ताजा अपडेट »

म भाग्यमानी निर्माता : गीतकार सुरेश वाग्ले

विहीबार, ०७ असार २०८०, १० : ३५
26 Shares
विहीबार, ०७ असार २०८०
26 Shares

काठमाडौँ । अभिनेता सरोज खनालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘बगान’ असार २९ बाट प्रदर्शन हुँदै छ । अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको चलचित्रमा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहारसहितका विषयलाई प्रस्तुत गरिएको छ । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् । यसै चलचित्रमार्फत निर्देशनमा कलाकार सरोज खनाल डेब्यु गर्दैछन् । 

'सरोज दाई अमेरिका आएको समयमा हाम्रो सहकार्य गर्ने योजना बनेको थियो । म नेपाल आएपछि उहाँले सुनाउनु भएको कथामा कन्भिन्स भएँ', गीतकार वाग्लेले भने,'गीतसंगीतसँगै सामाजिक विषयलाई चलचित्रको ठुलो पर्दाको माध्यमले दर्शकसम्म पुर्याउने कुरामा म सहमत भएँ । सरोज दाई निर्देशनमा डेब्यु गर्ने र करिश्मा दिदी निर्मात्रीमा रहने भएपछि म पनि निर्माताको रुपमा डेब्यु गरे ।' 

आफ्नो निर्माण रहेको चलचित्रमार्फत अनुभवी कलाकार सरोज खनालले डेब्यु गर्नु सुखद रहनुका साथै आफू भाग्यमानी निर्माता रहेको बताए । 'सर्जक भएकाले सामजिक दायित्व बहन गरेर कथा रोजेका हौँ । यो कथा र यसमा देखाईएको भावनालाई परिवारले महसुस गर्नु जरुरी छ । यसले सकारात्मक पक्षलाई प्रसार गर्न मदत गर्छ', निर्माता सुरेशले भने । 

यसमा एकल महिलाको भूमिकामा प्रस्तुत करिश्माले आफ्नो न्यायोचित भूमिका रहेको बताउदै आएकी छिन् । 'मैले चाहेको भूमिका गर्न पाएकी छु । यसलाई दर्शकले सम्झिने पात्रको रुपमा तयार गरेकी छु', करिश्माले भनिन् । 

चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रमा नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको छ । 

कार्यकारी निर्माता विनोद मानन्धर रहेका चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले पारिवारिक चलचित्र रहेको जानकारी दिए । 'सरोज दाईको डेब्यु निर्देशन रहेको चलचित्र वितरण गर्न पाउनु हाम्रो लागि गौरवको कुरा हो । किनकि उहाँ कलाकारितामार्फत नै चिनिनु भयो र अहिले आफूलाई निर्देशकको रुपमा प्रस्तुत गर्दै हुनुहुन्छ", वितरक श्रेष्ठले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।