ताजा अपडेट »

वर्षाले नेपाल र साउदी बीचको खेल अन्यौल, खेल हुने सम्भावना कति ? (यस्तो छ मौसमी पूर्वानुमान)

सोमबार, ११ बैशाख २०८०, ०९ : ५८
45 Shares
सोमबार, ११ बैशाख २०८०
45 Shares

बुटवल । एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेविया बीचको खेलमा टस ढिलाई भएको छ। खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनुपर्ने थियो । नियमित समय अनुसार टस साढे ८ बजे हुनुपर्ने थियो । तर माथिल्लो मुलपानी मैदानमा हल्का वर्षाका कारण कभरले पिच ढाकिएको छ । त्यसैको कारण टसमा ढिलाई भएको हो ।

आइतबार राती परेको पानी र आज विहान परेको वर्षाको कारण पिच र ३० यार्ड एरिया कभरले पुरै ढाकिएको छ । दुबै टोली मुलपानी मैदानमा आएका छन् । नेपालका कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टि देशाईले मैदान निरीक्षण गरि रहेका छन् ।

मैदानका कर्माचारी पनि निरन्तर काममा खटिएका छन् । सुपर सापरले पानी सुकाउने काम गरेपनि अहिले रोकिएको छ । दुबै टोलीका खेलाडी डग आउट बाहिर छन् । मुलपानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने हुँदा यस खेललाई निकै महत्वपूर्ण रुपमा लिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विहान ८ः४५ मा १२ प्रतिशत वर्षाको सम्भावना थियो भने त्यसपछि वर्षा सम्भावना बढ्दै जाने उल्लेख गरिएको थियो । त्यसको एक घण्टापछि वर्षा सम्भावना १९ प्रतिशत छ । बिहान १०ः ४५ को समयमा १८ प्रतिशत वर्षाको सम्भावना छ । मध्याहन्न ११ः४५ बाट वर्षा हुने निकै उच्च सम्भवना छ । त्यो समय वर्षा हुने सम्भावना ५२ प्रतिशत छ ।

दिउँसो १२ बजेदेखि ३ बजेसम्म ७८ देखि ८० प्रतिशत सम्म वर्षा हुने सम्भावना देखिन्छ । दिउँसो चार बजेपछि विस्तारै घट्दै जानेछ । पूर्वअनुमानका अनुसार आज काठमाडौंमा वर्षा हुने उच्च सम्भावना देखिन्छ । त्यसैको कारण नेपाल र साउदी अरेवियाबीचको खेल प्रभावित हुने देखिन्छ । तत्काल वर्षा रोकिदा पनि खेल केहि ढिलो सुरु हुनसक्ने देखिन्छ ।

नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्ने सोचका साथ मैदान उत्रनेछ । समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । साउदी उपाधि दाबेदार नेपाललाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । उता साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । कतारलाई ७ विकेटले हराएको थियो । यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।