ताजा अपडेट »

आइसीसी विश्वकप लिग-२ : नेपाल यूएईसँग खेल्दै

सोमबार, २२ फागुन २०७९, १० : १५
56 Shares
सोमबार, २२ फागुन २०७९
56 Shares

बुटवल । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार विहान ११:४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुँदै छ ।

शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने दाउमा रहेका दुई देशनै आजको खेल जित्नै पर्ने दबाबमा छन् । तर, लिग–२ मा नेपालले युएईलाई हालसम्म पराजित गरेको छैन । लिग २ मा नेपाल र युएईबीच तीन खेल हुँदा सबै खेलमा घरेलु टोली युएई विजयी भएको छ। नेपालाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन तीन खेल जित्नुपर्ने हुन्छ ।

युएईलाई पनि ओडिआई मान्यता सोझै जोगाउन तीन जित आवश्यक देखिन्छ । नेपाल पहिलो खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ३९ रनमा अल आउट भएको थियो ।

आइतबारको खेलमा युएई पुछारमा रहेको पपुवा न्युगिनीसँग मात्रै ९७ रनमा अल आउट भएको थियो । पहिलो खेलमा युएई पपुवा न्युगिनीसँग १ सय ३१ रनले पराजित भएको थियो । पपुवा न्युगिनीले युएईलाई हराएको हुँदा नेपालको मनोबल उच्च छ ।

नेपालका कुशल मल्लले युएईविरुद्ध सर्वाधिक ६० रनको योगदान दिँदा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । बायाँ खुट्टाको ग्रोइन समस्याको कारण नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेनलले युएईसँगको आजको खेल गुमाउने छन् । नेपालले कुशलको स्थानमा सन्दीप जोरालाई खेलाउँदै ब्याटिङ मजबुत बनाउन सक्छ । जोरा आक्रामक ब्याटिङको क्षमता राख्छन् । उनी टोलीसँगै युएईमा भएपनि अन्तिम १४ खेलाडीको सूचिमा भने थिएनन् ।

नेपाल ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलबाट खेलमा उत्कृष्ट प्रदर्शन चाहन्छ । युवा ब्याटर कुशल मल्ल भने राम्रो लयमा छन् । अनुभवी ज्ञानेन्द्रबाट नेपालले आजको खेलमा ठूलो अपेक्षा गरेको छ । तीव्र गतिका बलरमा करण केसी र सोमपाल कामी हुनेछन् । आरिफ शेखले पार्टटाइम तीव्र गतिका बलरमा साथ दिनेछन्।

स्पिनरमा सन्दीप लामिछाने हुन् । सन्दीपलाई दीपेन्द्र र कुशल मल्लले साथ दिनेछन् । नेपाल ६ बलिङ विकल्पका साथ मैदान उत्रनेछ । सबै खेलाडी ब्याटिङको क्षमता राख्छन् । सन्दीपले पपुवा न्युगिनीविरुद्ध ३५ रन जोड्दै ब्याटिङमा झनै आशा थपेका छन् । करण र सोमपाल राम्रो ब्याटरमा पर्दछन् । जिम्मेवारीका साथ खेल्न आवश्यक देखिन्छ । पिचमा रन बनाउन भने सहज छैन ।

युएईको ब्याटिङ शीर्ष चार ब्याटरमा निर्भर छ । ओपनर मोहम्मद वासिम, वृत्य अरविन्द, सिपी रिजवान र रोहन मुस्तफाको विकेट निकै महत्वपूर्ण हुनेछ । यी चार ब्याटर सस्तैमा आउट हुँदा नेपाल पूरै खेलमा हाबी हुनसक्छ । मध्यक्रम र तल्लोक्रम ब्याटिङ युएईको सवैभन्दा ठूलो कमजोरीको रुपमा छ । वासिम प्रमुख ब्याटर हुन् । ओपनर वासिममा सुरुवातमा आउट गर्दा युएई पूरै खेलमा दबाबमा पर्नसक्छ ।

तीव्र गतिको बलिङ भने युएईको उत्कृष्ट छ । युएई जुनैद सिद्दिक, जहुर खान र सविर अली तीव्र गतिका बलरको रुपमा छन् । स्पिनरमा आयन खान, मुस्तफा र कार्तिक मयाप्पन हुनेछन् । युएईको बलिङ आक्रामण राम्रो हुँदा कमजोर मध्यक्रमको फाइदा उठाउँदै सस्तैमा अल आउट गर्न सक्नुपर्छ ।

नेपाली टोली : रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, ९श्याम०, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी.

अंक तालिका : स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।