बुटवल । नेपालको कशिलो बलिङ र उत्कृष्ट फिल्डिङका बीच पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा २ सय ४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनायो।
पपुवा न्युगिनीका चाद सोपरले ५३ बलमा २ चौकासहित ३६ रनमा अविजित रहे । नर्मन भानुआले १५ बलमा २ चौका र २ छक्कासहित २५ रन जोड्दै आउट भए । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पपुवा न्युगिनीका आक्रामक ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गर्दै सोमपालले पहिलो सफलता दिलाएका थिए ।
दोस्रो विकेटका लागि किप्लिङ डोरिगा र सेसे बाउले ५० रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए । तीव्र गतिका बलर गुलशन झाको १६ औं ओभरको अन्तिम बलमा डोरिगा टप एज लागेर मिडअनमा करण केसीबाट क्याच आउट भए । उनले ५२ बलमा ४ चौका प्रहार गरे । गुलशनले २४ औं ओभरको दोस्रो बलमा सेसे बाउलाई ३१ रनमा बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । ५५ बल खेलेका बाउले ३ चौका प्रहार गरे । गुलशनले पपुवा न्युगिनीका प्रमुख ब्याटर चाल्र्स अमिनीलाई ६ रनमा क्याच गराएपछि दबाबमा परेको थियो ।
डेब्यू खेल खेलेका प्रतिश जि।सीले ३४ औं ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीबाट हिरि हिरिलाई १० रनमा क्याच गराउँदै आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय विकेट लिए । स्पिनर कुशल मल्लले ३७ औं ओभरको अन्तिम बलमा भालालाई कुशल भुर्तेलबाट उत्कृष्ट क्याच गराउँदै ३६ रनमा पेभेलिएन फर्काए । भालाले ५३ बलमा ४ चौका प्रहार गरे । कुशल भुर्तेलले लामो रनअपका साथ उत्कृष्ट क्याच लिँदै भालालाई पेभेलिएनको बाटो फर्काएपछि ठूलो योगफल टाढिएको थियो ।
कुशल मल्लले सट लेगबाट उत्कृष्ट डाइरेक्ट थ्रोमा राइली हेकुरेलाई ४४ औं ओभरको अन्तिम बलमा ७ रनमा रन आउट गर्दै पेभेलिएन फर्काएका थिए ।
नेपालका गुलशन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिएका थिए । करण केसीले ९ ओभरमा २ मेडनसहित ३० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिए । प्रतिश जि।सीले ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए ।
प्रतिक्रिया