भैरहवा । इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान आजदेखि सुरु भएको छ । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई रोजा (व्रत) बस्ने गरिन्छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।
आज पहिलो दिन भैरहवाका बिभिन्न मस्जिदहरुमा सामुहिक नमाज पढ्नेहरुको घुईचो लागेको थियो । भैरहवामा रहेको निजामी मस्जिद, गल्लामण्डीमा रहेको मस्जिद लगायतका मस्जिदहरुमा रोजा बस्नेहरुले सामुहिक रुपमा नमाज पढेका छन् । रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिएको छ । मुस्लिम समुदायका लागि रमजान सबैभन्दा उत्तम र विशेष महिना रहेको मौलाना गुलाम नबि निजामी बताउछन् । ‘यो पर्वमा मूलत दुई कुरालाई महत्व दिइन्छ, एउटा निराहार व्रत र अर्को दान वा गरिब–दुःखीको सेवा । एकातिर यसले आफ्नो शारीरिक शुद्धिकरण नियमपूर्वक अभ्यास गराउँछ भने अर्कोतिर पूण्यको कामप्रति प्रेरित ।’– निजामीले भने, ‘त्यसैले रमजानलाई पवित्रता र पूण्यको पर्व मानिन्छ । रमजान दान, प्रतिदान र क्षमादान माग्ने महिना भएकोले यसलाई विशेष महिना मानिएको हो ।’
यसै खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास रहेको स्थानीय फैज अहमद खाँनले बताए । अन्य महिनाको तुलनामा रमजान महिनामा मस्जिदमा गएर नमाज पढ्दा र दान दिदा ७० गुणाबढी पुण्य प्राप्ति हुने धार्मिक मान्यता रहेको छ । मुस्लिम समुदायले यहि समयमा सबै भन्दा बढी दान दिने गरेको उनको भनाई छ । कमाईको रकमबाट अढाई प्रतिशत छुट्टयाएर गरिबहरुलाई दान दिने गरिएको खाँनले बताए ।
रोजा बस्ने भनेको बिहान ३ः४३ देखि बेलुका ६ः५० बजेसम्म निराहार बस्नु हो । यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । बिरामी, गर्भवती महिला र अशक्तलाई रोजा बस्न छुट रहेको छ । रोजा बस्ने समयभरी निश्चित नियम भने पूरा गर्नुपर्ने हुन्छ ।
रमजान महिनापछि आउने महिनालाई सव्वाल भनिन्छ । यसै सव्वाल महिनाको पहिलो दिन ईद अर्थात ईदउल फित्रका रूपमा मनाउने गरिन्छ ।
रमजान महिनामा एकमहिनासम्म प्रत्येक दिन १४ घण्टादेखि १५ घण्टासम्म पानी पनि नखाई व्रत बस्छन् । यहीँ यस पवित्र महिनाको नियम पनि हो । हरेक बालिग, सम्झदार महिला र पुरुषमाथि रमजान महिनाको रोजा अर्थात व्रत बस्नु अनिवार्य गरिएको छ । तर वृद्धवृद्धा, शारीरिक रूपमा अशक्त, सुत्केरी वा बच्चालाई दूध चुसाउने महिलाहरुमा व्रत बस्नु अनिवार्य नरहेको स्थानीय अगुवा मोहम्मद ईद्रिशको भनाई छ ।
प्रतिक्रिया