बुटवल । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेता र कर्मचारी जनताको सेवक बन्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलद्धारा आयोजना र लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेको नेपालगन्जमा आयोजित सुशासनका लागी साक्षात्कार कार्यक्रममा बोल्दै सांसद राठौरले नेता र कर्मचारी सेवक भन्दा बढी शासक बन्न खोजेको आरोप लगाए ।
सांसद राठौरले संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै जिम्मेवार बन्नुपर्ने बताउदै देशलाई सम्वृद्धिको बाटोमा लैजान सबै अनुशासित बन्नुपर्ने बताए । राठौरले देशको प्रमुख चुनौति नै भष्ट्रचार भएकाले त्यसको समाधानका लागी आफ्नो काम कर्तब्य प्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिए । उनले चिल्ला गाडीमा चढ्न र काठमाडौंमा घर किन्न राजनीति गरेको नभई जनताको सेवक सेवा गर्न राजनीतिमा आएको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले समन्वय समितिलाई पूर्ण अधिकार नदिई सौताको छोराको व्यवहार गरेको टिप्पणी गरे । उनले जिल्लाको समग्र अनुगमनको पाटो समन्वयले गर्ने भए पनि त्यसको कुनै औचित्य नभएकाले बिना स्रोत र साधनको समन्वय खारेज गर्न समेत माग गरे ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले योजनाहरु डुब्लीकेशनका कारण भष्ट्राचार बढेको बताउदै उनले योजनाहरु छनोट गर्दा छलफल र समन्वय गरी पारदर्शी ढङ्गले टुङ्गो लगाउनुपर्ने बताए । विष्टले सुशासन कायम राख्न खर्चको मितव्ययिता अपनाउनुपर्नेमा जोड दिए ।
यसैगरी कार्यक्रममा बाँकेका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले अधिकार क्षेत्र र जिम्मेवारी अनुसार काम गरे सुशासन कायम हुने बताए । उनले भेदभाव नगरी सेवाग्राहीलाई छिटो छरितो र पारदर्शि रुपमा सेवा दिने गरेको बताउदै कार्यालयहरुलाई आफ्नो काम र कर्तव्यप्रति बफादार भई काम गर्न आग्रह गरे ।
प्रतिक्रिया