ताजा अपडेट »

आइसिसी विश्वकप छनोट : वेष्टइन्डिजसँग नेपाल पराजित, यस्तो छ सुपर सिक्समा जाने सम्भावना (अंक तालिकासहित)

विहीबार, ०७ असार २०८०, २२ : ३५
16 Shares
विहीबार, ०७ असार २०८०
16 Shares

बुटवल । नेपाल आइसिसी विश्वकप छनोटमा चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव ४ ओभरमा २ सय ३८ रनमा अल आउट भयो ।

यो हारसँगै अंक तालिकामा नेपाल समूह ए को चौथो नम्बरमा झरेको छ । नेपालले ४ खेल मध्ये ३ मा हार र १ मा जितसहित २ अंक बटुलेको छ । २ खेल खेलेको नेदरल्याण्डको समान २ अंक नै रहे पनि नेट रनरेटका आधारमा नेपालमाभन्दा अघि तेस्रो नम्बरमा रहेको छ । छनोट चरण अन्तरगत सुपर ६ मा प्रवेशका लागि सम्भावना कायम राख्न नेपालले अब नेदरल्याण्डलाई जित्नै पर्ने दबाबमा छ । नेदरल्याण्डले नेपालसहित शिर्ष स्थानमा रहेको वेष्टइन्डिजसँग पनि खेल्न बाँकी नै छ । यदी वेष्टइन्डिजमाथि जित निकाल्न सकेमा नेपालसँगको हारले उसलाई कुनै असर गर्ने छैन । उक्त अवस्थामा नेदरल्याण्ड शिर्ष ३ मा पर्दै सुपर सिक्समा जान सक्ने छ भने नेपाल स्वतह बाहिरिने छ । विहिबारको खेलबाट वेष्टइन्डिजले नेपालमाथि जित दर्ता गर्दै शिर्ष स्थानमा उक्लिएको छ भने घरेलु टिम जिम्बावे दोस्रो स्थानमा झरेको छ । यी दुबै देशले समान २ खेल खेल्न बाँकी रहेको छ । अमेरिका हालसम्म भएका ३ वटै खेलमा हारसहित पुच्छारमा रहेको छ । शिर्ष ३ टोली सुपर सिक्समा प्रवेश गर्ने छन् ।

यस्तो रह्यो ४ पटकको विश्व विजेता वेष्टइन्डिज र नेपाल बीचको खेल

नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६३ रन बनाए । त्यो रन जितको लागि पर्याप्त हुन सकेन । गुलशन झा ५८ बलमा ५ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । नेपालका करण केसीले २७ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाए । नेपालका ब्याटर वेस्ट इन्डिजको बाउन्सर सामु धेरै समय क्रिजमा टिक्न सकेनन् ।

तीव्र गतिका बलर अल्जारी जोशेफको दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल पाँच रनमा बोल्ड आउट भए । जेसन होल्डरको पाँचौं ओभरको दोस्रो बलमा स्कुप खेल्न धुनमा भीम सार्की टप एज लागेर विकेटकिपर शाई होपबाट क्याच आउट हुन पुगे ।

जेसन होल्डरको बाउन्सर बलमा कप्तान रोहित पौडेल डिप फाइन लेगमा बैकल्पिक फिल्डर केसी कार्टीबाट क्याच आउट भएका थिए । रोहितले ४३ बलमा ३ चौकासहित ३० रन बनाए । कुशल मल्ल २ रनमा क्याच आउट भए । अकिल हुसैनको बलमा केसी कार्टीले सानदार क्याच लिँदै कुशललाई पेभेलिएन फर्काएका थिए ।

दीपेन्द्र सिंह ऐरी २० बलमा २ चौका र १ छक्कासहित २३ तथा आसिफ शेख ३६ बलमा ३ चौकासहित २८ रनमा आउट भए ।
वेस्ट इन्डिजका जेसन होल्डरले १० ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए ।

अकिल हुसैनले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले १० ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । किमो पलले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो । वेस्ट इन्डिजको जितमा कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रनको कप्तानी इनिङ खेले ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।