बुटवल । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्ड विरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ । स्कटल्याण्डलाई नेपालले ४६ ओभर १ बल खेल्दै २१२ रनमा समेटेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालविरुद्धको खेलमा स्कटल्यान्डका जर्ज मुन्सीले अर्धशतक पूरा गर्दै सर्वाधिक ६० रन बनाए ।
उनले ५० बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरे । यस्तै, म्याथ्यु क्रसले ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोड । ब्रेन्डन म्याकमुलेनले ४८ बलमा ३ चौकासहित ३१ रन बनाए । यसैगरी, ओपनर काइल कोएत्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२–२२ रनको योगदान गरे । नेपालको कसिलो बलिङकासामू अन्य ब्याटरहरुले भने दोहोरो अंकको रन जोड्न सकेनन् । कप्तान रिची बेरिङटोन र माइकल लिस्क शून्य रनमा आउट भए भने टोमस म्याकिन्टसले १ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । उनले एकै ओभरमा लगातार दुई विकेट लिएका थिए । योसँगै लामिछानेले जारी सिरिजमा १४ विकेट पूरा गरेका छन् । यस्तै, करण केसीले २ विकेट लिँदा ललित राजबंशी र कुशल मल्लले १–१ विकेट लिए । १ विकेट दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए ।
केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्ने छ । स्कटल्यान्डको लिग टु सिरिजमा यो अन्तिम खेल हो। नेपाललगातार चौथो जित हात पार्दै घरेलु भूमिमा शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ । यसअघि पहिलो खेलमा नेपालले स्टकल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।
नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेपछि शीर्ष तीनमा रहने सम्भावना पनि बढेको छ । यदि आज हार टारे नेपाल लिग टु सिरिजमा घरेलु भूमिमा चारै खेल जित्ने पहिलो टोली बन्ने छ । यस्तै स्कटल्यान्डलाई लिग टु को पुरै सिरिजमा कुनैपनि टिमले लगातार दुई खेलमा हराउन सकेको छैन ।
हिजो (सोमबार) भएको खेलमा स्कटल्यान्डसँग नामिबिया पराजित भएपछि त्यसको फाइदा पनि नेपाललाई पुगेको छ । लिग टु च्याम्पियन स्कटल्यान्ड अन्तिम खेल जित्दै ट्रफी उचाल्न चाहन्छ । स्कटल्यान्डलाई लिग टुको ट्रफी आजै प्रदान गरिनेछ । नेपाल २७ खेलबाट २४ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ । लिग टुका बाँकी ९ मध्ये ६ मा जित हात पारे नेपालको ओडिआईले निरन्तरता पाउनेछ ।
प्रतिक्रिया