ताजा अपडेट »

बुटवलका मेयरका लागि दोस्रो खुलापत्र

आइतबार, २६ चैत्र २०७९, १२ : ३०
68 Shares
आइतबार, २६ चैत्र २०७९
68 Shares

बुटवल बजारको नजिकै रहेको अत्यन्तै रमणीय ऐतिहासिक महत्व बोकेको नुवाकोट डाँडा अत्यन्तै सुन्दर छ । तराईसँग जोडिएका अन्य चुरे पहाडले जस्तै नुवाकाटले पनि बुटवललाई सुन्दरमात्र बनाएको छैन, सितलता पनि प्रदान गर्दछ । चराहरूको चिर्बिरसँगै जङ्गलको हरियालीले मनै लोभ्याउछ । प्राकृतिक भू–बनोटले मात्रै होइन सेन वंशीय राजाहरुले विचरण गरेको ऐतिहासिक स्थल हो नुवाकोट । बुटवल उपमहानगरपालिका वाड नम्बर १३ मा अवस्थित पाणिनी पार्क नजिकै रहेको सुन्दर रमयणीचुरे पहाडको जङ्गल क्षेत्र (प्रसिद्ध ऐतिहासिक नुवाकोट गढी जाने बाटोको क्षेत्र) बाट बुटवलको सुन्दर दृश्य देख्न सकिन्छ । पक्की बाटोको पहुँच पुगेको यस क्षेत्र घुम्नको लागि मुख्य आकर्षणको केन्द्र बनेको छ ।

तराईको सिरानमा रहेको चुरेपर्वत वास्तवमै सुन्दर छ । विकासकै क्रममा नुवाकोटसम्म पुग्ने नाके उकालो बाटो पक्की भएकोले पनि अझै धेरै सजिलो भएको छ आवतजावत गर्नको लागि । टाढाबाट हेर्दा देखिने सुन्दर रूखहहरूको दृश्यको नजिकै पुगेर हेर्दा देखिने जमिनको वास्तविकता भने कहाली लाग्दो छ । खासमा भन्नुपर्दा मादकपदार्थ सेवन गर्ने सुरक्षित स्थान बनेको छ । जङ्गलमा जाने खाने, पिउने जथाभावी फोहोर जङ्गलमा फ्याक्ने काम भैरहेको छ । बिना कुनै संकोच खुलेयाम प्लास्टिकका झोलामा मादक पदार्थ बोकेर जङ्गलभित्र छिरेको दृश्य देखियो ।

सहरको व्यस्त जीवनबाट अलिकति फुर्सद निकालेर घुम्न जाने सभ्य शहरीया भनाउँदाहरूले जङ्गललाई फोहोर बनाएका छ्न् । जङ्गलमा गएर मादक पदार्थ सेवन गरेर फ्याकेका सीसाका बोतल हजारौंको संख्यामा जङ्गलभरी यत्रतत्र देख्न सकिन्छ । त्यो बाहेक प्याकिङ्ग खानेकुराका खोल, पानी कोल्ड ड्रीङ्सका बोतल, सुर्तीजन्य पदर्थका खोलहरू, प्लास्टिकका झोलाहरू असंख्य रूपमा देखिन्छन् । कतै कतै जलाएको कालो खरानीको डोभहरू पनि देखिन्छन् ।
– यसरी फ्याकिएको फोहोरले जङ्गललाई के असर पुर्याउछ ?
– यसरी सार्वजनिक स्थानमा फोहोर गर्न हुन्छ कि हुँदैन ?
– यसरी फोहोर गर्ने छुट कसले दिएको छ ?
– यसरी दैनिक रूपमा थुप्रीएको फोहोरका कारण जङ्गलको भविष्य के होला ?
– हाम्रा सन्ततिहरूले के सिक्छन् यस्ता दृश्यहरूबाट ?
भर्खरै उम्रदै गरेका नयाँ विरूवाहरू हुर्कन सकेका छैनन् । हुर्किसकेका बोटबिरूवाहरू पनि प्लास्टिक र रक्सीका सीसाका बोतलको अतिक्रमणमा परेका छन् । यसरी जङ्गलमा फोहोर गर्ने क्रम दैनिक बढ्दै गइरहेको छ । यसले पार्ने दीर्घकालीन असर भनेको जङ्गलको विनास र पहिरो नै हो । यसरी प्राकृतिक सम्पदाको रक्षा गर्ने काममा सरकारको भूमिका शून्य प्राय देखिन्छ । पर्यावरण मानिसको लागि नभै हुँदैन । यति आवश्यक कुरामा पनि जनप्रतिनिधिको ध्यान नपुग्नु आफैमा एउटा लज्जास्पद कुरा हो । सार्वजनिक ठाउँमा मनपरी गर्ने छुटको कारण यस्ता सुन्दर प्राकृतिक सम्पदाको अस्तित्व लोप हुने खतरा बढेको छ ।

सन्दर्भ के पनि जोड्न चाहान्छु भने, बुटवल उपमहानगरले नुवाकोट गढीको बारेमा भाबी पुस्तालाई जानकारी गराउने उद्देश्यले ‘हाम्रो बुटवल’ भन्ने स्थानीय पाठ्यक्रममा त समेट्यो । तर, नुवाकोट गढीको संरक्षण्का सवालमा पनि केही सोच्ने की ? होइन भने हामीले बालबालिकाहरुलाई ऐतिहासिक स्थल नुवाकोट गढी भनेर सिकाइरहँदा उनीहरु अवलोकनका लागि पुग्दा देखिने दृश्यले उनीहरुको शुष्म बाल मस्तिष्कमा कस्तो प्रभाव पर्ला ? दिनप्रतिदिन कंक्रिटले भरिँदै गएको बुटवललाई आखिरमा सिञ्चित गरी सितलता प्रदान गर्ने त यही नुवाकोटको चुरे पहाडले नै होला नि ? नुवाकोटका जँगलमा वार्षिक रुपमा यसरी हजारौं टन प्याष्टिक, सिसा लगायत फोहरजन्य बस्तुले भरिँदै गयो भने बुटलबासीको जमिनमा मात्रै होइन स्वास फेर्ने बेलामा समेत त्यो पहाडले हामीलाई फोहोर हावा पठाउने छ । तराईका खेतियोग्य जमिनमा वर्षायामको हरेक समयमा हामीले लगेर थुपारोका पोहरका डँगुर हामीलाई नै त्यो पहाडले फिर्ता पठाउने छ । आखिर जे अन्याय हामीले चुरे पहाडलाई गरेका छौं उसले पनि पालोको पैचो गर्छनै ।

अन्त्यमा अब तुरुन्तै नुवाकोटमा सरसफाइको अभियान चलाउनु हुन यसै पत्र मार्फत अनुरोध गर्दछु । साथै नुवाकोट जङ्गललाई मादकपदार्थ सेवन गर्नबाट र जथाभावी प्लास्टिक फ्याक्न नदिनको लागि कडाभन्दा कडा नियम बनाइ सुन्दर नुवाकोटको डाँडाको संरक्षण गरियोस् । प्रकृति छ जीवन छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।