संस्था र स्थानीय विभिन्न संघसंस्थाहरुलाई दिएका छौँ।’
यस्तै तिलोत्तमा नगरपालिका भित्र साना ठूला गरी १४ वटा पार्कहरु रहेको र ती सबै पार्कहरुलाई हरियाली र आकर्षक बनाउने नगरपालिकाको योजना रहेको इन्जिनीयर पन्थीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।