ताजा अपडेट »

सामाजिक चित्रणसहित प्रकाश शपुतको ‘सकम्बरी’ : ३ दिनमै कमायो २० लाख भ्युअर्स

शनिबार, ०२ बैशाख २०८०, १६ : ०५
122 Shares
शनिबार, ०२ बैशाख २०८०
122 Shares

बुटवल । विभिन्न सामाजिक विषय वस्तुलाई संगीतको माध्येमबाट चोटिलो प्रहार गर्न माहिर मानिएका गायक प्रकाश सपुतले यस पटक ल्याएको ‘सकम्बरी’ २० लाख भ्युअर्स बटुल्दै युटुवमा ट्रेन्डिङ–१ मा पर्न सफल भएको छ । विहिबार सार्वजनिक ‘सकम्बरी’ले रिलिज भएको ३ दिनमै यो समाचार तयार पार्दासम्म करिब २० लाख भ्युअर्स, १ लाख २८ हजार बढी लाईक र साढे ८ हजार बढी कमेन्ट प्राप्त गर्न सफल भएको छ ।

गरिबी, अशिक्षा, पारिवारिक यातना र आफ्नो महत्वकांक्षा पूरा गर्न शहर पसेकी ‘फूलमाया’ पात्रको माध्यमबाट सामाजिक यथार्थता तथा कलाकारिता क्षेत्रको रंगीत दुनियाभित्र हुने अध्यारो दुनियाका बारेमा ‘सकम्बरी’ले चित्रण गरेको छ ।

श्रीमतीले छोरीमात्रै जन्माएको भन्दै बुवाले दोस्रो विवाह गरेपछि बहिनी र आमाको लालनपालनको जिम्मा काँधमा लिएर आफ्नो महत्वकांक्षा पूरा गर्न ‘फूलमाया’ गाउँकै एक दाजुसँग शहर पस्छिन् । आमाले रेखदेख गर्न जिम्मा लगाएका गाउँकै दाजुसँग शहर पसेर मोडलिङ क्षेत्रमा लाग्ने सपना बोकेकी फुलमाया उनैबाट लुटिन पुग्छिन् । विश्वास गरेको व्यक्तिबाटै लुटिएपछि फूलमायाले आफ्नो जीवन शैली परिवर्तन गर्न थाल्छिन् । जसरी पनि आफ्नो सपना पूरा गर्ने संकल्पसहित शहरियाहरुको ओछ्यान तताउने र छिट्टै धन कमाउन ‘फूलमाया’ ‘सकम्बरी’मा परिणत हुन्छिन् ।

धन मात्रै होइन, रात विताएको पैसा र साथले गर्दा सानैदेखिको मोडलिङ बन्ने महोत्वकांक्षा पनि पूरा गर्न सफल हुन्छिन् सकम्बरी । त्यसपछि समाचारको प्रमुख पात्र बनेर छापिन्छिन् । ‘सस्ती सकम्बरी’, ‘सबैकी सकम्बरी’, ‘मिस्टेरियस सकम्बरी’, ‘आधुनिक सकम्बरी’, ‘फुलमायादेखि सकम्बरीसम्म’ लगायत अनेकन फुर्का जोडेर उनी समाचारको प्रमुख पात्र बन्न सफल हुन्छिन् ।

करिब १५ मिनेटको म्युजिक भिडियोमा ३ घण्टा लामो फिल्मले दिनेभन्दा बढी सन्देश प्रकाश शपुतको ‘सकम्बरी’ले दिएको छ । हरेक पटक हेर्दा एउटा फरक सन्देश भेट्न सकिने र एकै पटकमा व्याख्या गर्न नसकिने सन्देश सकम्बरीले दिन खोजेको छ । समग्रमा संगीतको माध्यमबाट सपुतले सामाजिक क्रान्ति गर्ने प्रयास गरे पनि सकम्बरीमा केही कमजोर पक्षहरु पनि नभएका भने होइनन् ।

सकम्बरीमा देखाइएका सबै पुरुषहरुलाई यौन पिपासुको रुपमा प्रस्तुत गर्नु पहिलो कमजोर पक्ष हो । ‘फूलमाया’बाट ‘सकम्बरी’ बनेकी पात्रले आफ्नो संघर्षको बारेमा सन्देश दिए पनि ‘कलाकारिता क्षेत्रमा लाग्ने सबै महिला यसैगरी शरिर बेच्ने गर्छन’ भन्ने गलत सन्देश जाने डर पनि उत्तिकै रहन सक्छ । पत्रपत्रिकामा चर्चित बनेपछि राजनीतिमा प्रवेश गर्नका लागि सकम्बरीलाई कसैले फोनमा प्रस्ताव गरेको छ । अर्को भागमा पनि भेट हुनेगरी सपुतले दर्शक श्रोतालाई यसै म्युजिक भिडियोमा प्रस्ट पारेका छन् । आशा गरौं अर्को गीतमा थप सुधार गरेर अझ बढी उत्कृष्ट बन्ने छ ।

यसबाहेक सुपतको स्वर र संगीत बीच निकै राम्रो संयोजन पाउन सकिन्छ । गायनमा सपुतलाई ब्रता गन्दर्वले साथ दिएकी छन् । म्युजिक भिडियोमा सपुतका साथै सुनिल थापा, कुसुम शर्मा, निक्स शर्मा, सन्जोग रसाइली, सरस्वती अधिकारी, सरिता राजोपाध्याय र सालिक भण्डारी रहेका छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।