काठमाडौँ । राष्ट्रिय जनगणना ०७८ को नतिजा आज सार्वजनिक गरिएको छ। सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएको पूर्ण विवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ। जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।
गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो । राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्याङ्क विभाग मार्फत २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना सङ्कलन गरेको थियो। त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । नेपालमा हरेक १०-१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कूल जनसङ्ख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) को जनसंख्या २ हजार ९२८ देखिएको छ जुन कूल जनसङ्ख्याको ०.०१ प्रतिशत हो ।
जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो। जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप (९१.६७ प्रतिशत) रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को नतिजा मोबाइल एपबाट पनि हेर्न सकिने छ ।
प्रतिक्रिया