ताजा अपडेट »

आइसीसी विश्वकप लिग–२ : घरेलु टोली ९७ रनमै अलआउट

आइतबार, २१ फागुन २०७९, १४ : ४०
50 Shares
आइतबार, २१ फागुन २०७९
50 Shares

बुटवल । यूएईमा जारी आइसीसी विश्वकप लिग–२ त्रिकोणत्मक ओडिआई सिरिजमा घरेलु टोली युएईलाई पपुवा न्युगिनीले ९७ रनमै खुम्च्याएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले २६ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ९८ रनको लक्ष्य प्रस्तुत गर्न सकेको हो ।

युएईका वृत्य अरविन्दले सर्वाधिक २६ रन बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएईका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एक समय ७६÷२ को अवस्थामा रहेपनि नाटकीय रुपमा विकेट पतन भएपछि ९७ रनमा अल आउट भएको हो । अन्तिमको २१ रन जोड्न युएईले आफ्ना ८ विकेट गुमाएको थियो ।

युएईले ओपनर आसिफ खानलाई ११ रनमा आठौं ओभरको तेस्रो बलमा गुमाएको थियो । आसिफ आउट हुँदा युएई २७÷१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि मोहम्मद वासिम र वृत्य अरविन्दले २९ रनको साझेदारी गरेका थिए । आसिम ३६ बलमा २ चौकासहित १९ रनमा आउट भए । दुवै ओपनर तीव्र गतिका बलर चाद सोपरको बलमा एलबी डब्लू आउट भएका थिए ।

राइली हेकुरेको बलमा वृत्य अरविन्द ठूलो सट खेल्ने धुनमा १९ औं ओभरको चौथो बलमा टप एज लागेर मिडअनमा असाद भालाबाट २६ रनमा क्याच आउट भए । वृत्यले ३२ बलमा ४ चौका प्रहार गरे । त्यसअघिको बलमा वृत्यले डिप मिडविकेटमा उत्कृष्ट चौका प्रहार गरेका थिए ।

गलत सट खेल्दै वृत्य पेभलिएन फर्के । त्यसपछि युएईको विकेट पतन नाटकीय रुपमा भयो । स्पिनर चार्ल्स अमिनीको २० औं ओभरको तेस्रो बलमा रोहन मुस्तफा फस्ट स्लिपमा शून्यमा क्याच आउट भए । हेकुरेले अर्यान लर्कालाई शून्यमै बोल्ड आउट गरे । आयन खान अफ्जलसँग तालमेल नमिल्दा कप्तान रिपी रिजवान १० रनमा रन आउट भएपछि युएई संकटमा पुगेको थियो ।

कार्तिक मयाप्पन ७, जहुर खान ९, जुनैद सिद्दिक शून्यमा आउट भए । कमजोर मध्यक्रम र तल्लोक्रम ब्याटिङ पुन युएईलाई घातक बन्यो । मध्य गतिका बलर राइली हेकुरेले आफ्नो करिअरकै उत्कृष्ट बलिङ गर्दै ४।२ ओभरमा १ मेडनसहित १३ रन खर्चेर पाँच विकेट लिए । चाद सोपरले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।