बुटवल । रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतलाई २ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २८१ रनको योगफल तयार पार्यो ।
नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रनको इनिङ खेले । कप्तान मोहमद अस्लामको बलमा यासिन पटेलबाट क्याच आउट हुँदा रोहित ६ रनले शतक बनाउन चुके । रोहितले यसअघि, चौथो विकेटका लागि कुशल मल्लसँग १ सय ९ रनको साझेदारी गरेका थिए ।
कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४(४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे। ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०।५ ओभरमा ७७ रनको साझेदारी भयो।
भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए। करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे।
बलिङमा कुवेतका मोहमद अस्लाम र एडनान इड्रेसले ३(३ विकेट लिए। अर्को सेमिफाइनलमा मुलपानीमा ओमान र युएईबीच खेल भइरहेको छ। प्रतियोगिताको फाइनल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।
प्रतिक्रिया