पुस २१,
काठमाडौँ । नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न रहेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहार अन्तर्गत मुद्दामा आइतबार जनही एक हजार जरिवानाको फैसला भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले उक्त फैसला सुनाएको हो । “उनीहरुले कसुर स्वीकार गरे, अभियोजनको आधारमा एक हजार जरिवानाको फैसला सुनाइएको हो ।” प्रजिअ दाहालले भने ।
अभद्र व्यवहारमा अधिकतम १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ । जरिवाना तिरेर छुटेका उनीहरुलाई थप कारवाहीका लागि आइतबार नै अध्यागमन विभागमा बुझाउने तयारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । पर्यटक भिसामा आएर उनीहरुले अवैध रुपमा सङ्गठित काम गरेकाले अध्यागमन विभागलाई बुझाउन लागिएको उनले बताए।
प्रहरीले पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । आवश्यक अनुसन्धानपछि उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालमया मुद्दा चलाइएको थियो । –रासस
प्रतिक्रिया