ताजा अपडेट »

जीर्ण भवनबाट स्वास्थ्य सेवा

मंगलबार, ०९ फागुन २०७९, १५ : ००
36 Shares
मंगलबार, ०९ फागुन २०७९
36 Shares


मुगु ।  मुगुको मुगुमकार्मारोङ्ग गाउपालिका–८ स्थित मांग्री स्वास्थ्य चौकीले जीर्ण भवनबाट आफ्नो सेवा दिइरहेको छ । जीर्ण भवनमा बसेर बिरामीलाई सेवा दिन स्वास्थ्यकर्मीलाई समस्या भएको छ । एक तले रहेको भवनभित्रका भौतिक संरचना, पर्खाल, भुईंमा हालिएका काठहरु पनि कुहिएका र केही उप्किएका छन् । 

भवन बाहिरतिरका पर्खाल, झ्यालहरु भत्किनुका साथै प्वाल परेका छन् ।  पानी पर्दा छतबाट पानी चुहिँदा र सर्प जस्ता विषालु जीवहरु भित्र छिर्दा उपचारमा समस्या उत्पन्न हुने स्टाफ नर्स तारा विकले बताइन् ।  नाजुक अवस्था रहेको स्वास्थ्य चौकीको भवनको पुनर्निमाण गर्न उनले आग्रह गरिन् । 

मुगुमकार्मारोङ्ग गाउँपालिकाको सबैभन्दा पुरानो र जनसंख्या बढी भएकाले सेवा लिनेको संख्या धेरै हुने भए पनि भवनको हालत भने नाजुक रहेको उनको गुनासो छ । जीर्ण भवनमात्र होइन औषधि पनि अभाव रहेको स्टाफ नर्स तारा विकले जानकारी दिइन् । 

मुगुमकार्मारोङ्ग गाउँपालिका अनुसार साविकका पाँचवटा स्वास्थ्य चौकी छन् । त्योसँगै पालिकामा आधारभूत स्वास्थ्य संस्थाहरु मह, चिमाथ र छायल गरी सबै वडाहरुमा स्वास्थ्य संस्था पुगेका छन् । 

बजेट अभावले जीर्ण रहेका स्वास्थ्य चौकीको भवन पुनर्निर्माण गर्न र नयाँ बनाउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।