बुटवल। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको वरिष्ठ उपाध्यक्षमा उद्योगपति अरुणकुमार गोयनकाले उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान आर्थिक संकट र बैंक ब्याजदरले उद्योगी व्यवसायीहरुमा परेको मर्काका मुद्दाहरुलाई सशक्त ढङ्गले आवाज उठाउने आफ्नो उद्देश्य रहेको उनले बताए । उद्योगी व्यवसायीहरु सरकारको नीति र बैंकको नीतिका बीच चेपुवामा परेको गुनासो गर्दै उनले ती सबै कुराहरुको नीतिगत नै समाधान खोज्नका लागि आफ्नो उम्मेदवारी रहने उल्लेख गरे ।
संघको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा उद्योगपति गोयनकाले अध्यक्ष पदका प्रत्यासी विजय पाण्डेलाई समर्थन गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका भएका हुन् । हाल संघको कर्पोरेट उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका गोयनकाले उद्योगी, व्यवसायिको हक, हित र व्यवसायिक सुरक्षाका लागि उम्मेदवारी दिन लागेको बताए । आफूले अध्यक्ष पदमा दावी गरे पनि संघलाई थप मजबुत बनाउन तथा संघलाई सबै उद्योगी व्यवसायिको साझा संस्थाको रुपमा बिकास गर्न विजय पाण्डेलाई समर्थन गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको गोयनकाले बताए ।
गोयनका अरुण एग्रो ईण्डष्ट्रिज प्रा.लि., एभरेष्ट रोलिङ ईण्डष्ट्रिज प्रा.लि. तथा हिमचुली इन्टरनेसनलका सञ्चालक हुन् । लामो समय औद्योगिक क्षेत्रमा आवद्ध हुनुका साथै विभिन्न व्यवसायी संघ संस्थामा रहेर काम गरेको अनुभव संगालेका उनले व्यवसायीहरुको हक अधिकारकार पक्षमा संगठित भएर आवाज उठाउन जरुरी रहेको बताउँछन् । मुलुकको आर्थिक समृद्धिका लागि नीति क्षेत्रलाई सरकारले सँगै लिएर जान तयार भए पनि त्यस अनुरुपका नीति निर्माण नहुँदा उद्योगी व्यवसायी थप धरासाही हुन पुगेको उनले गुनासो गर्छन् । स्पष्ट नीति र उद्योग मैत्री वातावरण सिर्जना गर्ने आन्दोलनलाई सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको उनले उल्लेख गरे ।
प्रतिक्रिया