ताजा अपडेट »

यूएई पपुवा न्युगिनीसँग राजित, शीर्ष ३ मा रहने प्रयासमा रहेको नेपालाई केही राहत

आइतबार, २१ फागुन २०७९, १६ : २२
48 Shares
आइतबार, २१ फागुन २०७९
48 Shares

बुटवल । घरेलु टोली युएई आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा फेरि पपुवा न्युगिनीसँग पाँच विकेटले पराजित भएको छ । जितको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले २६ दशमलव ५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पिएनजीको जितमा ओपनर टोनी उरा ६३ बलमा ३ चौकासहित ३५ रनमा अविजित रहे । चाद सोफर १८ बलमा ८ रनमा अविजित रहे ।

पपुवा न्युगिनीका ओपनर किप्लिङ डोरिगा तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा एज लागेर आसिफ खानबाट २ रनमा क्याच आउट हुन पुगे भने दोस्रो विकेटका लागि सेसे बाउ र टोनी उराले ४४ रनको साझेदारी गरेका थिए । स्पिनर रोहन मुस्तफाले १२ औं ओभरमा दुई विकेट लिएका थिए । पहिलो बलमा सेसे बाउ ३३ बल खेल्दै १ चौकासहित १८ रनमा एलबीडब्लू आउट भए । एक बलपछि कप्तान असाद भाला शून्यमा बोल्ड भए ।

स्पिनर आयन खान अफ्जलले १७ औं ओभरको तेस्रो बलमा चार्ल्स अमिनीलाई ८ रनमा बोल्ड गर्दै १६ दशमलव ३ ओभरमा ६५÷४ को अवस्थामा पुर्याए । हिरि हिरि २३ बलमा २ चौकासहित १४ रनमा आउट भए । युएईका रोहन मुस्तफाले दुई, आयन खान, जुनैद सिद्दिक र जहुर खानले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २६ दशमलव २ ओभरमा ९७ रनमा अल आउट भएको थियो । युएईका वृत्य अरविन्दले सर्वाधिक २६ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

युएईका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एक समय ७६÷२ को अवस्थामा रहेपनि नाटकीय रुपमा विकेट पतन भएपछि ९७ रनमा अल आउट भएको हो । पपुवा न्युगिनीको जितमा मध्य गतिका बलर राइली हेकुरेले आफ्नो करिअरकै उत्कृष्ट बलिङ गर्दै ४ दशमलव २ ओभरमा १ मेडनसहित १३ रन खर्चेर पाँच विकेट लिए । चाद सोपरले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।

युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । युएईले शीर्ष तीनमा पर्न अव सबै खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा पर्न तीन खेल जित्न आवश्यक छ । सोमबार युएईले नेपालसँग खेल्नेछ ।

पपुवा न्युगिनीले पहिलो खेलमा यस सिजमा युएईलाई १ सय ३१ रनले पराजित गरेको थियो । पपुवा न्युगिनी शीर्ष पाँच दौडबाट बाहिरि सकेको छ । पपुवा न्युगिनीको लिग २ मा यो चौथो जित हो ।

चार जित मध्य तीन युएईविरुद्ध छ । पपुवा न्युगिनीले अव नेपाल र युएईसँग अन्तिम सिरिज टियु मैदानमा खेल्नेछ । उक्त सिरिज ९ मार्चदेखि सुरु हुनेछ । पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।