ताजा अपडेट »

आईसीसी यू-१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालको तेस्रो जित

सोमबार, १५ फागुन २०७९, १६ : १५
22 Shares
सोमबार, १५ फागुन २०७९
22 Shares

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले जितमा ह्याट्रिक गरेको छ । सोमबार भएको तेस्रो खेलमा हङकङलाई ९ विकेटले पराजित गर्दै ह्याट्रिक गरेको हो । युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको झिनो लक्ष्य नेपालले २२ दशमलव १ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाए । छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे । २६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो । तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । ओपनर अर्जुन कुमालले १६ रन जोडे ।

हङकङका डानिएल मोर्गन मपले १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६।३ ओभरमा १२० रनमा अल आउट भएको थियो । हङकङका लागि पार्थ भागवतले ९३ बल खेल्दै ४ चौका प्रहार गरी सर्वाधिक ३६ रन बनाए । मोहम्मद अलियान जाहिरले २९ रन बनाए । हङकङका लागि पाँचौं विकेटका लागि भागवत र जाहिरले ४७ रनको साझेदारी गरेका थिए । हङकङलाई अलआउट गर्न नेपालका हेमन्त धामी, सुबास भण्डारी र दिपेश कँडेलले शानदार बलिङ गरे ।

हेमन्तले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यस्तै किफायती बलिङ गरेका स्पिनर सुवास भण्डारीले १० ओभरमा ३ मेडन नै राख्दै जम्मा १० रन २ विकेट लिए । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए । आकाश चन्दले ८।३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।

सोमबार नै भएको अर्को खेलमा युएईले सिंगापुरलाई ८ विकेटले हराएर लगातार तेस्रो जित निकालेको छ । अपराजित नेपाल र युएईको ३ खेलबाट समान ६ अंक छ । नेपालले अब अर्को खेल मलेसियासँग मंगलबार खेल्नेछ । नेपाल र युएईबीच अन्तिम खेल बिहीबार हुनेछ । सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष स्थानमा रहने छ टिम २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।