तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकाले आफ्नाे खस्कदाे शैक्षिक अवस्थालाई सुधार गर्न र गुणस्तरीय शिक्षाका लागि दुई दिने शैक्षिक विमर्श कार्यक्रम गरने भएको छ । यही जेठ २ र ३ गते दाेभानमा विमर्श कार्यक्रमको आयाेजना गर्ने भएकाे हो ।
उक्त कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन र व्यवस्थापन गर्नका निम्ति आईतबार तिनाउ गाउँ कार्यपालिका एवम् शिक्षा समितिकाे संयुक्त बैठक बसी आवश्यक जिम्मेवारी दिएकाे प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिए । उक्त शैक्षिक विमर्श कार्यक्रममा तिनाउ गाउँपालिकाले तयार पारेकाे शिक्षा ऐन-२०७६ मा आवश्यक सिर्जनशीलता प्रयाेग र परिमार्जनका लागि शंकर पुरी संयाेजक रहने चार सदस्यीय सुझाव टाेली बनेकाे छ । त्यसैगरी राजेश श्रेष्ठ संयाेजक रहने गरि तिनाउ गाउँ शिक्षा याेजना-२०७९ काे सुझाव समिति गठन भएकाे छ ।
तिनाउकाे शिक्षालाई प्रभावकारी र जीवनाेपयाेगी बनाउनका लागि शिक्षा नीति र गाउँ शिक्षा याेजना कार्यान्वयन गर्न कार्यनीति -२०८० निर्माण र प्रस्तुति गर्नका लागि दलबहादुर गुरुङ संयाेजक रहने गरि वडाध्यक्षहरु टाेमबहादुर पुन, ईन्द्रा चिदी, चित्रबहादुर थापा सदस्य रहेकाे टाेली गठन भएकाे छ । पूर्वतयारी कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरि गुणस्तरीय शिक्षामा जाेड दिन पालिका कटिवद्व रहेकाे बताउँदै शिक्षमा आवश्यक वजेट विनियाेजन गर्न पछि नहट्ने बताए ।
उक्त शैक्षिक विमर्श कार्यक्रममा शिक्षाविद् प्राडा विद्यानाथ काेईराला, शैक्षिक ब्यक्तित्वहरु उत्तरकुमार पराजुली र घनश्याम पाठकले सहजीकरण गर्नेछन् । तिनाउभरिका विद्यालयबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक अभिभावक संघका अध्यक्ष एवम् प्रअहरुकाे सहभागिता रहने शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले बताईन् । साथमा स्थानीय राजनीतिक पार्टीका नेताहरुकाे समेत सहभागिता रहने छ ।
प्रतिक्रिया