ताजा अपडेट »

मह बिक्री नभएपछि निराश हुदैँ ‘मौरी पालक’

विहीबार, २१ बैशाख २०८०, १४ : ०८
88 Shares
विहीबार, २१ बैशाख २०८०
88 Shares

दाङ । तुलसीपुर उपमहानगरपालिका १५ बस्ने आशिष अधिकारीले मौरी पालन गर्दै आएका छन् । उनले विगत ६ वर्षदेखि मौरी पालन पेशा गर्दै आएका छन् । उनले कृषिमा केही गर्नु पर्छ, भनेर यो व्यवसाय रोजेको भएयता पनि पछिल्लो समय उत्पादन भएको मह बिक्री नहुँदा निराश भएका छन् । उनीसँग अहिले ३ सय घार मौरीहरू रहेका छन् । उनीसँग अहिले साढे ३ हजार किलो उत्पादित मह रहेको छ । उनले आफूले उत्पादन गरेको महको बजारिकरण नहुँदा घरै थन्किएर रहेको समेत बताए । उनका अनुसार यस पटक आफूसँग करिब ६ हजार किलो मह उत्पादन भएको भएयता पनि साढे ३ हजार किलो घरमा रहेको छ ।

उनले भने,‘ मसँग अहिले ३५ सय किलो मह छ । तुलसीपुर उपमहानगरमा मौरी पालक किसानहरूसँग अहिले करिब २ र ३ सय टन मह रहेको छ । भारतबाट आएको महका कारण हामीहरूले उत्पादन गरेको मह बिक्री हुँदैन । जसले गर्दा उत्पादन भएको मह घरमा थन्किएको छ ।’ उनका अनुसार भारतबाट सस्तो मूल्यमा मह आउँदा आफूहरूले उत्पादन गरेको महले प्रतिस्पर्धा गर्न नसक्दा बिक्री हुन नसकेको हो । ‘ हामीले घरेलु विधिबाट सानो डिब्बामा प्याक गरेर पठाउँदा मह जम्छ । महको गुण भनेको नै जम्नु पर्ने हुन्छ । तर, उपभोक्ताहरूले त्यो कुरा नबुझेको हुँदा हाम्रो मह बिक्री हुँदैन । भारतबाट आएको मह पातलो र सस्तोमा आउँदा उपभोक्ताहरूले त्यही रोज्छन्,‘ उनले भने ।

उनले आफूहरू जस्ता किसानहरूले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीलाई पाल्न समस्या भइरहेको समेत बताए । उनले यस्तै अवस्था आएमा अब यो पेशाबाट विस्थापित हुनु पर्ने समेत बताए । उनले भने,‘ उत्पादन भएको मह बिक्री हुँदैन । मौरीलाई चारोको रुपमा चिनी कसरी खुवाउने रु अब अरु घारहरू बिस्तार गर्ने कि नगर्ने भन्ने दोधारमा रहेको छु । अब यस्तै रहेमा यसबाट विस्थापित हुनु पर्छ, जस्तो लाग्छ ।’ उनका अनुसार उत्पादन भएको मह राम्रोसँग राखेमा एक वर्षसम्म खान मिल्ने भन्दै अब बिक्री नभएमा केही मौरीलाई खुवाउने र केही खाडलमा हाल्ने उपाय नै छैन् । यस्तै उनले अहिले महले बजार नपाएपछि यस पेशा प्रति सन्तुष्टि नभएको भन्दै अब विकल्पमा अर्को पेशा गर्ने की रु विदेश जाने भन्ने रहेको समेत बताए ।

यस्तै उनले यसरी किसानहरूले उत्पादन गरेको बस्तुहरू बिक्री नहुँदा पलायन हुने अवस्था आइरहेको अवस्थामा राज्य मौन रहेका पनि गुनासो गरे । राज्यले आफूहरूले उत्पादन गरेको बस्तुको बजारिकरणको व्यवस्था गरिदिनु पर्ने समेत उल्लेख गरे । उनले भने,‘ चिनीको भन्सार दर ४० रुपैयाँ हुन्छ । तर, महको भन्सार रेट ९ रुपैयाँ हुन्छ । विज्ञ ब्यक्तिहरू आएर यसरी मह जम्छ , भनेर जानकारी नदिने । हामीले महको लागि मौरी मात्र नभइ प्रकृतिलाई समेत बचाइरहेका छौँ । अहिलेसम्म राज्य मौन रहेको छ । अनुदानको नाममा जे सजिलो हुन्छ, त्यही गरिदिने । हामीहरूको समस्यामा मौन भएर बसिदिने, अनि कसरी किसानहरू अगाडि बढ्न सक्छन् । ’ यस्तै उनले सबै लागत खर्च जोडेर आफूहरू प्रतिकिलो ४ देखि साढे ४ सयमा मूल्यमा बिक्री गर्ने गरेको पनि बताए ।

उनले यसरी दिँदा पनि कमाउनु भन्दा नि दैनिकी कसरी चलाउने भन्नेमा चिन्ता हुने गरेको पनि उल्लेख गरे । पछिल्लो समय जिल्लामा महको बिक्री नभएपछि उत्पादनमा पनि घट्दै गएको उनको भनाइ छ । , तुलसीपुर उपमहानगरपालिका ६ का माधव शर्माले मौरी पालन गर्दै आएका छन् । उनीसँग अहिले ११० घार मौरी छ । उनले यस वर्ष २ टन मह उत्पादन गरेका थिए । तर, त्यो मह बिक्री भएको छैन । मह बिक्री नभएपछि त्यतिकै थन्काएर राख्नु पर्ने बाध्यता रहेको बताए । उनका अनुसार विगत २ वर्षदेखि जिल्लामा उत्पादन भएको महले बजार नपाउँदा किसानहरू निराश बन्दै गएका छन् । उनले भने,‘ हामीले उत्पादन गरेको राम्रो मह बिक्री हुँदैन । तर, भारतबाट आउने महले बजार पाउने गरेको छ । भारतबाट मह ल्याउँदा राज्यले भन्सार लगाउँदैनन् । जसले गर्दा यहाँ सस्तोमा बिक्री हुन्छ । तर, हामीहरूले आफ्नो लगानी अनुसार न्यूनतम मूल्यमा दिँदा पनि बिक्री हुँदैन । ’

उनले आफूहरू लागत करिब ३ सय भन्दा माथि पर्ने जाने भएकाले न्यूनतम मूल्यमा दिने गरेको भएयता पनि भारतबाट आएका मह एक र दुई सयमा पाइने भएकाले व्यापारीहरूले पनि त्यही बेच्ने गरेको बताए । उनका अनुसार विगतमा मौरीबाट राम्रै आम्दानी गर्ने गरेका किसानहरू पनि पछिल्लो समय यसप्रति भविष्य देख्न छाडेका छन् । यस्तै उनले गत वर्ष आफूसँग ६० घार मौरीबाट डेढ टन मह उत्पादन भएको भन्दै बिक्री नहुने अवस्थाले गर्दा यस पटक कम मात्रामा उत्पादन गरेको पनि बताए ।

अहिले जिल्लाका धेरै पौरी पालन किसानहरूको मह बिक्री नहुँदा घरै थन्काएर राख्न बाध्य भएको पनि उनको भनाइ छ । उनले भने,‘ मह धेरै उत्पादन गर्नको लागि मौरीलाई बाहिर लैजानु पर्छ । तर, बजारको अवस्था देखेर यस पटक मैले बाहिर लगेन । घाटा लागेर मह बिक्री गर्नु भन्दा उत्पादन नै कम गर्ने भनेर काम गरेको थिए । यस्तै अब राज्यले एउटै नीति बनाएपछि मात्र किसानहरू बच्न सक्ने भन्दै उनले यस्तै अवस्था रहेमा सबै पलायन हुने पनि प्रस्ट पारे । उनले भने,‘ राज्यले प्रत्येक क्षेत्रमा लगाउन गर भनेर सिकाउने । तर, बजार व्यवस्थापन ध्यान नदिएमा सबै यस पेशाबाट पलायन हुने अवस्था हुन्छ । हामीहरूले यसका बारेमा पटक पटक सम्बन्धित निकायलाई जानकारी पनि गराएका छौँ । ’
जिल्लामा हाल ५ सय हाराहारी किसानहरूले मौरी पालन गर्दै छन् । तर, किसानको संख्या बढेपनि उत्पादित मह बजारीकरणमा ध्यान नदिनु सरकारको पनि कमजोरी रहेको उनीहरूको भनाइ छ ।

यो वर्ष जिल्लामा करिब ३ सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो । यता उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले उपभोक्ताले पनि स्थानीय उत्पादन नचिन्दा जिल्लामा उत्पादन भएको महले बजार पाउन नसकेको बताए । उनका अनुसार भारतबाट आउने महको गुणस्तर यहाँ उत्पादन भएको भन्दा कम हुने भएयता पनि बजारमा त्यही बिक्री वितरण भएको पाइन्छ । यस्तै उनले बाहिरबाट आएको मह भन्दा यहाँ बनेको मह धेरै राम्रो हुने भएकाले उपभोक्ताहरू पनि सचेत हुनु पर्ने उनको धारणा छ ।

यस्तै उनले स्थानीय उत्पादनलाई पहिचान गर्न अहिले धेरै ठुलो चुनौति भएको पनि बताए । उनले भने,‘ बाहिरबाट आएको मह प्रसोधन भएर आएको हुँदा त्यो जम्दैन । यहाँ उत्पादन भएको राम्रो कच्चा पदार्थ मह जमेको हुन्छ । त्यो भएर उपभोक्ताहरू पनि नजम्ने मह त्यो पनि सस्तोमा पाएपछि किनेका हुन्छन् । तर, अब यहाँ उत्पादन भएको महको बारेमा उपभोक्तालाई जानकारी गराउन जरुरी छ । ’ यस्तै तुलसीपुरमा करिब ५ सय क्विन्टल मह बिक्री नभएको भन्ने किसानहरूबाट आफूले जानकारी पाएको पनि उनको भनाइ छ ।

यस्तै उपमहानगरले पनि यहाँ उत्पादन भएको महलाई कसरी बजारिकरण गर्न सकिन्छ, भनेर छलफल भइरहेको समेत उनले बताए । यस्तै उनले यहाँ उत्पादन भएको महको प्रचार प्रसार गर्ने र दैनिक चिनी प्रयोगको सट्टामा मह खाने बानी बसालेमा पनि आन्तरिक खपत हुनसक्ने बताए । यस्तै तुलसीपुरमा गत वर्ष १० घार भन्दा बढि मौरी पालन गर्दै आएका ५० भन्दा बढि किसानहरू रहेको पनि उनले बताए । यस्तै यहाँ उत्पादन भएको महलाई नामसहित प्याकिङ गरेर बजारमा ल्याउनको लागि मौरी पकेट अन्तर्गत काम गर्न लागेको पनि उनको भनाइ छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी