दाङ । नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । स्ववियु निर्वाचन २०७९ को लागि मतदाता नामावलीमा केही राजनीतिक दलको प्रभावमा परि नेपाल सरकारको प्रमुख सुरक्षा संयन्त्र नेपाली सेनाका जवानहरूको सहित गैर विद्यार्थीहरूलाई समावेश गरि प्रकाशित गरेर निर्वाचन षड्यन्त्र पूर्वक गर्न खोजिएको अनेरास्ववियुले आरोप लगाएको छ ।
अनेरास्ववियुका केन्द्रिय सदस्य सर्जन परियार, अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेत र अनेरास्ववियु विश्वविद्यालय विद्यापीठका अध्यक्ष राधाकृष्ण सुवेदीले स्ववियु निर्वाचनलाई तत्काल स्थगन गरि आवश्यक छानविनसहित वास्तविक विद्यार्थीको मतदाता नामावली प्रकाशन गरि पुनःस्ववियु निर्वाचन बढाउन माग गरेका छन् । अनेरास्ववियु कुनै पनि हालतमा निर्वाचनलाई धाँधली रहित बनाउनु पर्नेमा स्पष्ट रहेको भन्दै उनीहरूले सबै प्रक्रिया रद्द गर्न माग गर्दै नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय विश्वविद्यालय विद्यापीठमा तालाबन्दी गरेको जनाएका छन् ।
साथै, आफूहरूको यो आन्दोलनलाई वेवास्ता गरेमा आन्दोलनबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी निर्वाचन समिति र क्याम्पस प्रशासन हुने समेत बताएका छन् । यस्तै घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ र नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (एस) बिच चुनावी तालमेल हुने भएको छ । दुई सङ्गठनका जिल्ला नेतृत्व बिच महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चुनावी तालमेल गरेर जाने सहमति भएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिए ।
नेविसङ्घका अध्यक्ष पोख्रेल र अनेरास्ववियु ९ एस ० का कार्यवाहक अध्यक्ष खिमा घर्तीले संयुक्त विज्ञप्ति जारी गर्दै दुई संगठनको चुनावी तालमेल भएको र धुइर संगठनको गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउनका लागि अपिल गरेका छन् । यो क्याम्पसमा गठबन्धनका तर्फबाट नेविसङ्घका मनोज डिसीको स्ववियु सभापतिको उम्मेदवार छन् ।
प्रतिक्रिया