बुटवल । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली यूएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
नेपाल आइसिससी विश्वकप लिग-२ मा लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ । अघिल्लो साता घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो । युएईमा पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराएको थियो । उच्च मनोबल र प्रदर्शन गर्दै आएको नेपालले पाँच खेलनै लक्ष्य पछ्याउँदा जितेको थियो । आजको खेलमा टसले पनि धेरै प्रभाव पार्नेछ ।
नेपाली टोलीको असली परीक्षा पनि आज हुनेछ । युएईलाई उसकै मैदानमा हराउन सहज हुनेछैन । पपुवा न्युगिनीसँग १ सय ३१ रनले पराजित भएको युएई नेपालसँग पराजित हुँदा ओडिआई मान्यता जोखिममा पर्नेछ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ ।
युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अंकका साथ पाँचौं स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपालले अव ७ मध्य ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ४ खेल जित्न आवश्यक छ ।
नेपालले ब्याटिङमा लगातार सानदार प्रदर्शन गर्दै आएको छ । कप्तान रोहित पौडेल नेपालका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन आजको खेलमा महत्वपूर्ण हुनेछ । अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । ब्याटिङ लाइनअपमा नेपालको परिवर्तनको कुनै सम्भावना देखिदैन ।
ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । तेस्रो नम्बरमा ज्ञानेन्द्र र चौथोमा रोहित हुनेछन् । त्यसपछि परिस्थीति अनुसार नेपालले ब्याटिङ गराउनेछ । नेपालको ब्याटिङमा गहिराई छ । पहिलो खेलको टोली हेर्दा सबै खेलाडी राम्रो ब्याटिङ गर्दछन् । टोलीले खराब प्रदर्शन गर्दा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई अघि खेलाउन सक्छ।
राम्रो अवस्थामा विष्फोटक अन्त्यको लागि कुशल मल्ललाई अघि खेलाउन सक्छ । पछिल्ला खेलमा कुशल मल्लले पाँचौं नम्बरमा ब्याटिङ गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पाँचौं, छैटौं र सातौं कुशल, दीपेन्द्र र आरिफ रहनेछन् । त्यसपछि करण केसी, सोमपाल कामी र गुलशान झा हुनेछन् । नेपालले पहिलो खेलमा चार तीव्र गतिका बलर खेलाएको थियो । गुलशन झा र प्रतिश जि.सी मध्य एकलाई नेपालले आज बेन्चमा राख्ने सम्भावना छ ।
गुलशनले पपुवा न्युगिनीविरुद्ध ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिएका थिए । प्रतिशले डेब्यू खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए । प्रतिशलाई बाहिर राख्दै स्पिनर ललितनारायण राजवंशी वा सन्दीप लामिछाने मध्य एकलाई खेलाउने सम्भावना छ ।
युएईको ब्याटिङ शीर्षक्रमका ब्याटरमा बढी निर्भर छ । ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दको विकेट लिन सके नेपाल खेलमा पुरै हाबी हुनसक्छ । वृत्य र वासिम क्रिजमा टिकेको खण्डमा भने नेपाललाई भारी पर्न सक्छ ।
नेपालविरुद्ध राम्रो प्रदर्शन पनि गर्दै आएका छन् । युएईको मध्यक्रम र तल्लोक्रम ब्याटिङ भने नेपालको भन्दा तुलनात्मक रुपमा धेरै कमजोर देखिन्छ । युएईका तीव्र गतिका बलर जहुर खान र जुनैद्ध सिद्दिकबाट भने नेपाल सचेत हुनुपर्छ । स्पिनरमा रोहन मुस्तफा र कार्तिम मयाप्पन हुनेछन् ।
प्रतिक्रिया