काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा भएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो। रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले बताए। उनले भने–‘हिरासतमा रहेका पूर्वमन्त्री बालकृष्ण खाँण बाहेक अरू आरोपीको बयान सकिएको छ ।’
शरणार्थीको नाममा ठगेको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री बालकृष्ण खाँण र पूर्व सभासद् आङटावा शेर्पा सहित १४ जना थुनामा छन् ।रायमाझी, खाँण, उनका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी हिरासतमा छन् ।
अझै केही व्यक्तिहरू फरार छन्। प्रहरीले यसमा संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ। ६० दिनभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया