काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भइरहेको छ । मौसमको अवस्था हेर्दा आज परिणाम आउनेमा विश्वस्त हुने स्थिति छैन ।
नेपालले यूएईको नवौं विकेट लिइसकेपछि खेल रोकिएको हो । नेपालका बलरहरु पूर्णरुपमा हावी भइरहँदा यूएई झिनो रनमा समेटिने अस्वस्था थियो । खेल रोकिनुअघि यूएईले २७.३ ओभरमा १०६ रन मात्रै जोड्न सकेको छ ।
यदि आज खेल हुन सकेन भने भोलिलाई रिजर्भ डे राखिएको छ । धेरै समर्थकहरुको चासो छ, भोलि फेरि खेल हुँदा आज नेपालले लिएका ९ विकेट के हुन्छन् ?क्यानका प्रवक्ता दुर्गा पाठकले अहिलेको नियम अनुसार आज पूरा खेल हुन नसकेको खण्डमा भोलि खेल सुचारु हुने बताए ।‘आज खेल जुन स्थितिमा छ, त्यहीँबाट सुचारु हुन्छ । सुरुबाट हुँदैन,’ उनले भने ।
अर्थात् भोलि २७.४ बलबाट पहिलो इनिङको खेल सुचारु हुने छ र यूएईको अन्तिम जोडी कात्र्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा आउनेछन् । बलिङको सुरुवात ललित राजवंशीले नै गर्ने छन्, जसले आफ्नो पाचौं ओभरको चौंथो बल फ्याकेपछि खेल रोकिएको थियो । खेल रोकिनुअघि ललितले लगातार बलमा दुई विकेट लिएका थिए । त्यसैले उनीसँग आफ्नो ह्याट्रिक पूरा गर्दा यूएईलाई अलआउट गर्ने अवसर हुने छ ।
तर, यदि आज मौसम उघ्रिएको खण्डमा अम्पायरहरुले ओभर छोट्याउने र टार्गेट पनि समायोजन गर्ने निर्णय लिन सक्छन् ।उदाहरणका लागि २० ओभरका बलिङ हटाइयो भने नेपाललाई ३० ओभरमा यूएईले खडा गरेको भन्दा थोरै स्कोर पछ्याउन लगाउने छन् ।तेस्रो विकल्प भनेको सुपरओभरबाट पनि निर्णय हुन सक्छ । क्यानले यदि खेल अनिर्णयत भएमा दुईवटा सुपरओभर हुन सक्ने जनाएको छ ।
यसमा दुवै टिमले एक–ओभर बलिङ र ब्याटिङ गर्न पाउँछन् । जसले बढी रन बनाउँछ उही विजेता बन्छ । सुपर ओभरमा जानु भनेको कमजोर अवस्थामा रहेको यूएईले शून्यबाटै अवसर पाउनु हो । नेपालले अहिलेसम्म गरेको बलिङ खेर जानु हो ।
भोलि पनि वर्षाले खेल विथोलेमा अम्पायरहरुले डीएल मेथडका आधारमा ओभर छोट्याएर नेपाललाई नयाँ टार्गेट दिन सक्छन् । त्यो पनि सम्भव नभए सुपरओभरबाट फैसला हुन्छ । र, यदि त्यो पनि सम्भव नभएमा नेपाल स्वत विश्व एकदिवसीय वरियताका आधारमा एसिया कपका लागि छनोट हुन्छ । एकदिवसीय वरियतामा नेपाल यूएईभन्दा अगाडि छ ।
प्रतिक्रिया