ताजा अपडेट »

सिद्धबाबा सडकको विकल्प ‘चरङ्गे–झुम्सा’ र ‘बेलबास–नुवाकोट’ किन हुन सकेन ?

मंगलबार, २१ चैत्र २०७९, १७ : ०६
78 Shares
मंगलबार, २१ चैत्र २०७९
78 Shares

बुटवल । मृत्यु मार्गका रूपमा परिचित छ सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्र । सिद्धबाबा क्षेत्रमा वर्षा र हिउँदमा बर्सेनी जाने पहिरोमा परी धेरैले ज्यान गुमाउने गरेका छन् । विस २०१८ सालदेखि खन्न सुरू गरेको बुटवल-पाल्पा सडकमा २०२८ सालदेखि सवारीसाधनको आवागमन हुन थालेको थियो । अहिले दैनिक दुई हजार बढी सवारीसाधन यो राजमार्ग हुँदै गुड्छन् । धेरैजसो यो राजमार्ग हुँदै पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँची आवतजावत गर्छन् ।

सिद्धबाबालाई अहिले सुरक्षित बनाउन सुरूङमार्ग निर्माणको काम अगाडि बढेको छ । चिनियाँ निर्माण कम्पनीले रूपन्देही र पाल्पाको सीमाना नजिकै १ हजार १०० मिटर सडकमा सुरूङ खन्न लागेको छ । सिद्धबाबामा सुरुङ निर्माणको काम अघि बढेसँगै निर्माणको क्रममा सम्भावित दुर्घटना हुन नदिन दैनिक ९ घण्टा आवागमन ठप्प हुने गरेको छ । विहान १० बजेदेखि दिउँसो २ बजेसम्म तथा रातको १० बजेदेखि विहान ४ बजेसम्म बाटो बन्द गरेर निर्माणको काम भैरहेको छ । सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग बन्नेछ भने जोखिमयुक्त ठाउँमा प्यानल निर्माण हुने बताइएको छ । सुरुङमार्गको बीचमा तीन वटा एक्जिट अर्थात् बाहिर निस्कने द्वार समेत बन्नेछ । एमाले उपाध्यक्ष तथा रुपन्देही–२ का सांसद विष्णु पौडेलको अग्रसरतामा बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्गको ‘ग्लोबल टेन्डर’ भएको थियो । अहिले डिजाइनको काम सकिएर डाइभर्सनको काम भइरहेको छ ।

सुरुङमार्गको काम हेर्ने डिभिजन सडक कार्यालय (बुटवल)का प्रमुख होमबहादुर एसीले अहिले बिहान र राति बुटवल–झुम्सा सडक बन्द गरेर मुख्य काम सुरु गर्नुअघि डाइभर्सन निर्माण भइरहेको बताए । सिद्धबाबा क्षेत्रमा यसअघि पहिरो र जोखिम रोक्न विभिन्न विकल्प अगाडि सारिए पनि सफल नभएपछि सुरुङ मार्गको योजना अघि बढेको हो । यसअघि जोखिमयुक्त क्षेत्रमा करोडौँ खर्च गरेर ‘रकसेट’ र ‘हाफ टनेल’ बेन्च कट लगायतका ६ विकल्प प्रयोग गरिएको थियो । सुरुङमार्ग तिनाउँ गाउँपालिका-२ सिद्धबाबामा रहेको सिद्धबाबा मन्दिरको उत्तरतर्फबाट सुरु भई दोभान नजिकै रामापिथेकस पार्क अर्थात् हेडबक्ससम्म बन्नेछ । सात अर्ब ३४ करोड २१ लाख लागत अनुमान गरिएको सुरुङमार्ग स्विस सरकारको विकास सहयोगमार्फत निर्माणका लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) गरिएको थियो । सुरुङमार्ग पाँच वर्षभित्र बन्ने गरी ठेक्का गरिएको छ । ठेक्का लगाएको एक वर्ष पूरा भएको छ ।

डिभिजन प्रमुख एसीले सुरुङमार्ग निर्माणका लागि डीपीआरको काम सकेर सडक विभागमा पेश गरिएको र सो प्रतिवेदन स्वीस सरकारको परामर्शदाताले अध्ययन गरिरहेको छ । करिब ३ महिनाअघि अध्ययनका लागि बुझाइएको डिपीआर प्रतिवेदन यसै आर्थिक वर्षको अन्तिमसम्ममा आइपुग्ने अनुमान गरिएको एसीले बताए । डीपीआर परीक्षणको सम्पूर्ण प्रतिवेदन एकसाथ प्राप्त नभएपनि विभिन्न भागमा छुट्याएर काम नरोकिनेगरी अन्तिम प्रतिवेदन आउने र सोही अनुसार काम निरन्तर अघि बढ्ने उनले बताए । सोही अन्तिम प्रतिवेदनको आधारमा सुरुङ निर्माणको मूख्य काम सुरु हुने छ ।

यसरी सिद्धार्थ राजमार्ग अन्तरगटको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा बाटो बन्दहुँदा यो सडक हुँदै गुड्ने सवारी साधनहरुले घडी हेरेर पालो कुर्नुपर्ने बाध्यता रहेको छ । यो सडकको बैकल्पिक मार्गका रुपमा निर्माण गरिएको चरङ्गे–चण्डिभञ्याङ–झुम्सा सडक स्तरीय नहुँदा प्रयोग गर्न सकिएको छैन । यसैगरी बेलबास–नुवाकोट–दोभान सडक विकल्पको रुपमा भएपनि यो सडक समेत मर्मत गर्नुपर्ने अवस्थामा रहेको छ । वर्षायामको समयमा समेत प्रयोग गर्न सकिने यी सडक समयमै निर्माण सम्पन्न नहुँदा विकल्प बन्न नसकेको हो ।

किन गुड्न सकेनन् वैकल्पिक सडकमा सवारी ?

पाँच वर्षअघि लुम्बिनी प्रदेश सरकारले विकल्पको रुपमा अघि बढाएको चरङ्गे-झुम्सा सडक निर्माण सुरु गरे पनि यो सडकमा बढीमा ६ महिना मात्र सवारी गुड्न सक्छन् । ४० करोड बढी रकम खर्च भइसकेको यो सडक प्रदेश सरकारको गौरवको आयोजना हो । पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सादेखि चौकी भञ्याङबाट चरङ्गे हुँदै महेन्द्र राजमार्ग जोड्ने साढे २१ किलोमिटर वैकल्पिक मार्गको नयाँ ट्रयाक खोल्न सुरु गरिएको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनीका प्रवक्ता भीमार्जुन पाण्डेयका अनुसार झुम्सा-चरङ्गे सडक वैकल्पिक बाटो अझै बन्न सकेको छैन । वर्षायाममा सिद्धबाबाको पहिरो छल्ने गरी बनिरहेको सडकमा धेरै ठूलो पहिरो झर्ने तथा बजेट अभावले निर्माणको काम नसकिएको उनले बताए । रुपन्देहीतर्फ पूर्व-पश्चिम राजमार्गदेखि १३ किलोमिटर तथा पाल्पातर्फ साढे ८ किलोमिटर वैकल्पिक सडक रहेको छ । रुपन्देहीतर्फ मुढाबासदेखि चौकिभञ्जाङसम्मको ५ किलोमिटर सडक मध्ये करिब ३ किलोमिटर सडक बन्न सकेको छैन । यसैगरी पाल्पातर्फ चौकीभञ्ज्याङसम्म नै बाटो सूचारु रहे पनि स्तरोन्नती नभएका कारण वर्षाको समयमा भरपर्दो विकल्प बन्न नसकेको पाण्डेयले बताए ।
तत्कालीन मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री शंकर पोखरेलले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा सिद्धबाबाको वैकल्पिक मार्ग बनाउन झुम्सा-चौकीभन्ज्याङ-चरङ्गे सडकमा बजेट विनियोजन गरे । पहिलो वर्ष १० करोड रुपैयाँ बजेट विनियोजन गर्नुपूर्व सडकखण्डको भू-बनोट र भौगर्भिक अवस्थाबारे कुनै अध्ययन भएको थिएन ।

प्रदेश सरकारले हात हाल्नुपूर्व १ दशकअघि रूपन्देही र पाल्पाका जिल्ला समन्वय समितिको नेतृत्वमा सडकको ‘ट्रयाक’ खुलेको थियो ।पाल्पाको तानसेन नगरपालिका, तिनाउ, बगनासकाली, रिब्दीकोट गाउँपालिका र रूपन्देहीको देवदह नगरपालिकाको आर्थिक सहयोगमा विक्रम संवत् २०६९ सालमा ‘ट्रयाक’ खुलेको थियो ।

आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्ने क्रममा वैकल्पिक सडकका रूपमा रहेको सो सडकलाई सञ्चालनयोग्य बनाउनका लागि आवश्यक पर्ने पुलपुलेसाको निर्माणका लागि बजेट विनियोजन गरिएको छ । झुम्सादेखि चौकीभन्ज्याङ हुँदै धागो कारखानासम्मका सबै पुलपुलेसा, कल्भर्टका लागि ठेक्का लागिसकेको छ । नाली निर्माण, ग्राभेल, ग्याभियन भर्ने, रिटेनिङ वालको पनि ठेक्का भइसकेको छ ।

‘बेलाबस–नुवाकोट–दोभान’ सडक पनि अधुरै

सिद्धाबाबाको विकल्प बन्न सक्ने बुटवल–१३ बेलबासीदेखि नुवाकोट दोभान सडकले पनि पूर्णता पाउन सकेको छैन । बेलबास–नुवाकोट सडक कालोपत्रे भएपनि नुवाकोटदेखि दोभान जोड्ने सडक स्तरीयन नहुँदा विकल्पको रुपमा प्रगोग गर्न सकिने अवस्था नरहेको प्रवक्ता पाण्डेयले बताए । बेलबासदेखि नुवाकोटसम्मको ७ दशमलव २ किलोमिटर सडक कालोपत्रे भए पनि नुवाकोटदेखि दोभानसम्मको ९ दशमलव ८ किलोमिटर सडक कच्ची रहेको छ । उक्त सडक खण्डमा निर्माण गर्नुपर्ने २ वटा पुल बनिसकेको छ भने केही ठाउँमा कल्भर्ट निर्माण तथा स्तरोन्नती गरी कालोपत्रे गर्ने हो भने सिद्धबाबाको विकल्प बन्न सक्ने छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।