ताजा अपडेट »

आइसिसी यू-१९ विश्वकप छनोट : नेपाल जितको ह्याट्रिक गर्ने दाउमा

सोमबार, १५ फागुन २०७९, ०६ : १९
45 Shares
सोमबार, १५ फागुन २०७९
45 Shares

बुटवल । नेपालले यूएईमा जारी आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत तेस्रो खेलमा आज सोमबार हङकङविरुद्ध खेल्दैछ । नेपाल र हङकङ बीचको खेल बिहान ११ः१५ देखि मलेक क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जितको ‘ह्याट्रिक’ पूरा गर्ने दाउमा नेपाल रहेको छ ।
यसअघि पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुरलाई ९६ तथा कुवेतलाई २४३ रनले हराएको थियो । हङकङले पहिलो खेलमा कुवेतलाई १ विकेटले हराउँदा यूएईविरुद्ध १६३ रनकाे हार बेहाेर्‍यो । ऊ प्रतियोगितामा दोस्रो जितको खोजीमा छ । नेपाल हङकङविरुद्ध पनि सहज जित निकाल्दै अपराजित यात्रा कायमै राख्ने साेचमा छ ।

जारी प्रतियोगिताको दुई खेलमा नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गरेको छ । कुवेतविरुद्ध कप्तान देव खनाल १२५ र अर्जुन कुमालले १०८ रनको पारी खेलेका थिए । उनीहरू तेस्रो खेलमा पनि ठूलो पारी खेल्दै टिमलाई फराकिलो जित दिलाउन चाहन्छन् । त्यस्तै, कुवेतविरुद्ध नेपाली तीव्र गतिका बलर आकाश चन्दले ६ विकेट लिएका थिए ।

प्रतियोगितामा नेपालसहित हङकङ, कुवेत, मलेसिया, सिंगापुर र यूएईले प्रतिस्पर्धा गरिरहेका छन् । तालिकाको शीर्ष स्थानमा रहने टोलीले २०२४ को यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपालले प्रतियोगितामा चौथो खेल १६ फागुनमा मलेसियाविरुद्ध खेल्ने तालिका छ ।

नेपाली यू-१९ टोली : देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।