ताजा अपडेट »

स्ववियू निर्वाचनको मिति नजिकिँदै, अखिल क्रान्तिकारी भित्रको विवाद कायमै

आइतबार, २१ फागुन २०७९, १२ : १४
10 Shares
आइतबार, २१ फागुन २०७९
10 Shares

बुटवल । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन मिति चैत्र ५ नजिकिँदै गर्दा अखिल (क्रान्तिकारी) को आन्तरिक विवाद भने अझै समाधान भएको छैन । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीमा दुई नेता पन्चा सिंह र पवन कार्कीको समूहरु बीच कुरा मिल्न नसक्दा विवाद कायमै रहेको हो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी सङ्गठनका दुई गुटका नेताहरूलाई बोलाएर नियमित छलफल गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार र शनिबार बिहान सिंह र कार्की पक्षका नेताहरूलाई बोलाएर चुनावमा सङ्गठन एक बनाउन पहल गरेको अखिल क्रान्तिकारीका समानन्तर कमिटी चलाएका संयोजक पवन कार्कीले बताए ।

स्ववियू चुनाव दुवै पक्ष मिलेर जाने र चुनावपछि अधिवेशन गर्ने प्रचण्डले बताउँदै आएको कार्कीले बताए । तर उत्तर र दक्षिणतिर फर्किएका विद्यार्थी नेताहरू एक नहुँदा स्ववियू निर्वाचन प्रधानमन्त्री प्रचण्डको समेत टाउको दुखाइको विषय बनेको छ ।

‘प्रधानमन्त्री ज्यूले स्ववियूमा मिलेर जानुस् । मिलेरै उम्मेदवार उठाएर जिताउनुस् । स्ववियू चुनावपछि अधिवेशन गरेर विवाद मिलाउँला भन्नु भएको छ’ कार्कीले भने, ‘प्रधानमन्त्री ज्यूले मिलेर जान सुझाव दिएपछि पन्चा जीसँग आज भेटेर छलफल भयो । दुई सङ्गठन एक भएर जाने विषयमा छलफल भए पनि कुरा मिलेको छैन ।’

तर, अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले दुवै सङ्गठन मिलेर जाने विषयमा छलफल भइरहेको बताए । दुबैपक्षबाट उठाएका उम्मेदवारलाई एउटा समझदारी बनाएर सहमति गरिने पुनले बताए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर सहित आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते चुनाव हुने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।