ताजा अपडेट »

राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने

शुक्रबार, २६ फागुन २०७९, ०७ : ०५
52 Shares
शुक्रबार, २६ फागुन २०७९
52 Shares

काठमाण्डौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज (शुक्रबार) पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन् । पौडेल बिहान ९ बजे पशुपति जाने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गौशाला प्रहरीले जनाएको छ ।

पशुपति दर्शनपछि राष्ट्रपति पौडेल सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र सङ्ग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ । त्यसअघि बिहान ८ बजे पौडेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । सभामुख घिमिरे आज आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर(व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन बहराइन जान लागेका छन् ।

पौडेल बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए । निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउँदैछ । त्यसपछि पद हस्तान्तरण प्रक्रिया सुरु हुनेछ ।

२८ फागुनमा राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुने भएकाले त्यसलाई ध्यानमा राखेर नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहणको मिति तय गरिने राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालाले जानकारी दिए ।

संविधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन् । अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् । त्यसपछि निवर्तमान राष्ट्रपति विद्यादेवीलाई ससम्मान शितल निवासबाट बिदाइ गरेर उनको निजी निवासमा पुर्‍याइने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।