तीन वर्ष अघिदेखि कलाकार बेनु थापा र सुमित्रा रानासँग ठूलो ल्हुम्पेकतिर मलाई नि लैजानु न भनेको थिएँ । उनीहरुलाई कहिल्यै फुर्सद नहुने ! थुप्रैपटक भनेर आजित भइसकेको थिएँ । तर यसपालिको जेठ २७ गते, शनिवार भने ठूलो ल्हुम्पेकतिर लम्किने मौका मिल्यो । उनीहरुले आफ्नो पहाड घर र माइत जाने चाँजोपाँजो मिलाए । मलाई पनि आन्तरिक पर्यटकका रुपमा जीपमा हुले ।
जीप बुटवलबाट नौ बजेतिर सुइँकियो, सिद्धबाबा, दोभान, भूतखोला, अर्घाछाप, झुम्सा, केराबारीहुँदै माथिल्लो जोरधारा पुगेर नास्ता खान ब्रेक लाग्यो । सुमित्रा र उनकी बैनी धनाले पनि माइतीतिर लैजान पकौडी र बटुक झोलामा हाले । जीपले धूँवा उडाउँदै मध्यान्हको साढे १२ बजे रिडीको ल्हुम्पेकी होटलमा खाना खान रोक्यो । हामी भने रिडीको तीनमुखे पुलतिर फोटो खिच्न, ऋषिकेश मन्दिरहुँदै पुगियो । पाल्पा, गुल्मी र स्याङ्गजा जोड्ने उक्त झोलुङ्गे पुल सायद नेपालकै नमूना र अनौठो पुल हुन सक्छ ।
पाल्पाको हार्थोकबाट १९ किलोमीटरको दूरीमा गुुल्मीको रिडीबजार पर्दोरहेछ । रिडीबजार तलतिरको बाटो रुद्रवेनीहुँदै अन्यत्र जान थालेपछि रिडीबजार ओझेलमा परेको हो कि भन्ने मलाई भान भयो । पौने दुई बजे रुद्रवेनीमा पुगेर जीप रोकियो । जीपमा चढेका यात्रुहरुले घरखर्ची सामान किने । एकछिन ढिला भयो । पानी पर्लापर्ला जस्तो भयो तर परेन । त्यहाँ पुग्दा नि गर्मी उस्तै थियो ।
रुद्रवेनीबाट उत्तरतिर करिव पाँच सय मिटर पुगेछि जीप उत्तरपूर्व उक्लिदो रहेछ । उक्त चोकलाई जिरो भनिदोरहेछ । यो जिरो कालीगण्डकी, मिर्मी जाने जिरो भने होइन । करिव ११ किलोमीटर कच्ची, ग्राभेल बाटोको यात्रापछि हामीहरु ठूलो ल्हुम्पेक पुगिने रहेछ । बेनुप्रसाद थापाका कान्छा भाइ कुर गाउँमा बस्दा रहेछन् । एकछिन पानीको तिर्खा मोहीले मेट्ने दृष्टता गरियो तर सम्भव रहेनछ । त्यहीबाट मैले पत्रकार एवम् लेखक मोहन मैनालीसँग मोबाइलबाट बात मारें । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ३ को कुरह गाउँ आउँदा पनि उस्तै गर्मी रहेको बताउँदै गर्दा मैनाली सरले ग्लोवल वार्मिङ्गको असर यतिबेला अनुभव गरेको सुनाउँदै ठट्यौलीपारामा भने–दलबहादुर जी आखिर सूर्य त एउटै त हो, किन नपोलोस् र जहाँ गएपनि ?
सुवेदार बलबहादुर थापाका साहिँला छोरा बेनुप्रसादले आफ्नो जन्मघर, सानामा खेल्ने आँगन, डाँडाकाँडा देखाए । कक्षा सातसम्म पढेको बाल्यकालको स्कूल देखाए । उनका जेठा दाइ शिक्षक फटिकबहादुर थापा २०५६ सालमा गुल्मीबाट सांसद भएका रहेछन् । माइला दाइ र कान्छा भाइ ठूलो ल्हुम्पेकतिर बस्दा रहेछन् । उनी भने बुटवलको बेलबासतिर बस्दै आएका छन् । नेपाल व्यवसायी कलाकार संघ, रुपन्देहीका अध्यक्ष बेनु थापा आर्टिष्ट हुन् । नाँच्न समेत माहिर छन् । सहकारी अभियन्ता समेत हुन् ।
साँझ पाँच बजेतिर ल्हुम्पेक साहित्य तथा कला यात्रा नामक संस्थाले हामीहरुलाई वडा नं. ३ को कार्यालयमा वडाध्यक्ष जीतु तरामुको संयोजनमा भेटघाट हुने अवसर दिलायो । प्रगतिशील लेखक तथा कवि खोमा तरामुले हामीहरुलाई शाब्दिक गुच्छाले स्वागत गरेका थिए । आफ्नो गाउँको इतिहास, वर्तमान र भविष्यको सपना सुनाएका थिए उनले । साहित्यमा ठूलो ल्हुम्पेकको योगदान बताएका थिए खोमाले ।
गुणदेव सरले कार्यक्रमको सञ्चालन गरेका थिए । लालीगुराँसको गाउँ ठूलो ल्हुम्पेकलाई कवितात्मक शैलीमा चिनाएका थिए । हामीले खादा र अवीर लगायौं । मैले रेक्सा, चलन, कसका लागि भन्ने तीनवटा कविता सुनाएँ । आयआर्जनलाई साहित्यसँग कसरी जोड्ने भन्ने कुरालाई प्राथमिकता दिएको थिएँ । कार्यक्रम सकिएपछि हामी ल्हुम्पेकी थानी माईथान हुँदै सुमित्राको माइतीघर( लोकबहादुर रानाको) घरमा पुगेका थियौं । निलीमा ( भदैनी, सुमित्राको)ले रोजमेरीको स्वादमा कालो चिया पिलाइन् । क्या मिठो स्वाद !
सुमित्राका बाबा गोपीराम राना आफ्नो छोरा एलिस जन्मिएको साल बितेका रहेछन् । आमा निर्मला राना गाउँका अगुवा महिला र जमानामा पाँच कक्षा पास गरेकी रहेछिन् । कुनै समयमा उनी उक्त गाउँमा शिक्षक समेत बनेकी रहेछिन् । महिला अधिकारका लागि कटिवद्ध आमै राजनीतिक सुझबुझ् भएकी महिला रहेछिन् । सुमित्राका कान्छा बाबा लोकबहादुर राना गाउँका भलाद्मी रहेछन् । पुराना हेडमास्टर रहेछन् । गाउँले नायक रहेछन् । गाउँले नायक : लोकबहादुर सर
लोक सरसँग करीव एकघण्टा गफिएँ । बाहिर आँगनमा बस्दा बस्दा चिसो सिरेटोले नाक र कान सुम्सुमाउन थालेपछि कोठाभित्र पसियो । आमैले उसिनो मकै र गहते सीमीको सिरौला चखाए । बेनुले कोदोको तेल र मैले चामलको मोही खाएँ । मिठो रहेछ । लोकल कुखुराको झोलसँग ढिंडो हुलियो । आँतै सररर भयो । मधेसमा गर्मीले खरिएको जिउ पहाडको लोकल कुखुराका झोलसँग त्यसै रमायो । खाना वाइवरि बुटवलमा जहानसँग बात मारियो । गर्मीले पाकेर धारामा जीउ थापिएको खबर मालुम भो । अनि मैले पनि ल्हुम्पेकी एक झोक्का चिसो हावा पठाइ दिएँ कवितामा । चिसो हावा पठाम कि !
२८ गते आइतवार विहान आठ वजेतिर जीप चढेर बुढी सत्यवतीतिर गयौं । हाम्रो टूर गाइड निलीमा राना बनिन् । उनले भरखरै १२ कक्षाको परीक्षा पाल्पा जेभिटीबाट दिएकी रहेछिन् । विज्ञानकी विद्यार्थी निलीमाका बाबाआमा अंग्रेजी शिक्षक रहेछन् ।
उनले हाम्लाई पहिला बुढी सत्यवती बजैको दर्शन गराइन् । यो मन्दिर ठूलो ल्हुम्पेक, लिम्घा, हँसरा र फोक्सिङ्गको सिरानी रहेछ । यस मन्दिरमा चिच्याएर वर मागेमा मनोकाँक्षा पूरा हुन्छ भन्ने जनश्रुति रहेछ । आफूले मागेको वर पूरा भएमा यहाँ बाख्रा, बोका, भेडा, कुखुरा र परेवा चढाउने र बली दिने चलन रहेछ । मन्दिरको छेउमै ढुंगाका कुण्डहरु रहेछन् । भक्तजनहरुले दूध चढाउँदा रहेछन् । मन्दिर नजिकै स्वर्गद्वारी (स्वर्गजाने लिस्नो) रहेछ । एक सासमा करिव २० मीटरको दूरीमा रहेको लिस्नो चढ्दा वा झर्दा खेरी सास नफेरेमा स्वर्ग गइन्छ भन्ने जनविश्वास रहेछ । यस ठाउँ नजिकै तारा हेर्ने गुफा रहेछ ।
निलीमाले हामीलाई उक्त गुफामा पुराएर यस क्षेत्रमा रहेका धार्मिक स्थलहरुको गरिमा र महिमा सुनाइन । साँचिक्कै ती ठाउँहरुमा धार्मिक पर्यटकहरुलाई पुराउन सक्ने हो भने आम्दानी बढ्ने देखिन्छ । धार्मिक पर्यटनको हव हुने सम्भावना समेत उस्तै छ । बाटोको विस्तार, स्तरोन्नति हुन सकेमा वर्षमा हजारौंका संख्यामा बुढी सत्यवती, स्वर्गद्वारी र तारेगुफा जानेछन् । उनले मन्दिर माथि रहेको ब्रह्मकपाली शीला देखाउन लगिन् । त्यहाँ लिम्घाका मानिसहरुले पूजा गर्न आएका रहेछन् । आफ्ना सन्तानको ब्रतवन्ध र रुद्री गर्दै थिए । हामीले पनि शीलालाई राम्रोसँग हेरेका थियौं । विभिन्न आकृति देखिने उक्त शीलालाई हेरेपछि मनमा अनेक तर्कना खेले । पूजा गर्नेहरुले चिया पिलाए अनि तपस्वीसँग भेटेर ओरालो लाग्यौं ।
मसिना दहनिर हामीलाई साहित्यकार खोमा तरामुले पर्खि बसेका रहेछन् । उनले ढुंगे पहाडहरु घुमाए । उनलाई त्यस स्थानलाई ढुंगे बगैँचा बनाउन सल्लाह दिएँ । मसिना दहलाई वरिपरिबाट सिमेन्टको पर्खालले घेरेकोमा दुखेसो गरें । हामी पुग्दा पानी खासै थिएन । पहाडी क्षेत्रमा यस्ता दहहरुले पानी पुनर्भरणको काम गर्ने भएकोले जोगाउनु पर्ने देखिन्छ तर यहाँ सिमेन्टको पर्खालका कारण पानी जम्मा हुने र सुन्दरता घट्दै गएको देख्यौं । खोमाका अनुसार यस दहमा कहिले नि पात पतिङ्गर पर्दैन । सधैं सफा रहन्छ । यो क्षेत्रलाई ब्रम्हाक्षेत्र पनि भनिदोरहेछ । वसन्त ऋतुमा आउन सक्ने हो भने यो क्षेत्र लालीगुराँस फुलेर मनोरम देखिन्छ रे ।
माईली सत्यवती अर्थात् ल्हुम्पेक सत्यवतीमा आएर सुमित्रा, बेनु र धनाले धजा बाँधे, दूध चढाएर पूजा गरे । हरेक वर्षको कार्तिक शुक्लपक्षको चतुर्दशी साँझदेखि पूर्णिमासम्म मगरलोक संस्कृति, नाँचगान र पूजा आजा गरिदोरहेछ । गुल्मीका छिमेकी जिल्ला र देश, विदेशसम्मका श्रद्धालुभक्तजनहरु यस मन्दिरमा पूजाआजा र रमाइलो गर्न आइपुग्दा रहेछन् ।
सुमित्राको माइती घरमा आइपुग्दा मध्यान्हको १२ बजिसकेको थियो । खाना खाइयो । एकबेर आराम गरियो । तीन बजेदेखि गाउँमै रहेको धर्मपुर माविका कक्षा नौ र १० का १०० बढी विद्यार्थीलाई हाम्रो विद्यालय, राम्रो विद्यालय कसरी बनाउन सकिन्छ भन्ने विषयमा मैले सहजीकरण गर्ने अवसर मिल्यो । मैले बालगीत समेत सुनाएँ । बेनु र सुमित्राले यही विद्यालयमा पढेका रहेछन् । सुमित्रा रानाले २०५६ मा यसै विद्यालयबाट एसएलसी गरेर आज ललितकला विषयमा स्नातकोत्तर गरी थुप्रै पुरस्कार हात पारिसकेकी छन् ।
साँझपख सत्यवती बचत तथा ऋण सहकारी संस्थाका साथीहरुलाई सहकारी सञ्चालन र व्यवस्थापनमा टीमबिल्डिङ्ग तालिममा सहजीकरण गरें । केहीवेर सहकारीकर्मीहरुसँग छलफल भयो । साँझ सुमित्राको माइतीघर फर्किदा नौ बजिसकेको थियो । खाना खाइयो । म भने कम्प्यूटरमा भुलें । बेनुले सुमित्राका दाइ केशव र बालचन्द्रसँग गफ मारे । बालचन्द्रले २०५६ मा गणित विषयमा एमए गरेका रहेछन् । गाउँमा भुलेका रहेछन् ।
अनेक सम्भावना बोकेको ठूलो ल्हुम्पेकलाई तीन दिनको समय अति नै कम भयो । फेरि जाँदा हचिङकोटको भ्यू प्वाइन्टबाट वरिपरिका गाउँहरु, हिमाल, पहाडपर्वत हेर्ने रहर छ । थाप्लेको पहाडमा पुगेर लुम्बिनी प्रदेशकै अग्लो डाँडो पुगेको कीर्तिमानी कायम गर्नुछ । हुक्रायो सेती नाघलाई आफ्नै आँखामा सजाउने रहर बासी भएको छैन । लाम्थुडी झरनामा नुहाएर फर्किने वाचा गरेको छु । सांस्कृतिक एवम् धार्मिक पर्यटकीय गन्तव्यहरु एकपटक फन्को लगाउने रहरमा बिर्को लगाएको छैन । भुवन थापा बाजेको रमाइलो गाउँ हेर्ने रहर जिम्दैछ ।
गाउँमा विजुली छ । बाटो छ । खानेपानीको उचित प्रवन्ध हुँदै रहेछ । कभर्ड हल रहेछ । विद्यालय छ । स्वास्थ्य चौकी छ । सहकारीहरु रहेछन् । गाउँमा लघुवित्त वित्तीय संस्थाहरु रहेछन् । साहित्यिक संस्था रहेछ । सक्रिय गाउँलेहरु रहेछन् । पढेलेखेका मानिसहरु रहेछन् । मगरजातिको बाहुल्यता रहेको उक्त गाउँमा दलित जातिको समेत बाक्लो बस्ती रहेछ ।
तीन वर्षदेखि ठूलो ल्हुम्पेक जाने इच्छा पूरा गर्दिएकोमा बेनु र सुमित्रालाई हार्दिक आभार । सहयोगी गाउँले मित्रहरुप्रति कृतज्ञ छु । स्कुले भाइबहिनीहरुलाई सधैं सम्झिरहनेछु । लोक सर, सुमित्राकी आमै निर्मला राना, दाइ, भाउजु, माइलीबैनी र निलीमाप्रति सधैं ऋणी छु । उनीहरुका आतिथ्यता, सम्मान र अपार मायालाई कहिले भुल्ने छैन । मनको बर्कोमा पोका पारेर राखिरहने छु ।
२९ गते विहान नौ वजे बेनु र म झरियो बुटवलतिर । सुमित्रा, एलिस उतै बसे । धना पारिपाखा घरतिर लागिन् माइतबाट । हामी बुटवल आइपुग्दा साढे दुई बजिसकेको थियो । जोरधारमा पानी दर्केर आएको थियो तर केराबारी सुख्खा । बटौलीमा उस्तै चर्को गर्मी । ठूलो ल्हुम्पेकमा दुई रात जाडोका कारण कम्बल ओढेर सुतेको कुरा बटौलीमा सुनाउँदा अपत्यारिलो लागेको थियो ।
प्रतिक्रिया