काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले राष्ट्रिय आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद घिमिरेले मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बनाउन आगामी आर्थिक वर्षबाट राष्ट्रिय अभियान सञ्चालन गर्न सरकारसँग माग गरेका हुन् ।
कृषि उत्पादनको आयात बढ्दै जाँदा मुलुकको अर्थतन्त्र कमजोर हुनुको साथैं खाद्य सुरक्षा चुनौती पनि बढ्न सक्ने भएकोले प्रमुख खाद्यबाली र तरकारीमा आत्मनिर्भर हुने गरी राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । सांसद घिमिरेले धान, मकै, भट्टमास, आलु, गोलभेडा, प्याजलगायतका तरकारी र सुन्तला जातका फलफूलमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताए । यसका लागि सरकारले किसानलाई मल, बिऊँ, प्रविधि, औजारमा यथेष्ट सहयोगका साथैं उत्पादित बस्तुको लागतअनुसारको मूल्य र बजारको सुनिश्चित गर्नुपर्ने स्पष्ट पारे ।
चालु आर्थिक वर्षको ११ महिनामा २० खर्बको कृषि उपज आयात भएको तथ्यांक उल्लेख गर्दै सांसद घिमिरेले सरकारले अहिले लिएका नीति र कार्यक्रमले मुलुकलाई कृषि उपजमा थप परनिर्भर बनाउँदै लैजाने बताए । उत्पादन लागत बढीको हुनुको साथैं बजार समेत सुनिश्चित नहुँदा किसान कृषि पेशामा टिक्न नसकेको उल्लेख गर्दै सांसद घिमिरेले सरकारी बजेटमा सञ्चालमा रहेका कृषि विकासका कार्यक्रम पनि प्रभावकारी हुन नसकेको बताए ।
आर्थिक रुपमा सक्रिय जनसंख्यामध्ये ५७ दशमलव ३ प्रतिशत कृषि पेशामा आवद्ध रहे पनि मुलुकमा कृषि उत्पादनको आयात बढ्दै जानु गम्भीर चिन्ताको विषय भएकोले यसमा सरकार संवेदनशील बन्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया