ताजा अपडेट »

यू-१९ क्रिकेटमा मलेसियामाथि शानदार जितसँगै नेपालको विश्वकपमा पुग्ने सम्भावना बलियो

मंगलबार, १६ फागुन २०७९, १४ : २५
34 Shares
मंगलबार, १६ फागुन २०७९
34 Shares

बुटवल । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियालाई १० विकेटले हराउँदै आगमी वर्ष श्रीलंकामा हुने विश्वकपमा पुग्नबाट एक जित टाढा रहेको छ । लगातार चौथो जितसँगै नेपाल आगमी वर्ष हुने यू–१९ विश्वकप खेल्न अव एक जित टाढा छ । शीर्ष स्थानमा उक्लिएको नेपालले बिहीबार युएईलाई पराजित गर्न सके २०२४ मा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

जितको लागि ७३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपालको जितमा दिपक बोहरा २९ बलमा ८ चौकासहित ३८ र अर्जुन कुमाल २५ बलमा ३ चौकासहित २१ रनमा अविजित रहे । त्यसअघि मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५।३ ओभरमा ७२ रनमा अल आउट भएको थियो । नेपाली बलिङ सामु मलेसियाका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

मलेसियाका शीर्षक्रमका ब्याटर मोहम्मद अकरम मलेकले ५१ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाएका थिए । उनी स्पिनर दीपेश कँडेलको बलमा ठूलो सट खेल्ने धुनमा लङअनमा विशाल विक्रम केसीबाट क्याच आउट भएका थिए । त्यसपछि कुनैपनि ब्याटरले क्रिजमा धेरै समय बिताउन सकेनन् ।

तीव्र गतिका बलर आकाश चन्दले दोस्रो ओभरको तेस्रो बलमा ओपनर तथा कप्तान सिद्धार्थ कार्तिकलाई १ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । स्पिनर मिलन बोहराको बलमा एज लागेर अर्का ओपनर मोहम्मद हर्सन १२ रनमा बोल्ड आउट भए । उनले २४ बल खेल्दै २ चौका प्रहार गरे । मोहम्मद आलिफ शमासुल बहरिन २८ बल खेल्दै ४ रनमा दीपेश कँडेलबाट कट एड बोल्डको शिकार बने । दीपेशले नै सिद्धार्थ निलकण्ठनलाई ३ रनमा स्टम्पिङ आउट गराए ।

मिलनले शिवनाराण राहुललाई १ रनमा एलबीडब्लू आउट गरे । दीपेशले नै अजरी अजर जामानलाई विकेटकिपर उत्तम थापामगरबाट पाँच रनमा क्याच गराए । अन्तिम दुई विकेट आकाश चन्दले लिएका थिए । दीपेशले १० ओभरमा ४ मेडनसहित ५३ बल डट राख्दै ११ रन खर्चेर ४ विकेट लिए । मिलन बोहराले ९ ओभरमा ५ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए । आकाश चन्दले ४।३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

नेपाल २०१६ पछि टि२० विश्वकप खेल्ने लक्ष्य राखेको छ । ६ टोली सहभागी प्रतियोगितामा शीर्ष टोलीले आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । नेपाल ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोलीले विश्वकप खेल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।