ताजा अपडेट »

ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने रोहित

मंगलबार, ०२ फागुन २०७९, १५ : ०१
40 Shares
मंगलबार, ०२ फागुन २०७९
40 Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ओडिआई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खलाडी बनेका छन् । रोहितले आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध ५५ रन बनाउँदै एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

रोहितले ओडिआईमा ३३ खेलमा १ हजार रन पूरा गरेका हुन् । रोहितपछि ज्ञानेन्द्र मल्लले ओडिआईमा २७ खेलमा ६ अर्धशतकसहित ७ सय ३४ रन बनाएका छन् । आसिफ शेखले २४ खेलमा ५ अर्धशतकसहित ६ सय ५५ रन बनाएका छन् । आरिफ शेखले ३२ खेलमा ४ मा अर्धशतकसहित ५ सय ८२ रन बनाएका छन् ।टि२० आईमा नेपालबाट एक हजार रन पूरा गर्ने पहिलो खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् । दीपेन्द्रले ४४ टि२० आई खेलमा १ हजार १ सय ३ रन बनाएका छन् । रोहितले माइकल भान लिंगेनलाई २६ औं ओभरको पहिलो बलमा चौका हान्दै एक हजार रन पूरा गरेका थिए ।

रोहितले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा नेपालको लागि ओडिआई डेब्यू गरेका थिए । गत वर्ष रोहित नेपालको उपकप्तान बनेका थिए । भदौमा सन्दीप लामिछानेलाई बलात्कारको आरोप लागेपछि रोहित नेपालको कप्तान बनेका थिए ।जितको लागि २ सय ८६ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा २ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ६१ बलमा ६ चौका र २ छक्कासहित ५५ रनमा अविजित छन् । कप्तान रोहित पौडेल ५५ बलमा ६ चौका र ३ छक्कासहित ६१ रनमा अविजित छन् ।

नेपालले दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो । दोस्रो ओभरको पाँचौं बलमा स्पिनर बेनार्ड शोल्टजले आसिफ शेखलाई शून्यमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरेका थिए ।ज्ञानेन्द्र मल्ल २५ रनमा जान निकोल लोेफ्टी इओटनले एलबीडब्लू आउट गरेका थिए । रोहितले २० औं ओभरको अन्तिम बलमा ब्यक्तिगत २७ रनमा जीवनदान पाएका थिए । नामिबियाका फिल्डरले कभरमा क्याच छोड्न पुगेका थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भएको थियो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेलेका थिए । तेस्रो विकेटका लागि जेरार्ड र लिंगेनले १ सय २४ रनको सानदार शतकीय साझेदारी गरेपछि बलियो योगफलमा पुगेको हो । कुशल मल्लले ३७ औं ओभरको पहिलो बलमा जेरार्डलाई सन्दीपबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेका थिए । करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।