काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि सरकार कुनै पनि दबाब वा प्रभावमा नपर्ने दाबी गरेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै राजनीतिक दबाबबाट अनुसन्धानको काम आफूले नरोक्ने उनको भनाइ थियो । यसका लागि प्रहरीलाई निर्देशन दिइसकेको र छोटो समयमा अनुसन्धान सक्नुपर्ने बाध्यता रहेको पनि उनले बताए ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने बताएका हुन् । उनले यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरीकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले प्रहरीले निष्पक्ष रुपमा काम गरिरहेको उल्लेख गरे । उनले भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने बताए । उनले अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको काम भएको बताए ।
यसैगरी प्रहरीले २४ घण्टा नै काम गर्नुपरेको बाध्यता रहेको बताउँदै उनले भने ‘प्रहरीलाई प्रारम्भिक चरणदेखि नै कुनै राजनीतिक वा अवाञ्छनीय प्रभावबाट मुक्त राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिइएको छ । कोही निर्दोष फस्ने काम नहोस् भनेर भनेका छौ ।’
प्रतिक्रिया