भैरहवा । उप–प्रधानमन्त्री एवम गृहमन्त्री नारायण काजी श्रेष्ठले निस्क्रिय रहेको नागरिकता सम्बन्धि विधेयकलाई अगाडी बढाउने बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न नमिल्ने जिकिर गरे । “मैले गृहमन्त्रीको रुपमा कार्यभार सम्हाले देखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकता बिहिन बनाएर राख्न सकिन्न, नागरिकता बिहिन भएको पिडा हामीले बोध गर्न सक्नुपर्छ ।” उनले भने “संविधान अनुसार नागरिकता पाउने गरि बनाईएको विधेयक अगाडी बढाउछौं ।” उनले नागरिकता सम्बन्धित केही बिषयमा भने राष्ट्रिय सहमति गर्ने बताए । त्यसबारेमा सबै राजनैतिक पार्टी एवम राष्ट्रिय जिवनका महत्वपूर्ण ब्यक्तित्वहरुसंग छलफल गरिने उनको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले शान्ती प्रक्रियाको संविधान सभाबाट राजनैतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने र सेना समायोजन गरि २ प्रक्रिया सकेको र संक्रमणकालीन न्याय सम्बन्धि काम अझै पनि बाँकी रहेकोले यसलाई पुरा गरिनु पर्ने उनको भनाई छ ।
यो पुरा भए मात्रै शान्ती प्रक्रिया समग्रमा पुरा हुने श्रेष्ठले बताए । “यसको लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पुरा गर्नुपर्छ ।” श्रेष्ठले भने “यसको लागि हामी फेरी पनि संसदमा प्रवेश गरेका छौं, यो कामलाई पूर्णता दिनु छ ।” उनले अर्थतन्त्रका तत्काल देखा परेका समस्यालाई समाधान गरेर अर्थतन्त्रलाई लयमा ल्याउन सके मात्र समृद्धिमा फड्को मार्न सकिने बताउदै उनले एक दुई दिनमै अर्थतन्त्रको समस्याहरु पहिचान गर्न र यसको समाधानको उपाय बारे बिज्ञहरु सहित बैठक बस्ने तयारी भई रहेको जानकारी दिए । “यसमा प्रधामन्त्री आफै अग्रसर हुनुहुन्छ, मन्त्री परिषद् निर्माणमा भएको केही ढिलाईको कारण यो अभियान अलि ढिलो भएको छ ।” उनले भने “तर अब मन्त्री परिषदले मूलभुत रुपमा पूर्णता पाएको छ यसर्थ अब समृद्धिको लक्ष्य पुरा गर्न समर्पित रुपमा लाग्नेछौं ।” श्रेष्ठले आफुले गृहमन्त्रालय सम्हाले देखि नै आन्तरिक सुशासन र बाह्य सुशासनमा जोड दिएको बताए । प्रशासनिक र सुरक्षा निकायमा कतै पनि राजनितिक दबाव र अन्य दबाबले भूमिका खेल्न नपाओस भनि आफु सतर्क रहेको उनको भनाई छ । “जनताको सेवालाई सहज ढङ्गले दिने र शान्ती सुरक्षा सुनिश्चित गर्ने र शान्तीपूर्ण ढङ्ग वातावरणमा जनताले जिवन गुजार्न पाउने अधिकारको सुनिश्चित गर्न चाहान्छौं ।” उनले भने “यस संगै कालोबजारी, अपराध नियन्त्रण गर्ने काम गर्छौ ।”
प्रतिक्रिया