बुटवल । सरकारले मृगौलाका बिरामीहरुका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ । सामान्य कुराहरुमा पनि असावधानी, खानपान तथा दैनिक गतिविधिमा गरिने हेलचक्र्याईले नेपालमा मृगौला तथा अन्य दिर्घ रोगको समस्या बढ्दै गएको छ ।
महङ्गो र जटिल मानिएको मृगौला रोगीहरुका लागि राज्यले वार्षिक रुपमा प्रत्येक बिरामीका निःशुल्क डायलोसिस सेवा उपलब्ध गराउँदै आएको छ । मृगौला रोगीहरुले निःशुल्क डायलोसिसको सेवा प्राप्त गरे पनि उनीहरुको जीवन प्रत्यारोपण गरेकाहरुको जती भने लम्ब्याउन नसकिने बताउँछन् धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ । नेपालमा मृगौला प्रत्यारोपण गर्नेहरुका लागि पनि सरकारले उपचार खर्च उपलब्ध गराउँदै आएको छ । यदी डायलोसिस नगरी प्रत्यारोपण गर्ने हो भने मानिसले नयाँ र सुखको जीवन प्राप्त गर्छ भने डायलोसिका लागि हुने खर्च बचेर मुलुकको समृद्धिमा प्रयोग गर्न सकिने सुझाब दिन्छन्, डा. पुकारचन्द्र ।
‘प्रत्यारोपणको बिकल्प डायलोसिस होईन ।’–उनी भन्छन्, ‘डायलोसिसमा हुने खर्च वा उपचार प्रविधिहरुमा हुने खर्च रोक्नसके यो लगानी देशलाई समृद्धि बनाउनतर्फ लगाउन सकिन्छ ।’ नेपाल सरकारले डायलोसिस निःशुल्क गरेको छ । जसको मूल्य वर्षमा २ लाख ५२ हजार खर्च हुन्छ । दुई वर्षको खर्च रकमबाट मृगौला प्रत्यारोपण गर्न सकिने उनी बताउँछन् । मृगौला प्रत्यारोपणमा ५ लाख रुपैयाँ खर्च हुन्छ जुन सरकारले उपलब्ध गराउँदै आएको छ ।
यति हुँदाहुँदै पनि नेपालमा मृगौला प्रत्यारोपणको सङ्ख्या भने बढ्न सकेको छैन । मृगौला दान गर्नेहरुको सङ्ख्या बढ्न नसक्दा प्रत्यारोपणको सङ्ख्या पनि बढ्न नसकेको हो । यसको समाधानका लागि मानिसको मस्तिष्क मृत्युपछि गर्न सकिने अङ्ग दानको सङ्ख्या बढाउन जरुरी छ । मानिसले आफ्नो मृत्यु पश्चात अङ्ग दान गरी अरुलाई जीवनदान गर्न सकिन्छ भन्ने बारे सचेतनाको अभाव रहेको डा. श्रेष्ठले बताए । नेपालमा बिस्तारै प्रत्यारोपण गर्नेको सङ्ख्या बढ्दै जानुका साथै सचेत नागरिकहरुले अङ्ग दान गर्ने बानीको बिकास हुँदै गएकोप्रति भने उनले खुसी व्यक्त गरे ।
कुनै बेला नेपालमा मृगौला प्रत्यारोपणको कानुनी मान्यता नभएको तथा त्यस सम्बन्धी ज्ञान र प्रविधिको अभाव बारे सम्झिँदै उनले अहिले त्यो अवस्थाबाट निकै ठूलो फड्को मार्न सफल भएको बताए । बिगत स्मरण गर्दै उनले भने–‘डब्लुएचओले जब २००८ मा एउटा प्रतिवेदन सार्वजनिक गर्यो । नेपालमा मृगौला फेल भएका ९० प्रतिशत मानिस ३ महिनामा मर्छन् ।’ उक्त प्रतिवेदनले उनलाई निक्कै गम्भिर बनायो । त्यसपछि उनी नेपालमा नै यो सेवा चलाउनुपर्छ भनेर प्रत्यारोपणको ज्ञान लिनका लागि बेलायत गए । त्यहाँ पुगेर उनले ६ वर्ष अध्ययन गरे । एक जना मृगौला खराब भएको बिरामीले ५० हजार मासिक डायलोसिसमा खर्च गर्नुपर्ने त्यो बेलाको बाध्यत्मक अवस्था थियो । ‘मानसपटलमा ती कुराहरु अझै पनि ताजै छन्, धेरै संघर्ष गर्नुपर्यो ।’–विगत सम्झिँदै उनी भन्छन्, ‘दक्ष प्राविधिकसंगै कानुनी जटिलताहरुलाई सच्याउन धेरै समय लाग्यो ।’
वेलायत अध्ययनपछि नेपाल फर्किएर डा. पुकार चन्द्र गृगौला प्रत्यारोपण सम्बन्धी सचेतना र कानूनी जटिलताहरुको अन्त्यका लागि पहल गर्ने काममा लागे । नेपाल सरकारले २०७२ सालमा प्रत्यारोपणलाई कानूनी मान्यता दियो । २०७३ सालदेखि कार्यविधि बनाएर लागू गर्यो । यसपछिको समयमा अङ्ग प्रत्यारोपणको सङ्ख्यामा बिस्तारै वृद्धि हुँदै गएको छ । नेपालमा प्रत्यारोपण सफलताको प्रतिशत ९९ प्रतिशत रहेको डा. श्रेष्ठले दाबी गर्छन् ।
देशभर प्रत्येक वर्ष मृगौला प्रत्यारोपणको माग ३ हजार जनाको आउने गर्छ । जबकी केन्द्रमा भने हप्ताको ४ जनाको गरि वर्षको २ सय जनाको प्रत्यारोपण क्षमता छ । ‘अब सबै प्रदेशमा प्रत्यारोपण सेवा चलाउन जरुरी छ ।’–डा. श्रेष्ठले भने, ‘अहिले पोखरा, सुर्खेत, धनगढी, हेटौडा, बिरगंजमा सुरु गर्ने तयारी गरिहेका छौं ।’ अब बुटवलमा पनि शुरुवात जरुरी रहेको उनले बताए । प्रत्यारोपणको तथ्याक हेर्दा सबैभन्दा धेरै बाग्मती म्बर प्रदेश र दोस्रो नम्बरमा कोशी प्रदेशमा रहेको उनले बताए । नेपालमा भएकामध्ये मृगौला प्रत्यारोपण गर्दा ५० जोडीहरु बीच म्याचिङ एक्सचेन्ज भएको उनले बताए ।
नेफ्रोलोजिष्ट डा. कल्पना कुमारी श्रेष्ठका अनुसार नेपालमा २०७३ सालमा अङ्ग प्रत्यारोपण सम्बन्धि ऐन तथा कार्यविधि बनेपछि मृत्यु पश्चात अङ्ग दान गरेका ५ जनाबाट हालसम्म १० वटा मृगौला र ३ वटा कलेजो प्रत्यारोपण भएको छ । मानिसले आफ्नो मृत्यु पश्चात मृगौलासहित ८ वटा अङ्ग दान गर्न सक्छन् । नेपालमा प्रत्येक वर्ष १ हजार जनाको मस्तिष्क मृत्यु हुने तथ्याङ्कले देखाएको छ । जसबाट ८ हजार अंगहरु प्राप्त गर्न सकिने सम्भावना छ । तर निक्कै थोरैले मात्र यसको प्रत्यारोपणमा उपयोग भएको छ । एउटा मस्तिष्क मृत्यु भएकोबाट आठ जनाको जीवन दान पाउन सक्छन् । तर हालसम्म नेपालमा २ हजार २ सय जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेका छन् ।
नेपालमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विदेशीको सहयोगमा कलेजो प्रत्यारोपण समेत गर्दै आएको छ । जुन बढीमा १५ लाख खर्च हुने गर्छ । यसैगरी नेपालमा जिवितै अङ्ग दान गर्नेहरुमा ८० प्रतिशत महिला रहेका छन् भने अङ्ग लिनेहरुमा ८० प्रतिशत पुरुष छन ।
अङ्ग प्रत्यारोपणको सङ्गा वृद्धिका लागि सचेतनाको खाँचो रहेको देखिन्छ । विगतमा अङ्ग दानका लागि परिवारभित्रको सदस्यबाट मात्रै लिन पाउने व्यवस्था रहेको थियो भने नयाँ बनेको कानुनल त्यसको दायरा बढाएको छ । आफन्तहरुको ५२ जना नाताबाट प्रत्यारोपण गर्न सकिने प्रावधान बनेको छ । डा. कल्पना श्रेष्ठले अंगदान गरेको ब्यक्तिको परिवारलाइ बुझाउन धेरै कठिनाई देखिएको बताइन् । अंग दान गर्न तयार हुनेको विषयमा सरकारले प्राथमिकता नदिएका कारण पनि यो समस्या आएको उनी बताउछिन् । जबकि २ वर्षसम्म अंग प्रत्यारोपण गरेको ब्यक्तिको परीक्षण निःशुल्क गरिएको छ भने मृत्यु पश्चात अङ्ग दानको घोषणा गरेकाहरुका लागि कुनै स्वास्थ्य सुविधान गरिएको छैन ।
के हो मस्किष्क मृत्यु ?
ब्रेन स्टेम जीवनलाई सुचारु राख्न चाहिने मस्तिष्कको एक महत्वपुर्ण भाग हो । मस्तिष्क मृत्यु भएको व्यक्ति स्वयं सास लिन सक्दैनन् र सासको लागि भेन्टीलेटरमा निर्भर रहन्छन् । भेन्टिलेटरको सहायताले सासलिए पनि उसको नाडी, रक्तचाप एवं जीवनका लक्षण महसुस गर्न सकिन्छ । मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानले पूर्ण रुपमा मृत घोषित गर्दछ । यस्तो अवस्थामा मृत व्यक्तिको नातेदारको सहमतीमा अंग निकाल्ने काम हुन्छ ।
कतिपय व्यक्तिलाई कोमा र मस्तिष्क मृत्युको अंतरमा शंका हुन सक्छ । कोमामा रहेको विरामी कुनै पनि बेला ठीक हुने सम्भावना रहन्छ । कोमाको विरामीलाई मस्तिष्क मृत्यु भएको घोषणा गर्न सकिदैन ।अनुसार मानिसले मस्तिष्क मृत्युपछि २४ घण्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिन्छ ।
प्रतिक्रिया