बुटवल। लुम्बिनी प्रदेश सरकारमा जसपा पनि सहभागी हुने भएको छ । जसपालाई मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई बिनाविभागीय बनाउँदै जसपालाई कृषि मन्त्रालय दिने सहमति भएको हो ।
मुख्यमन्त्री लीला गिरीले जसपालाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्री बनाउन लागिएको हो । प्रदेश प्रमुख कार्यालयले सोमबार शपथको तयारी गरेको छ ।
यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यसमध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो । त्यहीअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाको चित्त बुझाएका हुन् ।
त्यस्तै, मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट यसअघि मन्त्री बनेकी कृष्णा केसीले पदवहाली अस्वीकार गरेपछि उनको पदवहाली नभएसम्म वा अर्को मन्त्री व्यवस्था नभएसम्मका लागि आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकेका छन् ।
मुख्यमन्त्री गिरीसँगै पुस २८ मा बिनाविभागीय मन्त्रीको शपथ लिएकी केसीलाई माघ २८ मा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । उनले जिम्मेवारी अस्वीकार गर्दै पदवहाली गरेकी छैनन् ।
लुम्बिनी प्रदेशमा अब ११ मन्त्री हुने भएका छन् । यद्यपी मन्त्रालय भने १० वटै राखिने र एमालेबाट यसअघि कृषि मन्त्री बनेका तुल्सी शर्मालाइै मुख्यमन्त्री कार्यालय हेर्नेगरी विनाविभागीय रुपमा राखिने तयारी गरिएको छ ।
प्रतिक्रिया