ताजा अपडेट »

चरीमायाका संघर्षमय दिनरात

आइतबार, २१ फागुन २०७९, १७ : ३३
106 Shares
आइतबार, २१ फागुन २०७९
106 Shares

नौ सन्तान मध्येकी उनी कान्छी छोरी । पाँच कक्षा पढेपछि पढाइ छुट्यो । घरको आर्थिक अवस्था, सामाजिक परिवेश र टाढा स्कूल परेपछि उनले पढ्न सकिनन् । घाँस, दाउरा गर्दागर्दै जीवन बित्ने भो भन्दै गर्दा उनी एक्कासी मानव तस्करको फन्दामा परिन् ।

२०५० सालको चैत्रमा उनलाई तस्करहरुले शिवपुरीको जंगलमा घाँस, दाउरा काट्न जाँदा फकाए । नमानेपछि आक्रमण गरे । समातेर सुँघाउने औषधीले लठ्ठ पारेपछि बिउझिँदा उनी महाराष्ट्रको बम्बै कोठीमा ! सुनौली नाका हुँदै बम्बै पुर्याइएकी रहेछिन् । धेरै रोइन् । कराइन् । आफ्नो घर सिन्धुपाल्चोक फर्किन हजार कोशिस गरिन् । उनका विन्तिहरु बगरेका अघि पशुकोजस्तै भो । उनलाई सुरुसुरुमा कोठीका माइहरुले धेरै सम्झाए, फकाए । पेसाप्रति आकर्षित गराउने अनेक उपाय गरे । तर, उनले स्वीकार गरिनन् । बरु मृत्युको बाटो रोजिन् । पासो लगाएर मर्ने उपाय गरिन् । तर, सल चुँडेर सजीव मृत्युकुण्डमा जीउन बाध्य भइन् । नमानेपछि उनलाई पिटे, लुछे, चुरोटका ठूटाहरुले शरीरमा पोल्दिए ।

उनले कैयौं दिनरात आफ्नै घरबाट देखिने जुगल हिमाललाई कल्पनाको काखमा राखेर मन बुझाइन् । पाँचपोखरीमा डुबुल्की मारिन् । बाध्य भएर उनले एक वर्ष १० महिना अनु बनेर नारकीय जीवन कालकठोरीमा ब्यतीत गरिन् । त्यहाँ बस्दा उनले जीवनका दिनरात कसरी बिताइन उनी आफैलाई थाहा छैन रे !

महाराष्ट्र सरकारले उमेर नपुगेका किशोरीहरुलाई कोठीबाट निकाल्ने अभियान अन्तर्गत उनी लगायत दुई सय ६८ जना नेपाली किशोरीहरु निस्किने अवसर पाए । नेपाल सरकारले उनीहरुलाई नेपाल ल्याउन मानेन । नेपाली बोल्दैमा नेपाली हुन सक्दैनन् र एड्सका पोकाहरुलाई नेपाल ल्याएमा अरुपनि बिग्रिन सक्ने तत्कालीन सरकारको भनाइ रहेको उनले बताइन् । २०५३ को साउन महिनामा मानवअधिकारकर्मीको संयोजन र भारतीय चलचित्र अभिनेता सुनील सेठ्ठीको आर्थिक सहयोगमा हवाइमार्गबाट एकसय २८ जना पीडित महिलाहरु काठमाडौं फर्किए ।

काठमाण्डौं एयरपोर्टमा उनीहरुलाई छिछि र दूरदूर गर्नेहरुको संख्यामा कुनै कमी थिएन । उनीहरुका परिवार समेत लिन आएनन् । बस्ने कहाँ, खाने के ? ठेगान थिएन । समाजले उस्तै घृणा गथ्र्यो । आफन्तीहरु पराइ भइसकेका थिए । चिन्नेजान्नेहरु बिराना हुन चाहन्थे । हाम्रो बाध्यता सायद समाजका निम्ति खेलाँचीजस्तै थियो होला ।

नेपाल फर्किएकामध्ये १५ जनाले १० दिने तालिम लिए । महिला अधिकार, महिला बेचविखन विरुद्धका कुराहरु, समाजमा समाहित हुनका लागि गरिने क्रियाकलाप र बाँच्ने आधारका बारेमा तालिम दिइएको रहेछ । त्यस तालिमले उनलाई शक्ति समूह गठन गर्ने हौसला दियो । तागत थपिदियो । शक्ति समूह स्वप्रतिनिधित्व संस्था हो । जसको सवाल, उसैको नेतृत्व भएको नेपाली माटोमा नेपाली चेलीबेटीहरुका निम्ति मानव तस्करीविरुद्ध २०५४ सालमा खोलिएको सशक्त समूह हो । अहिले उनी उक्त समूहकी अध्यक्ष छिन् । संस्थापक अध्यक्ष समेत हुन् ।

उनी अर्थात् अनु । स्कूले जीवनमा उनको खास नाम बिमला । बम्बैको कोठीमा पुगेपछि उस्तै नाम जुधेपछि बिमला, अनुमा बदलिइन् । अहिले उनलाई धेरैले चरीमाया भनेर चिन्दछन् । उनको संस्था र उनले अनेकौं नामी पुरस्कार प्राप्त गरिसकेका छन् । सन् २०११ मा अमेरिकाले उनलाई टीप हिरोका रुपमा सम्मान गरेको थियो । सन् १९९६ मा काठमाडौं एयरपोर्टमा छिछि दूरदूर गर्नेहरुले उनलाई सन् २०११ मा उक्त पुरस्कार प्राप्त गरी सोही एयरपोर्टमा फर्की आउँदा सम्मानका फूलहरुले पुष्पवृष्टिनै गरेका थिए । उनलाई नेपाल सरकारले सम्मान गरेको छ । पुरस्कृत गरेको छ ।

उनले शक्ति समूह खोलेपछि आफूलाई बम्बैको कोठीमा बेच्ने मानव तस्कारहरुलाई जेलमा १० वर्ष कैद गराइन् । दाइभाउजुले उक्त काम गर्न सहयोग गरे । मानव तस्करहरुले उनका दाइभाउजुका घर जलाइदिए । कुटपिट गरे । ज्यानमार्ने धम्की दिए । आफूजस्तै महिलाहरु पुनः बेचिन नपरोस् भनेर शक्ति समूहलाई क्रियाशील बनाइन् । अहिले पनि नेपालमा अनेकौ नयाँ विधि र पद्धतिमार्फत नेपाली चेलीहरु भारत लगायतका देशहरुमा बेचिँदै आएको बताइन् । सन्तान उत्पादन गर्ने महिलाका रुपमा समेत नेपाली महिलाहरु विदेशी भूमिमा पुगेको चरीमायाले सुनाइन् ।

चरीमायाले चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा सबै सहभागीहरु हुनुपर्नेमा जोड दिएकी छिन् । उनले विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुमा आफ्ना पीडादायी अनुभूतिहरु सुनाउँदै आएकी छन् । रोकथामका उपायहरु बताउँदै आएकी छन् । यस्ता जघन्य अपराध गर्नेहरुलाई राज्यले निर्देशित गरेका कानून अनुसारका कार्वाहीको माग गरेकी छन् ।

भारतको बम्बैबाट फर्केर आएपछि उनले काठमाडौको ज्ञानज्योति महिला विद्यालयमा कक्षा ६ देखि पढेर एसईई पास गरिन् । कैलाशकुट क्याम्पसबाट कक्षा १२ पत्रकारिता विषयमा उत्तीर्ण गरिन् । अहिले सोही क्याम्पसमा समाजशास्त्र विषयको विद्यार्थी बनेर स्नातक पहिलो वर्ष पढ्दैछिन् ।

उनको संघर्षमय कथा सुनेर आँसु झर्छन् । ती आँसु सायद प्रज्वलनशील पदार्थभन्दा कम छैनन् । चरीमायाबाट समाजले धेरै सिक्ने कुराहरु छन् । बाध्यताले बेचिनु परेका महिलाहरुलाई गरिने दुब्र्यवहार क्षम्य नहुने उनको तर्क छ । ‘जुनकुनै दिन हाम्रो समाजमा जोसुकै, कुनैपनि बहानामा बेचिनुपर्ने दिन नआउला भन्न सकिदैन’–चरमिाया भन्दैथिइन् ।

चरीमायाहरु

चरीमायाहरु फूलका थुंगा हुन्
फूल जोगाउने काँडा पनि हुन्
चरीमायाहरु इतिहास सम्झिएर रोएका छैनन्
बरु भविष्य हेरेर हाँसि रहेका छन् उनीहरु
चरीमायाका इतिहास पढ्न गाहे छ मान्छेहरुलाई
उनका इतिहास
बेइमान मान्छेहरुका पुराना तम्सुक हुन्
उनका इतिहास
लाज पचाएर आफ्नै अस्तित्व मेटाउने कलंक हुन्
चरीमायाहरु इतिहासको कोर्राहरुलाई
वर्तमानमा नौनी सम्झिएर हाँसेका छैनन्
बरु सुदूर भविष्यमा
तिनै कलंकित इतिहास लेखाउनेहरुका लागि
मखमली फूल बनेर
उनीहरुकै अगि सुगन्ध छर्ने सोंचमा छन्
हो
चरीमायाहरु बदला होइन
घृणा गर्दैछन् इतिहासका बेइमानहरुलाई

जोगाउँदैछन् गाउँसहरका निर्दोष लालकुमारी र हरिकलाहरुलाई
अनि खोज्दैछन् गुमेका मनमाया र तुनीसराहरुलाई

एकै श्वरले भन्दैछन् चरीमायाहरु
न वर्तमानमा न भविष्यमा

अब कुनै चेलीहरु चरीमायाका जस्तै कथा बन्नेछन् ।
(चरीमायाको शक्ति समुहले पुरस्कार पाएपछि लेखिएको कविता)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।