बारा । निजगढ नगरपालिका वडा नम्बर १२ बुङ्गजोरमा ४ दिनदेखि बेपत्ता स्थानीय कान्छिमाया घलानको शव शंकास्पद अवस्थामा फेला परेको छ । गत शनिवारबाट बेपत्ता बनेकी ७१ वर्षीया घलानको शव मंगलबार घर नजिकैको बुङ्गजोर खोला छेउमा रुखको स्याउलाले छोपेको अवस्थामा फेला परेको हो ।
स्याउलाले छोपेर राखेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
ढिलो खबर आएको र रात परेर अध्यारो भएकाले मंगलबार मुचुल्का तयार पार्न नभ्याइएपछि घटनास्थलमा नै शव छाडेर प्रहरी टोली फर्किएको छ ।
कर्तव्य गरेर हत्या गरेको हुनसक्ने भन्दै आफन्त र स्थानीयले पनि मृतकको शव उठाउन मानेका थिएनन । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सन्जिव ओलीले जानकारी दिए ।
मृतक घलानको परिवारमा श्रीमानसहित २ छोरा छन । स्थानीयका अनुसार कान्छो छोराको मानसिक अवस्था बिग्रेको र ३/४ दिन अघिदेखि उनले पनि घर छोडेर हिडेको बताइएको छ । श्रीमान गाउँमै अर्को घरमा बस्ने र जेठो छोरा भने रोजगारीको क्रममा सिमरामा छन ।
यसैबीच कान्छो छोरालाई मकवानपुर प्रहरीले हेटौडाबाट नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ ।
प्रतिक्रिया