लोकबहादुर राना निवृत्त शिक्षक हुन् । करिव २३ वर्ष प्रधानाध्यापक बनेर ठूलो लुम्पेकको धर्मपुर मावि, गुल्मीमा आफ्नो व्यवस्थापकीय एवम् शैक्षिक क्षमता प्रदर्शन गरे । २०३९ सालको साउन १ गते स्थायी शिक्षक भएका लोकबहादुर सरले भारतको वनारसबाट आइए र कानपुर विश्वविद्यालयबाट विए उत्तीर्ण गरेका थिए । २०५०÷०५१ मा त्रिभुवन विश्वविद्यालय,कीर्तिपुरबाट एकवर्षे विएड् गरेका उनले स्नातकोत्तर भने गर्न भ्याएनन् ।
शिक्षक उनको रहरको पेसा भएन । बाध्यताले उनी शिक्षक भएका थिए । त्यो पनि गाउँकै शैक्षिक एवम् सामाजिक सेवा गर्ने हेतूले । उनलाई पल्टनमा लाहुरे बन्ने उत्कट इच्छा थियो । छाती नाप्न हिमाञ्चल प्रदेशको सवाथ पुगेका उनलाई गोरखाका हवल्दार मजेरले भनेका रहेछन् –एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण गरेका तिमीले विदेशी भूमिमा अर्काको सेवा गर्ने होइन । हामी त भूलवस आइयो र पचियो । तिमीहरुले आफ्नै गाउँको सेवा गर्नू । शिक्षामा लगानी गर्नू ।
यति कुरा सुनेपछि फनक्कै फर्केर गाउँमा आएपछि उनी शिक्षक भए । २०३५ सालमा एसएलसी गरेका उनले २०३६ सालमा लाहुरे हुन छाती नाप्न पुगेका थिए । लाहुरे हुने गाउँमा चलन थियो । भारतीय आर्मीमा भर्ति भएर पैसा कमाइने, पेन्सन पाइने कुराले लोकबहादुर सरको मनमा उकेरा लागेको थियो । उतिबेला एसएलसी उत्तीर्ण हुनु चानेचुने विषय नै थिएन ।
२०१२ सालमा ठूलो लुम्पेकमा जन्मिएका लोक सरले २०७९ को निर्वाचनमा सत्यवती गाउँपालिका वडा नं. ३ को वडाध्यक्षमा उपविजेता बनेर चित्त बुझाएका छन् । गाउँमा भएका सबै पार्टीहरु एकातिर अनि लोक सर एक्लै चुनावी मैदानमा उत्रिदा पनि मतले हारे तर जनजनका मनमा सधैंभरिलाई जितिरहेका छन् ।
लोक सरले पढाएका विद्यार्थी डाक्टर, इन्जिनियर, सेना, प्रहरी र शिक्षक भएका छन् । कति त गाउँमै घाँस, दाउरा गर्नेहरु समेत छन् । जे होस्, लोक सरले जीवनमा पुस्तकमात्र पढाएनन् बरु पढाए त समाज, सामाजिक, सांस्कृतिक परिवेशहरु । समाजलाई मिहिन तरिकाले बुझ्न र बुझाउन सकेका लोक सरलाई गाउँले नायकभन्दा अनौठो हुने कुरै भएन ।
गाउँकै धर्मपुर स्कूललाई निमावि र मावि बनाउनका निम्ति अग्रसर भएका लोक सरले नेपाल राष्ट्रिय शिक्षक संगठनको जिम्मेवारी बोकेर २०३६ सालको शिक्षक आन्दोलन हाँकेका थिए । ३६ वर्षसम्म शिक्षण सेवा गरेर निवृत्त लोक सरलाई उनका पार्टीले प्रदेश कमिटीको सल्लाहकार बनाएको तर एकपटक पनि सल्लाह नलिएको बताए ।
उनको घर पञ्चायतकालीन समयमा भूमिगत नेताहरु लुक्ने र खाने ठाउँका रुपमा परिचित रहेछ । उनीहरु सेल्टरदाता रहेछन् । उनका घरमा खाना नखाएको र नलुकेका नेताहरु को पो होलान् भन्दैथिइन् गोपीरामकी श्रीमती निर्मला रानाले । आज ती नेताहरु कहाँ कस्ता अवस्थामा छन् उनीहरुलाई थाहा छ तर उनीहरुलाई नै खाना र सुरक्षा दिने उनको घरलाई सम्झिने नेताहरु कहाँ होलान्, कस्तो अवस्थामा होलान् ? उनका दाजु गोपीराम राना त गाउँ विकास समितिको दुई पटकसम्म गाविस अध्यक्ष भइसकेका रहेछन् ।
बहुदलको निलो रङ र पञ्चायतको पहेंलो रङ थियो । लोक सर निलो जिताउन लागे । प्रशासनले बहुदलतिर उन्मुख भएकालाई बोलाएर दुःख दिने गथ्र्यो । पाँच सन्तानमध्ये कान्छा, लोक सरका एक छोरा र तीन छोरी छन् । माइली छोरी र छोरो हेमन्तको विहे हुनै बाँकी छ ।
तत्कालीन माओवादी बिद्रोहीहरुले उनलाई स्कूलबाट जंगलतिर लैजान बल गर्थे तर उनले त्यसो हुन गएमा रक्तपात हुने बताएपछि हच्केका थिए । जीवनसंगीनी तुलसी कुमारीलाई उनले २०३८ सालमा साथ लिएका थिए । उनी अहिले रोगी भएकी छन् । लोक सर आफू पनि कमलपित्तको रोगी छन् । गाउँलेहरुले नचिन्ने कुरै भएन उनलाई । शैक्षिक धरोहर, सामाजिक अभियन्ता, संस्कृतिकर्मी र नेतृत्वमा रहन रुचाउने लोकबहादुर सर गाउँले नायक हुन् ।
प्रतिक्रिया