ताजा अपडेट »

भरतपुर अस्पतालको सेवा सुधारिँदै

मंगलबार, ०२ फागुन २०७९, ११ : २४
37 Shares
मंगलबार, ०२ फागुन २०७९
37 Shares

भरतपुर । भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो ।  

एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो ।   अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ  । छ सय शय्याको यो अस्पताल सङ्घीय अस्पताल हो । चितवनसहित छिमेकी २१ जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । अस्पतालमा बीमा सुरु भएयता रु एक अर्बभन्दा बढी रकम अस्पतालले बीमावापत पाइसकेको छ । बीमा सेवा दिनेमा यो देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिँदै आएको बताउनुहुन्छ । अस्पतालले गुणस्तरीय सेवासँगै अतिविशिष्ट सेवा पनि सञ्चालनमा ल्याएपछि बिरामीमा आकर्षण बढेको उहाँको दाबी छ । पछिल्लो समय अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी)को टिकट बिहान ७ः३० बजेदेखि दिउँसो २ बजेसम्म बढाइएको छ । विशेषज्ञ ओपिडी बिहान ९ः३० देखि २ः३० बजेसम्म सञ्चालन हुँदै आएको छ । नेपालका सरकारी अस्पतालमा पहिलोपटक साधारण बहिरङ्ग सेवा (जिओपिडी) सेवा सुरु गरिएको छ । बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म चल्दै आएको छ । 

बिरामीको सहजतालाई ध्यानमा राखेर अस्पतालभित्र सोधपुछ कक्ष र फ्रेण्ड्स अफ भरतपुर अस्पतालसँगको समन्वयमा अस्पताल परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको छ । शल्यक्रिया कक्ष (अपरेसन थिएटर)को सङ्ख्या छ वटाबाट बढाएर सात बनाइएको छ । तीमध्ये दुईवटा अस्पताल विकास समितिको बजेटबाट ‘मोडुलर’ शल्यक्रिया कक्ष बनाइएको हो । यो पनि अस्पताललाई अहिले अपुग छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।