ताजा अपडेट »

रुपन्देहीको रोहिणीमा निःशुल्क स्वास्थ्य शिविर, ४७६ जना लाभान्वित

आइतबार, ०५ चैत्र २०७९, १२ : १४
42 Shares
आइतबार, ०५ चैत्र २०७९
42 Shares

भैरहवा । रुपन्देही रोहिणी गाउँपालिकाको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस), भैरहवाको प्राविधिक सहयोगमा रोहिणी–७ स्थित सेमरामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्व मुख स्वास्थ्य दिवस–२०२३ को अवसरमा पजरकट्टी माध्यमिक विद्यालयमा आयोजित शिविरमा ४७६ जनाको स्वास्थ्य परीक्षण भएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी.ले बताए । शिविरमा दाँत तथा गिजा, महिलारोग, बालरोग, नाक, कान, घाँटी, सामान्य रोगसम्बन्धि चेकजाँच तथा परामर्श, रगत परीक्षण, मृटुको ईसिजी सेवा प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा दाँत तथा मुख रोगसम्बन्धी जनचेतनामूलक नाटक प्रस्तुत गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले नागरिकलाई नजिकबाट स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको बताए । उनले यसअघि अन्य वडामा पनि स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए । अध्यक्ष यादवले निरन्तर सहयोग गर्दै आएको युसीएमएस धन्यवादको पात्र भएको बताए । उनले भने, ‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायत क्षेत्रमा ध्यान दिदै गाउँपालिकाको विकासका लागि अघि बढेका छौं । ’

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले शिविरमार्फत नागरिकले घरदैलोमा स्वास्थ्य सेवा पाएको बताइन् । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले युसीएमएसले गाउँपालिकाको सिफारिसमा विपन्न विरामीहरुलाई उपचारमा छुट प्रदान गरेको बताए । रोहिणी–७ का वडाअध्यक्ष अन्नान अहमद भाटले स्वास्थ्य शिविरमार्फत नागरिकले घरदैलोबाट स्वास्थ्य सेवा पाएको बताए ।

युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी.ले शिविरमा अस्पतालमा प्रदान हुने सम्पूर्ण ओपिडी सेवा उपलब्ध गराइएको बताए । उनले शिविरमा निःशुल्क औषधीको समेत व्यवस्था गरिएको जानकारी दिए । उनले भने, ‘शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरुलाई एक महिनासम्म अस्पतालमा निःशुल्क टिकटको व्यवस्था हुनेछ, त्यस्तै शल्यक्रिया (अपरेशन) र अन्य जाँचमा २० प्रतिशत छुट प्रदान गरिनेछ । ’

युसीएमएस दन्तरोग विभाग प्रमुख डा. दीपक यादवले मुख्य स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताए । उनले अस्पतालमा आउने बिरामीलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । पजरकट्टी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरज यादवले स्वास्थ्य नै धन भएको र यस्ता स्वास्थ्य शिविरबाट नागरिक लाभान्वित हुने बताए । रोहिणी गाउँपालिका–७ का वडाअध्यक्ष अन्नान अहमद भाटको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, प्रवक्ता वीर बहादुर क्षेत्रीको स्वागत तथा इन्द्रजीत रायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।